निबन्ध : उखेल्नुपर्ने उखानहरु

~नगेन्द्र शर्मा~

नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला आएको छ । राष्ट्रिय र जातीय एकीकरण प्रत्येक समाजको उद्देश्य हुनुपर्छ । उखान, आहान अनि लोककथाहरुको पनि यही उद्देश्य हुनुपर्छ । उदारता नै प्रकृति होस्, सङ्कीर्णता होइन ।

हालै मेरो एक जना साथीले जाडो दिनमा एउटा घटना सुनाउँदा एक ठाउँमा भने, ‘बिहानपख घाँसपातमा तुसारो परेको…’

मैले आधा ठट्टामा आधा गम्भीरतामा, बीचैमा कुरा काटेर सोधेँ, ‘तुसारो पनि पर्छ र ? जम्छ पो त ।‘

‘हुन त पानी परे झैं आकाशबाट शीत–तुसारो पर्दैन, तर पनि पर्छ भन्ने बानी लागेकोले जम्छ भन्नु अनौठो लाग्छ‘, उनले भने ।

साँझमा मैले घर आएर सोचेँ, उनको कुरो ठीकै हो । बानी भन्ने पनि अनौठो कुरो छ, ‘बैंस जान्छ बानी जाँदैन‘ भन्ने उखानै छ र त्यो ठीकै पनि हो कि ?

उखानको प्रसङ्गमा अरु एक–दुई कुरा भन्न मन लाग्यो । उखानटुक्काहरु जोडेर हाम्रा पितापुर्खाहरुले हाम्रो भाषालाई धनी बनाएका छन्, यो सोच्दा मन रमाउँछ । हामीले असभ्य भन्ने पुर्खाहरु वास्तवमा कति बाठा रहेछन् त ? कुनै–कुनै बेला त आँ भन्दा अलङ्कार बुझाउने एउटै टुक्का–उखानले एउटा किताबभरि नै अर्थको काण्ड पुर्‍याइदिन्छ । युगौंदेखि मानिसले थप्दै–बढाउँदै लगेको ज्ञान–विकास ऐनामा झैं छर्लङ्ग गराउने यो हाम्रो सञ्चित ज्ञानको भण्डारले हाम्रो भाषालाई साँच्चै धनी बनाएको छ ।

तर फेरि बकुल्लाको हूलमा काग बसे झैं यी टुक्का–उखानहरुमध्ये कति यस्ता पनि छन्, जसले आजको समय र समाजलाई नसुहाउँदो चित्त–विकासको परिचय दिन्छन् । यस्ता सामाजिक साँघुरोपनको परिचय दिने उखानहरुमध्ये जातवर्गीय उखानहरु नामी छन् । कुनै एक जात वा सम्प्रदायले अर्को थरीलाई ताकेर,खसालेर, हियाएर भन्नुपरे उखानको सहारा लिने चलन हामीमा छ । एक जना मानिसले कुन जमानामा रिसले हो वा द्वेषले, ठट्टामा हो वा बठ्याइँमा, एउटा उखान कथ्यो होला, त्यसैलाई उसका शाखासन्तान र समाजले पनि ठीक–बेठीक सोच्दै नसोची अन्धाधुन्ध सत्य ठानी उपयोग गर्दै रहन्छन् ।

‘बिना चालले कुकुर भुक्तैन‘ भन्ने उखानको आडमा, बूढापाकाले नसोची ती उखानहरु कथेनन् होला भन्नुहुन्छ भने ‘बूढापाकाले कुरा बिराउँछन्, ढुङ्गामुढाले बाटो बिगार्छन्‘ भन्ने उखान पनि सुन्नुभएकै होला । उनीहरुले एक वा दुई वर्गको स्वार्थरक्षाको निम्ति वा मन बहलाउनको निम्ति अर्को वर्गको खिसी,निन्दा गर्न उखान बनाउँदा ती उखानले समाजमा भेदभाव बढाउलान् वा जातीय एकतामा चोट पुर्‍याउलान् भन्ने तिनले सोचे होलान् र ? कि सोचेरै आँखा चिम्ले कि ?

हुन त ‘मनपर्दो कुरा र ताकपर्दो नियाँ‘ खोजेर पो सधैं कहाँ चल्छ र ? तर पनि हामीले ‘मुख छँदाछँदै नाकले पानी पिउनु हुँदैन ।‘ समझ छ भने त्यसको उपयोग सोच्नको निम्ति गर्नुपर्छ, उखानहरुको आधारमा एकलकाँटे आँखाले संसारलाई हेर्न हुँदैन ।

यस्ता उखानका केही उदाहरणहरु पनि हेरिहालौं । एउटा छ ‘बाहुनक्षत्रीको कोखामा दाँत‘, अर्को ‘नेवार इष्ट हुँदैन, बाबु दुष्ट हुँदैन‘, अझ अर्को ‘कामी ढर्रा‘दमाइँ स्वाङ ।‘ यस्तै अरु पनि छन्, जस्तै– ‘राई र पँधेरा चिसो‘, ‘मगर गिट्ठा भ्याकुर‘, ‘तामाङ भोटे गाई खरानी‘ आदि ।

यी उखानहरुले विभिन्न जात र वर्गको ‘इन्हेरेन्ट‘ चरित्र (गुण–दोष) देखाउन चाहेका होलान्, तर हरेक जातका जम्मै व्यक्तिमा एउटै गुणदोष हुन्छ भन्नु‘भदौमा अन्धो भएको गोरुले सबै हरियैहरियो‘ देखे झैं हुन्छ । ‘काम बिराउने रामे, चोट पाउने चामे‘ भने झैं कुनै एक जातको एक वा दुई व्यक्तिलाई देखेर त्यसका सबै मानिसहरु ‘एकै ड्याङका मूला‘ हुन् भन्नु कहाँसम्म तर्क–सफल कुरा हो ! यो त ‘एकले बिराउने, शाखा पिराउने‘ झैं पो भयो ।

‘काजीको छोरो पानी औ पाजीको छोरो काजी‘ हुन सक्छ; फेरि एउटै सन्तानमा पनि ‘जेठी छोरी नक्कली, कान्छी छोरी डल्ली‘ हुनु केही अचम्मको कुरा होइन ।‘एकै हातका पाँच औंला बराबर हुँदैनन्‘ भन्ने जान्दाजान्दै कुन तर्को आडमा हामीले यी हाम्रा पक्षपातहरुलाई प्रश्रय दिनु ? यी पक्षपाती नेपालीहरुले कुनै वर्गविशेषको नाउँ सुन्ने बित्तिकै त्यसको ठाउँठहरको ठेगाना लगाउन खोजिहाल्छन् । ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले‘ उनीहरुलाई अगिबाटै खाइसक्छ । उता जो मानिस यी उखानहरुको सिकार भएको हुन्छ,उसलाई चाहिँ ‘बिरालाको ठट्टा मुसाको प्राणै‘ झैं भइसक्न बेर नलाग्ला ।

समय र परिस्थिति बमोजिम हामीले हाम्रा धारणाहरु, हाम्रा विचारहरु आदिलाई छानबिन गरेनौं, केलाएनौं र कसिङ्गर फ्याँकेर दृष्टिकोणलाई सुधारेनौं भने हाम्रो मनको विकासमा खिया पर्छ, हामी पनि खिया पर्छौं । ‘वर हेर, पर हेर, बेला हेर‘भन्ने टुक्काले हामीलाई यही कुरा सम्झाउँछ कि भन्ठान्छु ।

अगि माथि जुन जातवर्गीय चरित्र तोक्न खोज्ने उखानहरुको उल्लेख भयो,तिनलाई एकपल्ट फेरि हेरौं । ती उखानहरु सुन्दा मेरो मनमा यस्ता प्रश्न उठ्छन्– दुष्ट हुने दुर्गुण नेवारहरुको मात्र पेवा दुर्गुण हो र ? अरु जातका मानिस चाहिँ सबै साधु ? फेरि, स्वाङ र ढर्राविषेश दुई वटै जातको मात्र विशेषता हो के? तामाङहरु भोटे हुन् भन्नु र ती सबैले गाईको मासु खान्छन् भन्नु कहाँसम्म उचित हो ?

