~आर.बि. निश्चल~
पूजनीय ब्राह्मण देवता !
साष्टाङ्ग दण्डवत !
माफी चाहन्छु- धृष्टताको निम्ति
अनि, दुस्साहसको निम्ति
मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू
दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि
शान्त महासागरमा अचानक ज्वार उठेझैँ
मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू !
र, सुनामी चलेझैँ विद्युत गतिमा आक्रमण गर्न
दौडिरहेछ्न् विचार तरङ्गहरू !
तर, म आफै पृथ्वी बनेर
ज्वार, छाल र आँधी तुफानलाई
आफैभित्र समाहित गरि
सम्हालेर राखेको छु ।
वनै डढाउन खोज्ने अग्नि अनि
बस्ती सखाप पार्न खोज्ने सुनामीलाई
मेरो हृदय र मस्तिष्कको बलियो मानववादी
प्रेम-चुम्बकले तानिराखेकोले
तपाईंको बस्तीमा आगो लाग्न
अनि सुनामी आउन दिएको छैन
बरू
मन मस्तिष्कमा दन्दनी दन्किरहेको
अग्निज्वालाले आफैलाई डढाउँदै छु
अनि सुनामी छाललाई
शब्द-नदीमा शान्त भावले बग्न दिएको छु-
तपाईंको सजिलोका निम्ति !
ब्राह्मण देवता !
हजुरले मेरो टाउको काटिदिनुभएछ
मुर्कट्टा बनाइदिनु भएछ !
त्यति मात्र कहाँ हो र ?
बाहु, जाँघबाट पनि अलग्याइदिएर
पैतालामै सिमित गरिदिनुभएछ मलाई ।
म एउटा जीवन
समय गतिको प्रवाहमा विना आँखा र हात
तपाइँकै निर्देशनमा चल्न विवश छु ।
यस पृथ्वीमा जन्मिन पाएकोमा धन्य भएर
कृतज्ञ भावले गाउन खोजेँ
खुसीले उफ्रिएर नाच्न खोजेँ
तर गाउने मुख त हजुरकै रहेछ
नाच्ने हातगोडा पनि
हजुरकै निर्देशनमा चल्दारहेछ्न्
हजुरको निर्देशनविना म पैतालाले
गाउने- नाच्ने दुस्साहस कसरी गर्न सक्छु र ?
माफ गर्नुहोला ब्राह्मण देवता
जिन्दगी तपाईंको जस्तै
मेरो पनि छ
प्रत्येक जिन्दगी आफैमा प्रभू हो
प्रत्येक जिन्दगी आफैमा एउटा टाउको हो
त्यसैले ,
समयगतिको ध्वनि -सङ्गीत- तालसँगै
नाच्न खोज्ने मेरा भावलहरीलाई
तपाईं आफू टाउको बनेर
सुर, ताल नबिगारीदिनू
मेरो जीवनगीतलाई
तपाईंको जिब्रोले मृत्युशोकमा
परिष्कृत गरेर नगाइदिनू !
मेरो जीवनदृष्टिलाई
तपाईंको कालो चश्माले
चौतर्फी कालै नदेखाइदिनू !
कर्मशील मेरा हातहरूको पौरखलाई
धूलोमा नमिसाइदिनू !
जीवन-दर्शनको खोजमा लम्किन खोज्ने
मेरा यी पैतालालाई
तपाईंको टाउकोको बोझले थिचि नरहोस् !
मेरो हृदयको आवाज
मेरो मस्तिष्कको विचार
मेरो जीवनदृष्टी
मेरो नृत्यकला
हजुरकै
ध्वनी- आवाज, विचार, जीवनदृष्टि
र कला बनाइएर
अर्कै रूप अनि ढङ्ग्मा
मेरो कलापुष्प
फुल्न फक्रिन बाध्य नबनाइयोस्
ब्राह्मण देवता
मान्छेको जीवन पैताला मात्र हुन सक्छ र ?
अनि टाउको, बाहु र
जाँघ मात्र पनि हुन सम्भव छ र ?
प्रत्येक जीवन आफैमा पूर्ण छ
मलाई अब तपाईंको खाँचो महसुस छैन !
अँ, साँच्चि- यो जिन्दगी आफैमा अपूर्ण छ
यदि हजुरलाई मेरो आवश्यकता महसुस हुन्छ भने
जीवन-नदीको यात्रामा महासागर भेट्न
सँगसँगै हातेमालो गर्दै बहौँला !
पैतालाकै जीवन/ जिन्दगी
भए पनि
हे ! ब्राह्मण प्रभू
मेरा आफ्नै आँखा छ्न्
जुन अनन्त दृश्य हेर्न खोज्छन्
मेरो आफ्नै मस्तिष्क छ
जुन दर्शनको बगैंचामा थरी-थरीका दर्शन पुष्प फुलाउँछ
मेरा आफ्नै पौरखी कर्मशील हात छन्
जुन मान्छेका जिन्दगीमा हीरा बनेर चम्किरहेछ्न्
पिरामिड होस या ताजमहल
मक्का मदिना होस् वा झूलनवाग
मेरै सीपमा चम्किरहेछ्न्- टल्किरहेछ्न्
मेरो शरीरमा (रातै) नदी बगीरहेका छ्न् रगतका
जुन पृथ्वीको फोहोर-मैला बगाउन चाहन्छ्न्
मेरो हृदय पल्पल धड्किएको छ-
जो उन्मुक्त ढंगले स्वतन्त्रता गीत गाउँदै
मृगशावकझैँ उफ्रन, नाच्न चाहन्छ
फोक्सो छ मेरो दूषित जुठो हावा लिइरहेको
जो मुक्तिको श्वास फेर्न चाहन्छ ।
तर के गरूँ- ब्राह्मण प्रभू मेरो रातो रगत हजुरले
अशुद्ध बनाइदिनुभएको छ
वेदका मन्त्र सुन्न खोज्ने यी कानमा
लाहा पगालेर हालिदिनुभएको छ
“गायत्रीमन्त्र” जप्न खोज्ने मेरो
जिब्रो नै काटिदिनुभएको छ
सुन्दरता हेर्न खोज्ने यी नयन नै
फुटालिदिनुभएको छ
अब, यी कानले सधै-सधै हजुरकै मात्र कति कुरा सुनिरहूँ ?
यो जिब्रोले सधैं-सधैं कति हजुरकै गुणको बखान गरूँ ?
यी हातले सधै-सधैं हजुरकै मात्र पूजा गरिरहूँ ?
यी नयनले सधैं-सधै हजुरलाई मात्रै कति हेरिरहूँ ?
यो नाकले सधैंसधैं कति हजुरकै ब्राह्मण – सुवास लिइरहूँ ?
यी गोडा- पैतालाले सधैं सधैं कति
हजुरकै पदचाप पछ्याइरहूँ ?
हजुरकै नृत्य सधैं कति नाचिरहूँ ?
आज मेरो जिन्दगी पन्छी
हजुरको टाउको पिँजडाबाट मुक्ति स्वतन्त्रता चाहन्छ
खुला नील गगनमा हावामा कावा खाँदै उड्न चाहन्छ
चाहे; पिजँडालाई ठुङ्ग्दा-ठुङ्ग्दा रक्ताम्य म किन नहूँ ?
हजुरको करूणा , दयाभावले (सायद)
मृत्युवर्णन म किन नगरूँ ?
पिजडालाई म ठुँगिरहन्छु !
पूज्य ब्राह्मण देवता
उपहार कर्मफल तपाईंबाट
मृत्युु पाए पनि सहर्ष स्वीकार छ मलाई
पैताला मात्र म होइन
म जीवन हुँ एउटा
आफ्नै टाउको, हात, खुट्टा, आँखा भएको
मान्छे हुँ म सुन्दर एक जिन्दगी
अथाह अनन्त चेतना भएको
त्यसैले बिन्ती छ- ब्राह्मण देवता
हजुरले अब सबैको टाउको बन्ने कष्ट गर्नु पर्दैन
व्यर्थैमा बोझ किन बोकिरहनुहुन्छ अर्को जिन्दगीको !
जुन; ऊ आफैमा अर्को टाउको हो !
आफैमा पूर्ण जिन्दगी हो !
– रिब्दिकोट -७ मैनादी ।
साभार : किस्ता किस्तामा जिन्दगी (कविता संग्रह २०७६)