~राजबाबु श्रेष्ठ ‘सागर’~
म सोंचिरहेछु
पुर्पुरोमा हात राखेर
आगो निदाएको दिन के हुन्थ्यो होला ?
शायद,
उदधि क्षितिजमा उदय हुन्थ्यो होला
अनि नदीमा आगो छलाङ्ग मार्दै
कहिले कर्णाली त कहिले कोसीको बगर-बगर
हप्दा उठाउँदै हिन्थ्यो होला
हप्ता न दिए हनुमानले लंका जलाए झैं
ऐँठन परिरहेका भोका सपनाहरूको धुरीमा
आगो लगाउँदै हिड्थ्यो होला ।
हुन त आगो र नीर
एकर्काको कट्टर दुश्मन हुन्
तर मलाई लाग्दैन
यिनीहरू एकर्काको दुश्मन हुन्
यिनीहरू त नङ र मासुको जस्तै सम्बन्ध राखिरहेछन्
अझ भनुम् बोक्सी र धामी
एउटा मार्छन् त अर्को बचाए झैँ अभिनय गरिरहेछन्
आखिरी दुबै मिली यिनीहरू
आ-आफ्नो स्वार्थको व्यापार गरिरहेछन् ।
मलाई लाग्दैन
यिनीहरू एकर्काको कट्टर दुश्मन हुन्
आगो र नीरको नाउँमा यिनीहरू
वैधानिक प्रमाण पत्र पाएका ‘क’ वर्गका
एक कुशल निर्मोही ठेकेदार हुन् ।
कहिले मुगलान झरिरहेछ नाराहरू बोकेर
त कहिले उक्लिरहेछ भोट थारो बोकेर
नारैनारा बाडिरहेछ देशभरी यत्रत्यत्र सवत्र
मन हुनेहरू भोका र नाङ्गोहरूलाई
जाडोको कोमल कम्बल बाँडिरहेछन्
तर यिनीहरू भोकहरूसङ्ग
सपनाहरू उधारो लिएर केवल टुँडिखेलमा
समृद्धिको टुखल बाँडिरहेछ ।
पल्लो घरको
लाटो दमैले पुरानो लुगा सिलाउन छाडेर
टुँडिखेलको सपनाहरू सिलाई रहेछ
ऊ डाँडा माथिको हर्के बाजे
समृद्धिको पारिलो घाम ताप्ने भनेर
आफ्नो गरिबीले कुँजिएको
चिसो ढाड चिलाई रहेछ, अझै चिलाई रहेछ ।
एक ताका
क्रान्तिको न्यानो सपनाहरूको लोभमा
आफ्ना च्यातिएका पुराना गरिबीका बर्कोहरू
च्यातेर फाले ।
आज उनीहरू बुझिरहेछ
न्यानो कुल्चिएर चिसो सपना बाँड्नेहरू पापी रहेछन्
कर्णालीको तीरहरूमा अभावको गिट्टी फोड्नेहरू
आज आफ्नै ललाटबाट बगिरहेका
मेहनतका अमिलो पसिना आफ्नै गरिबी अञ्जुलीमा
पँधेरोमा पानी भरे झैं थापी रहेछन्
नाङ्गो आङ्हुनेहरू अझै पनि शिवरात्रीमा
मूढा तापे झैं निभेको घुर पनि बले झैं मानी
तापी रहेछन् अझै तापी रहेछन् ।
म सोंचिरहेछु
आफ्नै पुर्पुरोमा हात राखेर
आगो र उदधि त एकै पो रहेछन्
मेरा आफ्ना च्यातिएका गरिबीका पुरानो बर्कोहरू
किन च्यातेर फालेछु ।
(स्रोत : क्षेप्यास्त्र साप्ताहिक)