अनूदित बालकथा : बूढोले जे गर्छ बेसै गर्छ

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै यो कथा पनि जति परानो हुँदै भयो उति झनझन रमाइलो लाग्दैजान्छ ।

तपाईँ गाउँतिर जानु भएकै होला । अनि खरले छाएका, वरिपरि घाँसले ढाकेका पुराना छाप्रा र गोठ देख्नु भएकै होला । पर्खालमाथि र वरिपरि उम्रेका घाँस र झ्याङहरूमा चराका गुँड नहुने कुरै भएन । छाप्रो र गोठका भित्ता ढल्केका होलान् । झ्यालहरू पनि खस्न लागेका हुनसक्छन् । बांगिएका झ्यालका खापाहरू खोल्न पनि नमिल्लान् । अगेनोको चुलो पनि भत्कन लागेका छन् कि के थाहा ! आगनको बूढो रुखमुन्तिर खाल्टोमा जमेको पानिमा हाँसहरू नुहाउँदै पखेटा टल्काइरहेका होलान् । आगनमा एउटा डाँग्रे कुकुर अल्छी मान्दै चारैतिर फर्कँदै भुकिरहेको हुनसक्छ ।

गाउँमा यस्तै एउटा छाप्रो थियो । छाप्रोमा बूढाबूढीको एउटा जोडी, किसान र उसकी स्वास्नी बस्थे । उनीहरूको सम्पत्ति साह्रै थोरै थियो । उनीहरूलाई नभइनहुने एउटा घोडा थियो । घोडालाई ख्वाउने दानापानी उनीहरूसँग थिएन । चौर र बाटाका छेऊमा उम्रेको घाँस खाएर घोडाले पेट भर्थ्यो । किसान बजार जाँदा त्यही घोडा चढेर जान्थ्यो । कहिले काहीँ उसका छिमेकीहरूले बजार जान, किनमेल गर्न घोडा मागेर लैजान्थे । उनीहरूले किसान परिवारलाई केही मालसामान दिएर र कहिले केही काम गरिदिएर घोडालाई कज्याएको पैँचो तिर्थे ।

केही समयपछि उनीहरूले घोडालाई हाटबजारमा लगेर बेच्ने वा अरू कुनै काम लाग्ने बस्तुसँग साट्ने बिचार गरे । तर घोडाभन्दा धेरै उपयोगी बस्तु के होला र ?

“घोडाभन्दा काम लाग्ने राम्रो बस्तु के हो भन्ने कुरा तिमीलाई नै थाहा छ ।” किसानकी स्वास्नीले किसानलाई भनी । “आजको दिन बडो राम्रो छ । तिमी घोडा चढेर मेलामा जाऊ र यो घोडाको राम्रो मोल पार । नभए यसको सट्टा केही कामलाग्ने कुरा लिएर आऊ । तिमीले जे ल्याउँछौ राम्रै कुरा ल्याउँछौ भन्ने मलाई थाहा छ । जाऊ बजार गइहाल ।”

यति भन्दै उसले एउटा रुमालमा खाजा पोको पारेर बूढाको कम्मरमा बाँधिदिई । उसले बाकसबाट आस्कोट र टोपी झिकेर पुछपाछ गरी । बूढालाई लुगा लाउन सघाई । अनि बूढाका चाउरी परेका गाला मुसारेर म्वाई खाई र बिदा गरी ।

अनि किसान घोडा चढेर सहरतिर लाग्यो ।

घाम निक्कै चर्को थियो । बादलको नाम निसाना थिएन । सहरमा लाग्ने मेलामा जान भनेर धेरै मानिस हिँडिरहेका थिए । कोही घोडा चढेर जाँदै थिए । यसैले बाटोमा धुलो उडिरहको थियो । घाम र धुलोबाट जोगिने कुनै ठाउँ थिएन । मेलामा जान लागेका मानिसहरूमध्ये एक जनाले गाई डोर्याउँदै थियो । गाई निकै राम्री थिई ।

पक्कै पनि यो गाईले दूध दिन्छ होला । किसानले मनमनै भन्यो । गाईसँग घोडा साट्न पाए कस्तो बेस हुनेथियो । उसले गाई डोर्याइरहेको मानिसलाई भन्यो, “ए भाइ मेरो कुरा सुन्नुस् त । मेरा बिचारमा गाईभन्दा घोडाको मोल धेरै पर्छ । तै पनि यदि तिम्रो मंजुरी छ भने मेरो घोडासँग तपाईँको गाई साट्न चाहन्छु । के छ बिचार ?”

“साह्रै राम्रो कुरा गर्नुभयो । लौ, मलाई तपाईँको घोडा दिनुस् र मेरा गाई लैजानुस् ।” गाई धनीले भन्यो ।

यसरी किसानले आफ्नो घोडा दिएर गाई लियो । उसको घोडा बेच्ने वा साट्ने काम त सकियो । बजार जाने उद्देश्य पूरा भयो । तै पनि मेलामा केके हेर्न पाइन्छ भनेर उसले बजार जाने निधो गर्यो ।

अनि त्यो किसान गाई डोर्याउँदै बजारतिर लाग्यो । ऊ बडो फूर्तिसाथ गाई डोर्याउँदै बजारतिर जाँदै थियो । एक छिनपछि उसको भेट भेँडा डोर्याउने मानिसँग भयो । त्यो मानिसले निक्कै मोटोघाटो भेँडा डोर्याइरहेको थियो । भेँडाको भुत्ला निक्कै बाक्लो, नरम र निख्खुर सेतो थियो । उसलाई त्यो भेँडा निक्कै मनपर्यो ।

“यो गाईसँग त्यो भेँडा साट्न पाए कति बेस हुन्थ्यो ।” किसानले मनमनै भन्यो । “घरको वरिपरि बारमा पनि भेँडालाई पुग्नेजति घाँस छँदैछ । जाडो महिनामा ऊ हामीसँगै सुत्नसक्छ । हामीलाई पनि न्यानो हुन्छ । गाईभन्दा त भेँडा नै बेस हुन्छ होला ।”

किसानले गाई दिएर भेँडा साट्ने बिचार गर्यो र भेँडा ल्याउने मानिसलाई आफ्नो कुरा सुनायो । भेँडाको मालिक पनि तुरुन्तै राजी भयो । त्यसपछि बूढा किसान भेँडा डोर्याउँदै बजारतिर लाग्यो ।

धेरै पर नपुग्दै उसको भेट अर्को मानिससँग भयो । त्यो मानिसले काखी मुन्तिर एउटा मोटो हाँस बोकेको थियो ।

आहा ! कस्तो राम्रो हाँस । कति मोटो ! कति गह्रुँगो हाँस ! यसको जिउमा निक्कै धेरै बोसो र भुत्ला होला । यसको खुट्टामा रातो टालो बाँधेर पानीमा पौडी खेल्दा कस्तो राम्रो देखिन्छ होला । यो हाँस मेरी बूढीलाई निक्कै काम लाग्नेछ । हाँस पालेर उनले धेरै पैसा कमाउन सक्छे । हामीसँग एउटा हाँस भएको भए कस्तो हुन्थ्यो भनेर ऊ सँधै भन्ने गर्छे । उसको इच्छा पुर्याउने बेला यही हो । त्यो मानिसले मान्यो भने त यो भेँडा दिएर हाँस साट्न हुन्थ्यो ।

यस्तो बिचार गर्दै उसले हाँस ल्याउने मानिससँग आफ्नो मनको कुरा भन्यो । त्यो मानिस उसको हाँससँग भेँडा साट्न तुरुन्तै राजी भयो । यसरी बूढो किसान हाँसको मालिक बन्यो ।

यति बेरमा त्यो किसान हाटबजारको निजक पुग्यो । बाटोमा मेला हेर्न आउने मनिसहरूको भीड पनि निक्कै बढिसकेको थियो ।

