~सुभाष सोताङ~
सरकार! तिम्रो नरभक्षी शासनको
कविता त लेख्छु-लेख्छु मँ
सरकार! तिम्रो जंगलराजको
कथा त लेख्छु-लेख्छु मँ
तर यसबेला कवी मात्र होइन मलाई,
मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ
तर यसबेला लेखक मात्र होइन मलाई,
युद्धवाहक एउटा चेतक पनि हुनुपरेको छ
सरकार! तिम्रो अपराधी अनुहारको
चित्र त कोर्छु-कोर्छु मँ
सरकार! तिम्रो हत्यारा हैकमवादको
गीत त गाउँछु-गाउँछु मँ
तर यसबेला कलम मात्र होइन मँ
घाइते युगको मलम पनि हुनुपरेको छ
संगीनहरूको ब्यारिकेट तोड्दै अधि बढ्ने
झुक्दै-नझुक्ने शिर पनि हुनुपरेको छ।
बोली माग्दा गोली लाउने सरकार विरुद्ध
भूगर्भ भएर पड्किनु परेको छ
सलाम गर्दा-गर्दा थाकेका हातहरूले
अब फलाम समात्न कर लागेको छ।
अस्तित्वका निलडामहरू धेरै-धेरै सह्यौं
शान्तिको मन्त्रसित अनेकपल्ट
सहनशीलताको बाँध तिमीले नै तोड्यौं
अब अधैर्य भूकम्प भएर उठ्नुपरेको छ।
सरकार! आफ्नो आवाज माग्दा हामीले
तिमी हाम्रो जिब्रो काट्नु खोज्छौं?
आफ्नै आमालाई आमा भन्दा हामीले
तिमी हाम्रो जीवन लुट्न खोज्छौं?
सरकार! गोली-बारुद दागेर
तिमी हाम्रो निधार छेड्ने खोज्छौं?
शहीद दुर्गा मल्लको सन्तानमाथि
तिमी विदेशीको कलंक थोप्न खोज्छौं?
भयो-भयो अति भयो
अब नतमस्तक शिर उठ्नुछ
भयो-भयो अति भयो
अब सुतेको बीर जाग्नुछ।
(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)