~सुमित्रा थापा कार्की~
यता एउटी आमाले छोरा जन्माईन महान बनिन्
उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन्
आखिर आमा नै बनिन्
“महान, अपमान”
यहि महान रअपमानको भरिलो
कोखबाट जन्मियो
“पुरुषार्थ ”
यो ढोंगी समाजले
रुढीबादी, कुसंस्कार परम्पराको आडमा
दिनहुुँ सल्काइरहेकाछन्
वारिदेखी पारिसम्म पुग्नेगरी
पुरुषार्थको राँको,
जुन राँकोमा स-साना कोपिलाका
कलिला कुमारित्वका अस्तित्वहरु,
कलकलाउँदो त्यो निर्दोषी बैशालु जवानीहरु
छिनभरमै खरानी हुनेगरी जल्ने गर्छ।
त्यसैले, यहाँ
एउटी आमा कोखलाई धिक्कार्छिन
अर्कि आमा कोखलाई निखार्छिन
आखिर आमा नै पश्चातापमा धिक्कार्छिन,निखार्छिन
त्यही धिक्कार्दा,निखार्दा
अहंकारमा निस्कियो
“पुरुषार्थ”
सहनशीलता, धैर्यताको बोझले
माया-ममता बाध्यताको सौखले
एउटी आमाको कोख कलंकित बनेको छ।
भरिलो कोखमा सुख छैन,
बाँझो कोखमा शान्ति छैन,
पुस्तौंपुस्तादेखी ओझेलमा परेको
नारिको अस्तित्व
अझपनि उस्तै छ
हिजो हजुरामा अपहेलित हुनुहुन्थ्यो
मेरि आमाकोनिम्ति,
आज आमा अपहेलित हुनुहुन्छ
मेरो निम्ति,
भोलि म अपहेलित हुन्छु
मेरी छोरीकोनिम्ती,
त्यसैलेहोला,
संघर्षका काला दिनहरु स्मरण गरी
एउटी लाचारी आमा सधैं मठमन्दिर धाइधाई
भगवानसंग माग्छिन,
भाकल राख्छिन,
लाखबत्ती बाल्छिन,
केबल एक पुरुषार्थ जन्माउनकालागि,
कुनै रहरमा हैन
परिवारको करमा,समाजको डरमा,
त्यहि कर ,डरको
बाध्यतामा चम्कियो
“पुरुषार्थ ”
वोल्लो घर पल्लो घरका
घरगृहणिहरु सिपालुछन्
उचाल्न, पछार्न
पुरुषार्थलाई दरिलो बनाउन
बिछ्याउछ्न कुरिती कुप्रथाको जालो
पानी पँधेरो, दाउरा घाँस,
गोठालोअनि मेलापातमा
नारीले नै नारीत्वकै अस्तित्वमाथी
लगाउँछन् कलंक।
कति लज्जास्पद घटना
आफ्नै अस्तित्वको लडाइँमा
त्यो निर्दोष अपजस कोख
फेरि एकपटक दोषी हुन्छ
श्रापित बन्छ।
बिनाकारण खुम्च्याइहेकाछन्
प्रत्येक आमाले आफ्नै छात्ती
आफ्नै सन्तानकानिम्ती
यो
ढोंगि समाजका अगाडि
जुन समाजले परम्पराका निम्ति
विकृती फैलायो
त्यही विकृती, कुरितिमा भित्रियो
“पुरुषार्थ”
एउटा बुढेसकालको सहाराकालागी
कयौं लक्ष्मिलाई कुलछिनी बनाइयो
ज्युँदै गाडियो, मारियो
नफुल्दै, कोपिलामै चुँडि श्रीङार्दै
अशिक्षित ज्ञान्
घर-घरको दैलोभित्र हुलियो,
निसासियो
कोपिलाको फक्रने सुन्दर सपना
संघर्षको रणभुमिमा
त्यही सहारा, कर्महाराबाट ब्युँझियो
“पुरुषार्थ”
(स्रोत : क्षेप्यास्त्र साप्ताहिक)