कविता : रक्तरञ्जित फूलहरू

~सुमिना अभिलाषी~

चरम यातनामा
चरम सन्तुष्टिको खोजी गरिरहेका ,
हृदय गुमाएका ए निर्दयी भीडहरू हो !

मान्छेभित्रै मानवता उदाङ्गै पारेका
नङ्ग्न मानसिकताहरू हो !

सत्यलाई बहिस्कार गरी
यथार्थ नकार्न
अतिरेक अन्धोपनको अभिनयमा मस्त
ए पक्षपालकहरू हो !

न्याय र सुरक्षाको प्रत्याभूति स्खलित पारी
अपराध उन्मुक्त गराइरहेका
ढोंगी रक्षक ए सत्ताधारिहरू हो !

व्यर्थ नमनाओ
आफ्नो विजयको उत्सव !
असाहय कोपिलाहरूको रगतमा होली खेलेर
अस्मिताको परित्यक्त गर्दै ,

यातना चित्कार र दर्दहरूमा
निकालेर लासमाथि मुस्कानको जुलुस !

अँह अँह अझै समय आएको छैन
व्यर्थ नगर भो यो बुराइको ताण्डव !

क्षणिक छ यो विकराल अन्धकार !
घामको झुल्कासँगै भोलि बिहान भयो भने ,
उज्यालोको ऐनाले छर्लङ्ग पार्नेछ तिमीहरूको
विभत्स चेहेरा !

नडराउनु, न अतालिनु ,
र नझुक्नु लज्जाबोधले त्यतिबेला
आफू आफ्नै चेहेरासँग !

एकपटक हेरौँ त पाखाभरि त्यो लस्कर
तिमिहरूका क्रुर हातहरूले अङ्ग अङ्ग लुछेर ,
पत्र पत्र च्यातेर ,

निमोठेर , निचोरेर
फालिएका मुर्दा फूलका
रगताम्य डोब डोबहरूबाट

युगले उमारिरहेछ न्यायको खोजी गर्दै
अन्यायको विरुद्धमा
काँडा मिश्रित
लाखौँलाख रक्तरञ्जित रक्तिम फूलहरू !!

– बुटवल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.