कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~

सबै यसै भन्छन्
छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो
त्यसो हो भने
हावालाई रोक्न सम्भव छ ?

यसै भन्थिन् आमा
मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई
म हुर्किंदै गएँ
सँगै आमाको सपना पनि ।

मेरो दुःख
पटपटी फुटेको बाँझो खेतलाई थाहा छ
दुःख अरूलाई बाँड्न सकिन्न
रेडियो नेपालमा नारायणगोपालको गीत सुन्दै
धेरैपल्ट आमाको सपना सम्झिएँ ।


हराउन चाहन्छु विचारको जंगलमा
जसरी
उज्यालो हुँदा कराउने गर्छन् भालेका बथानहरू
र, हामी नौलो बिहानीको प्रतीक्षामा हुन्छौँ ।


आगोजस्तै बल्न चाहन्छु
जल्न चाहन्छु आफैँसँग
मलाई तिमीले दिएको मृत्यु स्वीकार छैन ।

यो देशमा छोरी भएर जन्मनु
संसारको सबैभन्दा ठूलो अपराध हो ?
देश
म तिमीसँग बोल्दैछु
छोरा भएर जन्मँदा कति हिसाब चुक्ता गर्नुपर्छ
म, जुवेदा खातुन तिम्रो ऋण तिर्न तयार छु ।

(स्रोत : नेपाल साप्ताहिक ४५७)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.