मानिसमात्रै होइन गाईबस्तुहरू पनि धेरै नै थिए । बाटोमा नअटाएर तिनीहरू आलुबारीमाथि हिँडिरहेका थिए । यही भीडमा मेलाको कर बटुल्ने मानिसको घरको बारीमा एउटा कुखुरा छाती फर्काएर चरिरहेको थियो । भीडबाट तर्सेर नहराओस् वा नभागोस् भनेर त्यसको खुट्टामा डोरीले बाँधिएको थियो । कुखुराको पुच्छर छोटो थियो । त्यो कखुराको अनौठो बानी के थियो भने उसले बेलाबेलामा कसैलाई इसारा गरे जस्तै गरी दुबै आँखा एकै चोटी झिम्काउँथ्यो । क्वाक क्वाक गरेर कराउँदा ऊ निक्कै अकर्षक देखिन्थ्यो । कुखुराको दिमागमा के थियो भन्ने कुरा म भन्न सक्तिन । तर बूढो किसानले उसको मनको कुरा थाहा पाएजस्तो थियो । “मैले जीवनमा देखेका कुखुराहरूमध्ये यो सबैभन्दा राम्रो कुखुरा हुनुपर्छ । हाम्रो गाउँमा कसैसँग यस्तो कुखुरा छैन । मैले यो कुखुरासँग हाँस साट्नु पर्छ । कुखुरालाई पाल्न पनि सजिलो हुन्छ । त्यसले मलखातका किरा वा बाटोमा खसेको अन्न खोजेर खान्छ ।” किसानले मनमनै भन्यो ।

उसले कर उठाउने मानिससँग हाँस लिएर कुखुरा दिन्छौ कि भनेर सोध्यो ।

“हाँससँग कुखुरा साटने ! निक्कै राम्रो कुरा हो यो त !” उसले भन्यो । यसरी किसानले हाँस दिएर कुखरा लियो । साँच्चै, दिनभरिमा उसले धेरै जनासँग कारोबार गर्यो । अब ऊ थकाइ र भोकले लखतरान् पर्यो । भोक मेट्न र अलिकति रक्सी खान ऊ एउटा भट्टीभित्र पस्नै लागेको थियो । ढोकैमा भट्टीवालसँग उसको जम्का भेट भयो । भट्टीवालले एउटा बोरा बोकेको थियो ।

“बोरामा के छ ?” किसानले सोध्यो ।

“सुकेका स्याउ ।” भट्टीवालले जवाफ दियो ।

“के गर्न लाग्यौ यो स्याऊको ?” किसानले फेरि सोध्यो ।

“सुँगुरलाई ख्वाउन ल्याएको । ” उसले जवाफ दियो ।

“यत्रो स्याउ सुँगुरलाई ख्वाएर किन खेर फल्छौ ? मलाई दियौ भने मैले मेरी बूढीलाई लगिदिन्छु । पोहोर हाम्रो बारीको स्याउको बोटमा एउटा मात्रै स्याउ फल्यो । हामीले त्यो स्याउ सुकेर नकुहेसम्म टाँडमा जतन गरेर राखेका थियौँ । त्यो स्याउलाई मेरी बूढीले यो त हाम्रो ठूलो सम्पत्ति हो भन्थी । तिमीसँग त एक बोरा स्याउ छ । कति धेरै सम्पत्ति ! म मेरी बूढीलाई यो सबै सम्पत्ति देखाउन चाहन्छु । के तिमी मलाई त्यो स्याउ दिन्छौ ?” किसानले सोध्यो ।

“यो स्याउको बदलामा मलाई के दिन्छौ नि ?” भट्टीवालले सोध्यो ।

“मसँग यो कुखुरा छ यही दिन्छु ।” किसानले जवाफ दियो ।

अनि उसले आँखा झिम्याउने कुखुरा दियो र एक बोरा सुकेको स्याउ लियो । स्याउको बोरा बोकेर ऊ भट्टीभित्र पस्यो । उसले जतनसँग बोरालाई अगेनोको छेउमा बिसायो र अर्नी खान टेबुलछेउमा गयो ।

अगेनो तातेको थियो । उसले यो कुरा हेक्का गरेको थिएन । त्यहाँ धेरै ग्राहकहरू थिए । घोडा व्यापारी, गाई डोर्याउने अनि दुई जना धनी व्यापारी पनि थिए । उनीहरूको गोजी नोटको बिटाले टन्न भरिएको थियो ।

“छ्या, त्यो के चिज हो अगेनोको छेउमा?” तीमध्ये एक जनाले सोध्यो । अगेनोको छेउमा राखेको स्याउ तातोले गर्दा पाक्न लागेको थियो ।

बुढो किसानले त्यो स्याउ उसको हातमा कसरी पर्यो भन्ने कुरा उनीहरूलाई भन्यो । उसले घोडासँग गाई, गाईसँग भेँडा, भेँडासँग हाँस, हाँससँग कुखुरा, अनि कुखुरासँग सुकेको स्याउ साटेको कुरा बेलिबिस्तार लाएर सुनायो ।

