~रुपिन्द्र प्रभावी ‘कटु’~
हृदयभरि उज्यालो आराधना बोकेर
आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा
उद्वेलित झ्याउँकिरीहरु
मरुभूमिको उँट बास्छन्–
सपनामा पानी पिएको लैबरी गीत ।
आँखाभरिको सपना खोस्ने तागत
सायदकुनै तानाशाहसँग हुँदैन
हृदयभरिको गीत लुट्ने दुस्साहस
सायद कुनै बादशाहसँग हुँदैन ।
गाउँछन् झ्याउँकिरीहरु गाउँछन्
अभाव र तनावका गीतहरु गाउँछन्
प्रवल श्रवणशक्तिका महानतम् बहिराहरुलाई सुनाउँछन् ।
उनीहरुलाई थाहा छ,
सपनाको कुनै इतिहास लेखिँदैन
इतिहास उनीहरुको सपना पनि होइन
तैपनि सपना देख्न छाड्दैन
प्यासी जिन्दगीबाट मुक्ति पाएको
अभाव र तनावको माखेसाङ्लो चुँडालिएको
र त गाउँछन् नि
‘उठ भोका नाङ्गा हो निद्रा त्यागेर
बस्ती बसाऔं सामन्तको किल्ला ढालेर ।’
– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा