~गोपाल विरही~
‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् । जल, वायु, प्रकाश/अग्नि र माटोसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।
अर्कातिर ‘शिरीषको फूल’की सकमबरी र ‘रूपमती’लाई हेर्नुस् । ‘माइतघर’की सानीलाई र ‘अलिखित’ की फूलवा र मतियालाई हेर्नुस् । ‘घामका पाइलाहरू’मा झुलुक्क देखापर्ने पार्वती दिदी, ‘बसाइँ’की मैना र ‘एक चिहान’की नानीथंकूलाई हेर्नुस् । ‘मुनामदन’की मुना, ‘कोही किन बर्बाद होस्’की कमला र ‘मुकुन्द इन्दिरा’की इन्दिरालाई हेर्नुस् । ‘चौतारा लक्ष्मीनारायण’की ऋद्धिलक्ष्मी, ‘गोरे’सँगकी कुञ्जिनी, ‘अनङ’सँगकी सुलोचना, ‘धर्तीमाता’ र ‘पापिनी आमा’हरूलाई हेर्नुस् । ‘मृत्युपछिको अभिव्यञ्जन’का बालकृष्ण समको ठीक विपरीत यी सबै दुःखी छन् ।
दुःखको कारण के हो भन्ने प्रश्न सृष्टिको प्रारम्भदेखिकै हो । यही प्रश्नको उत्तरलाई खोज्ने असफल प्रयासस्वरूप आज अनेक दर्शन, विचारधारा र सैद्धान्तिक मान्यताहरू स्थापित भएका छन् । प्रयासहरू ‘असफल’ किन छन् भने कुनै पनि दर्शनले आजसम्म सबैलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
मान्छेहरू दुःखलाई बिर्सनका लागि वा बिसाउनका लागि विश्वासको सहारा लिन्छन्, ‘अन्धविश्वास’को आरोप सहेर भए पनि । ‘तानाशाही’को आरोप सुनेर भए पनि । दुःख बिर्सन मान्छेहरू योग, ध्यान-कर्ममा विश्वास राख्छन्, ‘असिर्जनशील’ वा ‘अनुत्पादनमूलक’को आरोप लाग्दा पनि ।
दुःख के हो ? एउटाले भन्यो- ‘यो पूर्वजन्मको फल हो ।’ तर अर्कोले असहमति प्रकट गर्यो- ‘पूर्वजन्म झूठ हो ।’ सुख के हो ? एउटाले भन्यो- ‘परमेश्वरको सेवा गरेर नै सुखको प्राप्ति हुन्छ ।’ तर सहमत नहुनेले भन्यो- ‘परमेश्वर झूठ हो ।’ एउटा भन्छ- ‘स्वर्गमा दुःख हुँदैन ।’ अर्को भन्छ- ‘स्वर्ग सत्य होइन ।’
दुःख के हो ? ‘क’ भन्छ- ‘एउटाले अर्कोमाथि थिचोमिचो गरेका कारण हामीले दुःख भोग्नु परेको हो ।’ ‘ख’ भन्छ- ‘थिचोमिचो मान्छेले मान्छेलाई गर्न सक्दैन । परमेश्वरमा मात्र त्यो सामर्थ्य छ ।’ ‘बी’ भन्छ- ‘इन्दि्रयहरूमा अपार शक्ति छ । यसको उपभोगबाट मात्र जीवन सम्भव छ । इन्दि्रयहरूको सहयोगबाट भोग्नुपर्ने जति सबै भोग्नुपर्छ ।’
कविहरू कविता लेख्छन्, दुःख/सुख कोर्छन्, सङ्ति/विसङ्ति कोर्छन् तर, सबैको उद्देश्य हो, दुःखलाई टाढा भगाउने । शोक-कविता पनि दुःखकै अभिव्यक्ति हो तर सुख प्राप्त गर्ने अभिलाषा त्यसमा पनि हुन्छ । शोक-कविता लेखेपछि कविको मनमा भएको पिलो निचोरिँदो रहेछ । सञ्चो लाग्दो रहेछ । सुखानुभूति पाइने रहेछ । भनौँ, दुःख कसैको पनि चाहना होइन- न कविको, न कलाकारको, न सङ्गीतकारको ।
