~हरिकृष्ण डंगोल~
उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा छ । अझ भन्नु पर्दा उ बिरामी छ, घुमफिर गरिरहन सक्दैन । उसको यो नश्वर शरीर कत्तिखेर धुवाँ भएर उडेर जाने हो निश्चित छैन । तर इन्टरनेट चालु रहेको बेला ओछ्यानमै बसेर भएर पनि कहिलेकाहीं फिल्म हेर्छ । म यसको साक्षी हुँ । छु । सायद सास रहुञ्जेल म पनि उसको साथै रहनेछु, साक्षी रहिरहनेछु ।
ऊ जन्मेदेखि नै म साक्षी भएकोले मलाई उसका यी अन्तिम दिनहरुमा एउटा छोटो, उसंग सम्बन्धित केही कुरालाई लिएर उसंग अन्तरर्वार्ता लिन मन लाग्यो । म उसको नजीक पुगें र सोध्न थालें ।
तपाईले जीवनमा धेरै फिल्म हेर्नु भो’ भन्थे ।
हो हेरें ।
साहित्यिक किताबहरु पनि धेरै पढ्नु भो’ भन्थे ।
हो पढें ।
फिल्म हेरेर तपाईमा के कस्तो असर प¥यो ?
खै के कस्तो असर प¥यो भनुँ … ?
केही न केही त असर प¥यो होला नि ? फिल्म हेरेर रुनुँ भयो होला । हाँस्नु भयो होला । अवाक टोलाएर बस्नु भयो होला । … ।
अँ, त्यो सबै ग¥या छु । फिल्म हेरेर हाँस्या कम नै छ । बढी रोएँ हुंला । अवाक टोलाएर बसें हुँला ।
कुन फिल्म हेरेर तपाई बढी हाँस्नु भयो ? रुनु भयो ? अवाक बन्नु भयो ?
अहिले फिल्मको नामको सम्झना त छैन तर प्रायशः जीवनसंग सम्बन्धित फिल्महरु हेरे म बढी रोएको छु, अवाक बनेको छु ।
तर अचेल फिल्म हेरेर तपाई हाँस्न र रुनु हुन्न भन्छन् नि मान्छेहरु !
हो अचेल म हाँस्दिनँ, रुँदिन पनि ।
किन ?
किन कि अब म जर्जर मरुभूमि बनिसकेको छु ।
के गर्नु हुन्छ त अचेल ?
अचेल म केवल अवाक टोलाउँछु । अवाक टोलाएर बस्छु ।
किन नि ?
किन कि अवाक टोलाउने शक्ति अझै ममा छ । जर्जर मरभूमिको कष्टप्रद जीवन बाँच्ने शक्ति अझै ममा छ ।
अन्तरर्वार्ता करिब करिब सकिन लागिसकेको थियो, मैले अन्तिम प्रश्न तेस्र्याएँ ।
तपाईलाई अन्त्यमा केही भन्नु छ ?
म शब्दमा उद्घाटित् नभएको उपन्यास हुँ, नबनाइएको फिल्म हुँ । यसैले म जर्जर बुढोको कालजयी एउटा उपन्यास र एउटा फिल्म बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । … !
०००००००
२०७३ साल मंसिर २२ गते, सोमवार
युवामञ्चमा प्रकाशित (२०७३ साल पुसको अंकमा, वर्ष २९ अङ्क ७)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)