मेरा एक जना नेवार बन्धु छन् । हुन त मभन्दा एक पुस्ता नै बढ्ता उमेरका भएकाले बन्धु भन्न नसुहाउने हुनाले म उनलाई अर्कै सम्मानको नाउँले बोलाउँछु । ‘बन्धु‘ भन्ने सम्बोधन चाहिँ उनको सौहार्द, उदारता तथा औधी असल शील स्वभावलाई एक शब्दमा समेट्ने चेष्टा हो ।

राजनीतिक र सामाजिक संस्थाहरुको विस्तृत कार्यक्षेत्र वैयक्तिक सम्बन्धहरुको फेटमा पनि औधी नजिकबाट तिनलाई हेर्ने सबै मेरा मित्रहरुको भनाइ छ- उनको व्यक्तित्व औधी उदार र आकर्षक छ । ती सबैले मन पराएका व्यक्ति छन् ।

तर, उखानले उनको जातलाई वर्णन गरे अनुसार त उनी कि माखोको बोसो झिक्ने हुनुपर्ने कि त स्याल कराउँदा घ्याम्पाभित्र लुक्ने हुनुपर्ने अथवा ‘दुष्ट‘ त हुनैपर्ने ! यी तीनै वटा गुण उनको चरित्रमा पाइएनन् भने उनलाई त्यो जातका होइनन् भन्ने ? मैले एक जना उखानभक्तलाई सोधेँ ।

‘त्यसो त किन भन्ने र, जुनसुकै नियमको पनि एक्सेप्शन त हुन्छ नै, ती पनि एक्सेप्शन होलान्‘, उखानभक्तले भने ।

यस्ता अनेक प्रतिवाद अन्ध उखानभक्तहरुले पेश गर्छन्, एउटा उखान जोगाउनलाई अर्कै उखानको आड पनि लिन्छन् । आखिरमा आफ्नो पक्ष अलिक कमजोर देखे भने, ‘फलानु मानिसलाई हेरेर ढिस्कानो जातको होला भन्न मुश्किल पर्छ, हो कि ?’ भनेर फुत्कन पनि खोज्छन् ।

यस्ता हियाउने उखानहरु केवल हँस्यौलीका निम्ति उपयोग गरिने भए त यहाँ रौंचिरुवा तर्क गरेर टाउको दुखाउने काम थिएन । हाँस्ने थियौं, बिर्सने थियौं । यस्तै यी उखानटुक्काहरु छन्, ‘गोरु बेपारी ओझा कहिल्यै नहुने सोझा‘ वा‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्‘ वा ‘मगरको सङ्ग्राती कात्तिको पन्द्र दिन जाँदा‘ वा ‘जहाँ केरा त्यहाँ बाहुनको डेरा‘ वा ‘जता मर्‍यो भेडा उता सर्‍यो गुरुङ‘ आदि । यिनलाई सुनेर हाँस्न छाडी रिसाउने त कुरै उठ्तैन किनभने यिनमा त्यो विष, त्यो खिसिगराई, त्यो तीतोपना छैन, जो माथि अगि भनिएका उखानहरुमा थिए ।

तर, जब ‘रातभन्दा सपना लामु‘ भने झैं विषयभन्दा गन्थन लामु हुन लाग्यो र यसलाई अरु बढ्ता लम्याउने काम देख्तिनँ । हामीले चाहिँ सम्झिनुपर्छ कि नसोची उपयोग गरिए भने यी उखानहरुको फल हाम्रो सामाजिक एकताको बाटोमा ‘अरिङ्गालको गोलामा स्यालले ट्याम्को बजाउँदाको‘ झैं हुनेछ । हुन त शिक्षा र सभ्यताको बढ्ता प्रचारले यो मनोविचारको प्रतीक उखानहरुलाई पनि सुहाउँदो संस्कार गर्ला, तर यी ‘ओरालो लागेको घाम र पखाला लागेको बूढो झैं‘पाएका वर्गीय विकारलाई चेतनशील व्यक्तिहरुले एक–दुई धक्का थपे भने ‘कैले मर्लास् बोको, अष्टमीको दिन‘ भन्नुपर्ने थिएन ।

‘बसी बोलूँ त सुन्ने कोही छैन, उठी बोलूँ त बतासले उडाउँछ‘ भन्थ्यो रे एउटाले । मेरो यो निबन्ध पनि त्यस्तै हुने हो कि ! तर, अरुले जे–जसो ठाने पनि मलाई चाहिँ त यस्ता कति उखानहरु ‘झगडे स्वास्नी र काउसोको माला‘ होलान् झैं लाग्छ । त्यसै कारण ‘बोले टर्छ, हाने मर्छ भन्ठानेँ ।‘

(स्रोत : ‘साझा निबन्ध‘ बाट सभार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.