मान्छेको दुई/तीन किलोको टाउकाले दुःखको मूर्त रूप खोज्न टाढा-टाढा यात्रा गर्ने योजनाहरू बनायो । टाउकाले दिएको योजनाअनुसार मान्छेको शरीर वनजङ्गलमा ‘तपस्वी’ बनेर बस्यो । मान्छेको शरीर प्रयोगशालामा ‘वैज्ञानिक’ बनेर उभियो । मान्छेको शरीर ‘राम’ बन्यो । मान्छेको शरीर ‘क्राइस्ट’ बन्यो । शरीर ‘बुद्ध’ बन्यो । शरीर ‘अल्लाह’ बन्यो । तर दुःखबाट मुक्ति मिलेन । दुःखले झेलिरहृयो । दुःख खेलिरहृयो, संसारमा स्वतन्त्र भई ।
दुःख कसरी भुल्ने ? मान्छे दुःखलाई भुल्न विगतको सम्झना गर्छ । मीठो भए सम्झन चाहन्छ, तितो भए भुल्न चाहन्छ । दुःख भुल्न मान्छे वर्तमानलाई सिङार्न/स्याहार्न चाहन्छ । सिङारिएको/स्याहारिएको भए अझ बढी सिङार्न/स्याहार्न चाहन्छ । दुःखलाई भुल्न मान्छेले भविष्यको कल्पना गर्छ । सम्भव भएजस्तो लागेमा लामो सास फेर्छ, असम्भवजस्तो लागेमा सम्भव पार्नेबारे विचार गर्छ तर दुःख भुल्दैन ऊ । भुल्न सक्दैन । प्रतिबिम्ब बनेर पछि लागिरहन्छ । दुःख छ घामजस्तो- बिहान उदाउँछ, साँझ अस्ताउँछ । रेलजस्तो- एउटा स्टेसनमा रोकिन्छ, फेरि हिँड्छ, आफ्नै रफ्तारमा । चन्द्रमाजस्तो- औँसीमा हराएजस्तो गर्छ तर पूर्ण चन्द्र हुनलाई एक न एक दिन, बढ्दै जान्छ, बढ्दै जान्छ । पूरा बढ्छ । फेरि हराउँछ । आउँदैन केही दिन तर फेरि रोकिइरहन सक्दैन ।
मान्छे मर्छ, दुःख आउँछ । आफन्त टाढा जान्छन्, दुःख आउँछ । एउटा रुन्छ, अर्कोलाई दुःख लाग्छ । एउटालाई चोट लाग्छ, अर्काको दुःखमा वृद्धि हुन्छ । के हो यो ? किन हुन्छ यस्तो ? किन अमूर्त हुन्छ दुःखको स्वरूप ? किन केही आकार छैन यसको ? के यो समस्या होइन ? यदि समस्या हो भने किन समाधान फेला पर्दैन ? के हो समाधान हो ? समाधान हो भने किन समस्याजस्तो प्रतीत हुन्छ ?
दुःखको अनुहारबारे सोच्नेहरू धेरै छन् । कसैले सोच्ला- दुःख तरुणी स्त्री हो । कपाल कोरेकी, फूल बनाएर बाटेकी, हिस्सी परेकी…। कसैले सोच्ला- दुःख राक्षस हो । लामालामा जटा पालेको, दाह्रा किट्ने, र्याल काढ्ने, डरलाग्दो…। तर कसैलाई थाहा छैन, दुःख कस्तो छ ? रुसमा अक्टोवर क्रान्तिले दुःखको अनुहार देखेर के गर्ने ? तिनका ‘अनुयायीहरू’ले देख्न सकेनन् । चिनको नयाँ जनवादी क्रान्तिले दुःखको अनुहार ठम्याएर के गर्ने ? तिनका ‘सन्तान’हरूले त्यसलाई पछ्याइरहेका छैनन् । बुद्धको ज्ञानले पनि दुःखको रूपरङ पहिल्याएर के गर्ने ? उनका ‘उपासक’हरूले हावामा उडाइदिएका छन् । इसाईहरूका क्राइस्ट आफैँ दुःखमा मरे । रामराज्यले पनि दुःखको अनुहार नदेख्नाले अदृश्य दुःखले फेरि त्यसमा आक्रमण गर्यो । मानौँ, दुःखलाई देख्ने कसैका आँखा हुन सक्दैनन् । मानौँ, दुःख एउटा जादुगर हो । मानौँ, दुःखले आफ्नो अदृश्य शक्तिको भरपुर उपयोग गरिरहेको छ । मानौँ, अमूर्तहरूको अमूर्त नै दुःख हो ।
