~तिर्थराज जोशी~
कहिल्यै बुजुर्गहरुको अगाडि निहुँरिए
आशिष दिन्छन्
बाबु ज्ञानी मान्छे बन्नु।
ज्ञानी मान्छे…….
को ज्ञानी छैनन्?
अँझ उपयुक्त भनौँ?
को छन् अज्ञानी?
वास्तवमा संसारमा
अज्ञानता भन्ने शब्द नै नहुनुपर्ने।
किनकी यो नहुनुपर्ने शब्द
कतै छँदा पनि छैन।
बोक्सिको आरोपमा कसैलाई
जिउँदै जलाइन्छ।
अज्ञानताले?
हैन
छ कुनै ज्ञान यसपछाडी पनि
जसलाई हामी अज्ञानता मान्दछौँ।
र यी
अज्ञानी मानिनेहरु पनि
अज्ञानता मानिने ज्ञानका ज्ञानी छन्।
सब सहि छन्..
सब।
वा भनौँ
कोहि गलत छैनन्।
ती बोक्सि नमान्नेहरु पनि।
ती बोक्सी मान्नेहरु पनि।।
ती बोक्सी मार्नेहरु पनि।।।
नीति, धर्म र कर्तव्य
शास्त्र,साहित्य आदि इत्यादिका
भिजा पाएर
बेफ्वाँक खोपडीमा पसेको छ ज्ञान।
मस्तिष्कको उच्च सिंहासनमा
मान्छेको मालिक भै
आदेश दिँदै बसेको छ ज्ञान।।
ज्ञान सत्य पनि हैन
महाभारतको जुवामा
आफैलाई हारी
दास भैसकेका ती धर्मराजलाई पनि
दासत्वको ज्ञानले
आफ्ना मालिकहरुको आज्ञानुसार
एक महिलालाई नग्न हुन दिने
आदेश दियो।
त्यो ज्ञान के सत्य थियो?
बस्….ज्ञानी ज्ञानको पनि दास भै बस्छ।
ज्ञानी ज्ञानले पनि कति वेवश छ।।
म यति पनि ज्ञानी छैन कि
ज्ञान के हो भन्न सकुँ।
तर ज्ञान यो हैन भन्ने मैले
कुनै ज्ञानको दास नभइ
भन्दछु
ज्ञान कहिल्यै त्यो हुँदैन
जो पहिले देखि पढिँदैआइएको छ।
जसलाई ज्ञान भनिँदै आइएको छ।।
ज्ञान…
एकपलको सिर्जना हो
जो ठिक त्यसैबखत
विना कुनै इतिहास
वा शास्त्र
वा धर्मका आडले
ठिक वा गलत बताउँछ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )