~दयाकृष्ण राई~
म आमाको गर्भबाट
यस धर्तीमा पदार्पण गर्न बित्तिकै
प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ
जन्मनु बित्तिकै को हाँसेको छ हँ ?
रुनु नै त जिन्दगी रहेछ ।
आमा तिमीले बुबु खाउ बुबु भन्दै
मेरो रुन्चे मुखमा स्तन कोचारि दियौं
म बुबु टन्न खाएर ठसमस निदाएँ
मैले आकाश र धर्तीको सपना देखें
सुम्नीमा र पारुहाङ्गको सपना देखें
सपनामा सुम्नीमा र पारुहाङ्ग आएर
मलाई बोलाउछन
बालक यसरि मस्त सुत्नु तिम्रो कर्तब्य होइन
तिमीले रुनु पर्छ÷रुनुनै संघर्ष हो !
म सपनाबाट तर्सिएर ब्युँझन्छु
दुई हातले आकाशलाई चिथोरेर च्यात्न खोज्छु
दुई खुट्टाले लत्ताएर आकाशलाई खसाल्न खोज्छु
आमा तिमीले कोक्रोमा मलाई हल्लाएर
हाई बाबा हाईको गीतले लठ्ठ पारेर फेरि सुतायौ
यसरी म हाई बाबा हाईको गीतले
लठ्ठ परेर कति दिन सुति रहनु हँ ?
फेरि चलमलाउछु, रुन्छु
बामे सर्न खोज्छु,
जव म ताते गर्न खोज्छु
दुई कदम पर गएर मलाई हात दियौं
ताते बाबा ताते भनेर प्रेरणाको बोली बोल्यौ
तिम्रो प्रेरणाले टेकी रहेको दुइहात
धर्तीबाट उठाएर ताते गर्न खोज्छु
पिपलको पात जस्तै हल्लिरहेको धर्तीलाई टेक्न नसकेर
जताततै आँगनमा छरिएका पेरवा र कुखुराको
बिष्टा माथी हात बिसाउछु
आमा तिमीले आची–आची भन्दा–भन्दै पनि
त्यसलाई नै मीठो मानेर चाटछु
अमृत जस्तै लाग्छ मलाई
तर आमा तिमीले मलाई ताते ताते भनि रहयौं
अबिच्छिन्न रुपमा ताते गर्दागर्दै
पिपलको पात जस्तै हल्लिने धर्तीले
अचल र अटल हुन कर लाग्यो
म निर्धक्क आँगनका बिष्टाहरुलाई टेक्दै हिडने भएँ
मैले हिडनका लागि बाटो चिन्नु थियो
तिमीले हात दिएर टुकु–टुकु डो¥यायौ
आँगन देखि गल्ली–गल्ली सम्म चिनायौ
अहिले म तिम्रो प्रेरणाले
जिन्दगीका संकट र पीर ब्याथाहरु
कुल्ची–कुल्ची हिँडिरहेछु
हिडनु मेरो सपना थियो साकार भयो !
कुल्चनु मेरो सपना थियो साकार भयो !!
अहिले म सुनको खाटमा सुतेर
नोटकै सिरक, नोटकै सिरानी लगाएर सुत्ने
मेरो सपना चाहि साकार भएन
आमा मलाई त तिम्रो थोत्रो गुन्युको थाङ्गना भित्र
गुटमुटिएर देखेको सपना मात्रै साकार भए जस्तो लाग्छ ।
बेलायत वेल्स कार्डिफ