कविता : अहिल्यै के को वार्ता

~बबुल लामा~

डाँडा काँडाहरु नांगा भइसकेकै छैनन्
न त पहिरोले गाँउ बस्तिहरु पुरै बगाएकै छ
उल्लु, किन कराउँछस् डाँको छोडेर
ज्ांगल अझै सकिएकै छैन, अहिल्यै के को बृक्षारोपण ।।

भर्खर त आगो बलेको छ,
दन्दनी दन्केकै छैन, पाली र ग्वालीहरु मात्र बलेको छ,
उल्लु, किन रुन्छस् भक्कानो फोरेर
घर खरानी हुन बाँकी नै छ, अहिल्यै के को दमकल ।।

बल्ल त साँचो हातमा आएको छ
भण्डार त अझै पुरा खोल्न भ्याएकै छैन
हे बुद्धु, किन आत्तिन्छस् यसरी
ढुकुटी अझै रित्तिएकै छैन, अहिल्यै के को हतार ।।

भर्खर त पाँच हजार नाथे मान्छे मारिएको छ
बैध रुपमा प्रजाको तन्त्र खत्तम भएकै छैन
हे नालायक, किन बहुलाउँछस् वार्ता वार्ता भनेर
मान्छे मार्न अझै भुसुक्कै बाँकी छ, अहिले के को वार्ता ।।

भर्खर त चाँजो पाँजो मिल्दै छ
धन, खुँडा खुकुरी र विकासे लठैतहरु त आइपुगेकै छैनन्
हे हरामखोर, किन मर्नै खोज्छस् यसरी
तेरो देश अझै पराधिन भएकै छैन, अहिल्यै के को शान्ति, अहिल्यै के को वार्ता ।।

जुलाई २९, २००२

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.