“घर पुगेपछि तिम्री बूढीले तिम्रो राम्रोसँग स्वागत गर्ने भई । बरु जिउ बलियो गरेर हिम्मत गरेर जाऊ ।” एक जना व्यापारीले भन्यो ।

“हो पक्कै पनि मेरी बूढीले मेरो स्वागत गर्नेछिन् । स्वागत मात्रै होइन मलाई माया गरेर म्वाइ खानेछिन् । मैले जे गर्छु बेसै गर्छु भन्ने कुरामा ऊ ढुक्क छे ।” किसानले निर्धक्कसँग भन्यो ।

“त्यसो भए लौ यो कुरामा बाजी थापौँ ।” व्यापारीले भन्यो, “तिमीसँग खुशी भएर तिम्री बूढीले तिमीलाई म्वाई गरी भने मसँग भएका सबै पैसा म तिमीलाई दिन्छु । बाजी राखौँ ।”

“सबै पैसा चाहिन्न । माथिल्लो गोजीमा भएका सबै नोट दिए पुग्छ ।” किसानले भन्यो, “मेरी बूढीले मेरो कुराको विरोध गरी भने मसँग भएका सबै स्याउ तिमीलाई दिन्छु । लौ मंजुर छ ?”

“मंजुर छ ।” किसान र व्यापारीले हात मिलाएर बाजी मंजुर थापे ।

यो सबै कुरा भट्टीवालको अगाडि भइरहेको थियो । उसलाई यो कुरा अपत्यारिलो र रमाइलो पनि लागिरहेको थियो । बाजी थापेपछि उसले आफ्नो घोडाले तान्ने बग्गी बोलायो । किसान र दुई जना व्यापारीसमेत बग्गीमा बसेर उनीहरू किसानको गाउँतिर लागे ।

छाप्रोमा पुगेर किसानले बाहिरबाटै आफ्नी स्वास्नीलाई डाक्यो । स्वास्नी हस्याङफस्याङ गर्दै बाहिर आई । किसानेले बाहिरबाटै भन्यो, “मैले त घोडा साटेँ नि बूढी ।”

“एकदम बेस गर्यौ ।” भन्दै किसानकी पत्नीले किसानलाई अँगालोमा बेरी र छाप्रोतिर डोर्याई । उसले बग्गीमा आएका अरू मानिसहरूलाई देख्दै देखिन । न त सुकेका स्याउको बोरा नै देखी ।

बूढा किसानले स्वास्नीलाई दिनभरिको घटना सुनाउन थाल्यो, “मैले घोडासँग गाई साटेँ ।”

“कस्तो राम्रो काम गरेछौ । अब हामीले चाहेजति दूध र ध्यु खान पाउने भयौँ । कस्तो खुशीको कुरा !” बूढीले दंग पर्दै भनी ।

“तर मैले गाईसँग भेँडा साटेँ नि !” बूढाले भन्यो ।

“त्यो त झनै बेस भयो । तिमीले जे काम गरे पनि सँधै विचार पुर्याएर गछौँ ।” बूढीले खुशी हुँदै भनी । “हाम्रो बारीमा भेँडा चर्नलाई घाँस पुगिहाल्छ । भेँडीले दूध र ध्यु मात्रै होइन न्यानो ऊन पनि दिन्छ । गाईले यी सबै कुरा कहाँ दिनसक्छ र ! गाईको त रौँ पनि काम लाग्दैन । बुद्धिमा तिमीलाई कसले भेट्टाउँछ र !”

“तर मैले त भेँडासँग हाँस साटेँ नि ।” बूढीको कुरा काट्दै बूढाले बीचैमा भन्यो ।

“त्यसो भए असौँ हामीले हाँसको सेकुवा खान पाउने भयौँ , है न त? मलाई कस्तो माया गर्छौ तिमी ! मलाई खुशी पार्न तिमीले कस्तो कस्तो काम गछौँ ! हाँसको खुट्टामा डोरी बाँधेर छाडि दिउँला । अनि वरिपरिका किरा खाएर त्यो मोटाउने छ । त्यसको सेकुवा बनाउनुभन्दा पहिले त्यसलाई खुबै मोटोघाटो बनाउनु पर्छ ।”

मोटो हाँसको सेकुवा खाने स्वस्नीको रहरलाई बिचैमा तुहाउँदै बूढाले भन्यो, “हैन ए बूढी मैले त त्यो हाँस दिएर कुखुरा पो किनेँ ।”

उसको कुरा टुँगिन नपाउँदै बूढीले भनी, “कुखुरा किनेँ रे ! त्यो त झनै बेस भयो नि । अब कुखुराले फुल पर्छे । फुल कोरलेपछि हामीसँग धेरै चल्लाहरू हुने छन् । हामीसँग धेरै कुखुरा हुनेछ । अनि त म दिनभरि कुखुराको स्याहार गर्दै फुल बटुल्दै बस्न पाउनेछु । मैले खोजेको यही त हो नि । तिमीले बडो बेस गरेछौ बूढा । मलाई कसरी खुशी पार्ने भन्ने कुरा तिमीलाई जति अरू कसलाई हाथा होला र !”

“तिम्रो कुरा त ठिक हो । तर मैले त कुखुरा दिएर एक बोरा सुकेका स्याऊ पो ल्याएको छु त ।” हत्तपत्त बूढाले भन्यो ।

बूढाको कुरा सुनेर बूढी खुशीले फनक्क घुमेर दंग पर्दै भनी, “सुकेको स्याउ रे ! मेरो मनको कुरा तिमीले कसरी थाहा पायौ ? यसको लागि त मैले तिमीलाई मुटुदेखि धन्यवाद दिनैपर्छ ।” यति भन्दै बूढीले दिउँसो छिमेकीसँग भएको घटना सुनाई ।

“थाहा छ आज के भयो ? तिमी घरबाट निस्कने बित्तिकै मैले तिमी फर्केपछि साँझ तिमीलाई के ख्वाउने होला भनेर सोच्न थालेँ । मैले टारेको फुल, बंगुरको भुटुवा र गहुँको रोटी पकाउने बिचार गरेँ । घरमा फुल र मासु त छ तर पिठो सकिएको छ । यसैले पिठौ पैँचो माग्न म छिमेकको मास्र्टर्नीकहाँ गएँ । मास्टर्नी त साह्रै छुच्ची रैछे । कुरा त हाँसीहाँसी गर्छे । तर उसको मन कालो रैछ । मैले ऊसँग एक बटुको पिठो पैँचो मागेको त उसले नाना भाँती कुरा गरी । उसले भनी, ‘तिमीलाई पैँचो दिएर के गर्ने कसरी फर्काउँछ्यौ । तिम्रो बारीमा अरू त के कुरा सुकेको स्याउ पनि फल्दैन । म त तिमीलाई सुकेको स्याउ पनि पैँचो दिनसक्तिन ।’ बुझ्यौ बूढा उसले मलाई एउटा सुकेको स्याउ पनि दिन्न भनी, तर अब म त्यो आइमाईलाई दस वटा सुकेको स्याउ दिनसक्छु । चाहेँ भने सिंगै एक बोरा स्याउ पनि दिनसक्छु । तिमीले सुकेका स्याउ ल्याएको देखेर यति खुशी लागेको छ कि के भनुँ !” यति भन्दै बूढीले बूढालाई गम्लंग अँगालोमा बाँधी र धेरै बेरसम्म म्वाई गरी ।

यो सबै हेरी रहेका ती व्यापारीहरूले भने, “बडो राम्रो । जस्तो सुकै दुःख कष्ट सहनु परे पनि हानी नोक्सानी व्यहोर्नु परे पनि हाँसीहाँसी सहने कस्तो रमाइलो जोडी ! तिमीहरूलाई देखेर हामी धन्य भयौँ । बाजी हारे पनि हामी खुशी छौँ । हामीले आफूले गुमाएको पैसाभन्दा धेरै आनन्द र शिक्षा पायौँ । तिमीहरूलाई धन्यावाद छ ।”

यति भन्दै बाजी थाप्ने व्यापारीले आफ्नो माथिल्लो गोजीमा भएभरका नोट बूढा किसानलाई दियो । विदा भयो ।

लोग्नेले जे गर्छ बेसै गर्छ भन्ने बूढीको विचार फेरि पनि सही सिद्ध भयो ।

यो कथा मैले सानैमा सुनेको थिएँ । अब यो तिमीहरूले पनि पढ्यौ । “बूढो मानिसले जे गर्छ बेसै गर्छ” भन्ने कुरा अब त बुझ्यौ होला ।

(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)

This entry was posted in अनूदित कथा, बाल कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.