भनौँ, दुःखलाई कोही पनि मन पराउँदैनन्, न केटाकेटीले, न बूढाबूढीले, न तरुण-तरुणीहरूले । भनौँ, दुःखलाई सबै घृणा गर्दछन्- मान्छेले, कीरा-फट्याङ्ग्राले, गाईवस्तुले…। भनौँ, सुखका आगमन सधैँ भई नै रहोस् भन्ने चाहना सबैको हुन्छ- मेरो, तपाइँको, उनको, तिनको…। भनौँ, सुखकै लागि पुस्तकहरू लेखिएका हुन्- वेद, पुराण, बाइबल, त्रिपिटक, कुरान ……।
तर सुख स्थायी कहिल्यै भएन । दुःख अस्थायी कहिल्यै भएन । धनले स्थायित्व दिएन सुखलाई । धनले अस्थायित्व दिएन दुःखलाई । मन पनि बेकामको भयो । ‘धनभन्दा मन ठूलो’ भन्ने बहस पनि काम लागेन । दुःख भागेन । आइरहृयो मात्रै । बढिरहृयो मात्रै । दुःख के हो ? कहाँबाट आउँछ ? कहाँ गएर टुङ्गिन्छ ? केले जन्माउँछ ? केले मार्छ ? अनेक जवाफहरू आए तर काम लागेनन् । जवाफका लागि कैयौँले जीवनभर तपस्या गरे । जवाफका लागि कैयौँले जीवनभर साधना गरे । जवाफका लागि कैयौँले जीवनभर सङ्घर्ष गरे । जवाफका लागि कैयौँले जीवनभर पुस्तकालय छाडेनन् । तर जवाफ आएन । जवाफका नाममा धर्मग्रन्थ र धार्मिक पुराणहरू बनाइए । जवाफका नाममा युद्धका सिद्धान्तहरू बनाइए । जवाफका नाममा शान्तिका सिद्धान्तहरू बनाइए तर जवाफ आएन । साँचो जवाफ आएन । सबैलाई स्वीकार्य जवाफ आएन ।
म पनि एक्लै हुँदा दुःखबारे सोच्न दुई किलोको मेरो टाउको चलाउँछु, हल्लाउँछु, प्रयोग गर्छु, कहिले-कहिले कस्तो लाग्छ भने मान्छेले दुःख बिर्सने हो भने मृत्युलाई याद गर्नुपर्छ । मृत्यु-शय्यालाई याद गर्नुपर्छ । मृत्युको सम्झना मात्रैले पनि मान्छे झसङ्ग हुन्छ तर त्यही सम्झनाले मान्छेलाई सचेत पनि बनाउँछ र ‘म मर्नुपर्छ’ भन्ने बोध हुनासाथै पाप-कर्मपट्टकि उसको झुकाव कम भएर जान्छ । त्यसैले मलाई केही कुराले दुःख दिएमा म अचेल मर्ने गर्छु । म मरेर वायुमण्डलमा, धेेरै माथि आकाशमा, घुम्न जान्छु । त्यहाँ अपार सुन्दरता हुन्छ । त्यहाँ दुःख हुँदैन किनकि त्यहाँ दुःखको कारण हुँदैन । दुःखको कारण जीवन हो । जो जीवन होइन, त्यसमा दुःख हुँदैन । जो पानी होइन, त्यो दुःखी हुँदैन । जो माटो होइन, त्यो दुःखी हुँदैन । जो अग्नि होइन र जो हावा होइन, त्यो दुःखी हुँदैन । जो सबै होइन, त्यो सुखी हुन्छ । कहिलेकाहीँ म यस्तै सोचेर एकछिन मर्छु र फेरि दुःख भोग्न बाँचेर र्फकन्छु । मानौँ, दुःख भोग्नु मेरो रहर हो । मानौँ, म सुखमा सधैँ रमाइरहन सक्दिनँ । मानौँ, सधैँ म मरिरहन सक्दिनँ । मानौँ, सधैँ म जीवनबाट टाढा जान सक्तिनँ…….।
(स्रोत : मधुपर्क २०६७ जेठ)