कविता : लालबुक जीवन

~गणेश राई~

रातो रगतको आवरणभित्र
सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर
ठड्याइएको छ अक्षरहरुको पर्खाल
प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता
कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो
सिपाही जिन्दगीको हुकुमी कारागारभित्र
परिबन्दको कैदी हूँ म भूतपूर्व वारण्ट अफिसर गणेश राई

बदलिएको छ मेरो चिनारि एकाएक
थपिएको छ विशेषण पेन्सने बूढो
जो महिना मर्न बित्तिकै पेन्सन अफिस पुग्छ
र नोटको ऐनामा आफूलाई केहीबेर जवान देख्छ

त्रिपक्षिय सन्धीको छलि अनुहार
त्यसको आभूषणभित्र छिपेको षड्यन्त्रको जालो
मुट्ठीमा पर्न विवश पेन्सने यो जीवन पनि

मलाई नसोधी कसरि उठायो जीवनको धुरी
दुविधा या असहमत हुनुको बिद्रोह छ मभित्र दबिएको
नितान्त निजि मेरो जविनको छायामान्छे
लालबुकमा अवतरण गराइएको छ एकाएक
स्वीकार्न बाध्य पारिएको छु म लालबुकभित्र कैदी
उसको बदनियत
निर्दयता
र, छलछाम
म हैन
म हुँन सक्तिनँ

भन्दिनँ, त्यहा राइफल नहोस् र कत्र्तव्य पनि
त्यहा एम्बुस नहोस् र मृत्यु पनि
जीवन पड्किएकै हो प्रत्येक पाइला थिचिदा
जीवन लास बनेकै हो हरेक सन्त्रास ब्यँुझिदा
एम्बुसभित्र म आफै ढलेछु लालबुक मृत्यु

सेतो पानाभरि टाँगिएको कालो अक्षरको डफ्फा
जीवनजस्तो हरियो हुन्छ कि हुदैन !
विवेकि तपाई खुट्याउँन सक्नुहुन्छ
लालबुक जीवन र मेरो जीवन बीचको भिन्नता

उत्तानो पल्टेको छु तपाइँको आँखामा म नालायक अक्षर
निष्पक्ष गर्नुहोला फैसला तपाइँ दुबैलाई जाचेर
गोर्खा ह्याटले उभ्याएको मेरो योद्धाजीवनको कद
र ढाका टोपिले चुलिएको मेरो स्वतन्त्र शिरको उचाई
कुन अग्लो छ, कृपया नढाटी भन्नुहोला

नो म्यान्स् ल्याण्डमा अलपत्र थोत्रो बुटको पद्चाप
हरायो भन्ठानेको लालबुकको पानामा पो खसेछ !
सम्झेथेँ, खुकुरीको चम्काई दुश्मनको मृत्युमा विलायो
अक्षरमा रुपान्तरित त्यो मेरै जीवन पो उभिएछ

कस्तो विडम्वित ! जीवन मेरो
राइफल उभिदा उभिदा होचिएको आफ्नो कद
आँगनमा टेकेको हात्तिछाप चप्पलको पाइला खै कहाँ भासियो !

रगतको फाल्सामा फुलेको पपिफुलको नमीठो हरक
ठोक्किन आउँला ! अप्रत्यासित तपाइँको नाकमा
युद्धभूमिमा रोएको घाइते सिपाहीको चित्कार
रेटिन आउला तपाइँको हृदयको पहरामा
अथवा असहाय सिम्माको आँखाबाट तप्केकोृ बलेसी
भिज्न आउँला तपाइँका आँखामा

अन्योलग्रस्त छु कसरी म बेकामे लालबुक भएँ !
कसरी म लालबुकभित्र जाकिएँ !

लालबुकको कठघराभित्र सिमित पेन्सने
अस्विकार गर्छ यो सिमितता
सिताङभन्दा विशाल पसिनाको नदी
इम्फालभन्दा उच्च बैंशको उभार
तोबु्रकमा बगेको रगतको नाइल
मानचित्र भरि बिस्फारित गोर्खाली योद्धा

कसरी खुम्च्याइएँ जाबो कागजको पानाभित्र !
कसरी बन्दी भएँ म बेकामे लालबुकभित्र !!

ओ, गोरा साहेब
जवाफ देऊ
न्याय खोज्न म आएँ
लालबुक उभिएर
तिम्रै अदालतमा छु म हाजिर
म लालबुक मृत्यु बाँच्न सक्तिनँ ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.