~जीतबहादुर कटुवाल~
सदियौँदेखि तिमी र म
कुम जोडेर असल मित्रताको
अभ्यास गरिरहेका छौँ ।
हातेमालो गरेर
सहअस्तित्वको बिउ छरिरहेका छौँ ।
तिमीलाई दुख्दा
मेरो नयनबाट अश्रुपात हुन्छ ।
मेरो बारी खडेरीले सुक्दा
तिम्रो मन उदास बन्छ ।
मेरो शिरबाट बहने अमृतजलले
तिम्रा गहुँका बाला परिपुष्ट हुन्छन् ।
तिम्रा समुद्रका बाफ लडिबुडी खेल्दै
मेरै धर्तीमा आइपुग्दा मनसुन बन्छन् ।
नीलो आकाशबाट बादलको पर्दा च्यातेर
धर्तीमा चिहाउने शितल शशिको आभा
तिम्रो र मेरो यो सहकार्यको साक्षी छ ।
तिम्रो र मेरो संस्कारमा सामिप्यता छ ,
संस्कृतिमा निकटता छ ।
म परोपकारलाई धर्म ठान्छु ,
छिमेकीलाई देवता मान्छु ।
तिम्रो पनि सहयोगी मन छ ,
अर्काको चित्त नदुखाउनु तिम्रो आदर्शले भन्छ ।
यता बुद्ध जन्मिए ,त्यता गुरुनानक
मन्दिर ,गुम्बा ,मस्जिद,गिर्जाघरबाट
त्यहाँ पनि, यहाँ पनि
शान्ति र सदाचारको धुन गुन्जिन्छ ,
सहिष्णुता र समन्वयको पताका फहराउँछ ।
तिमी मेरो छिमेकी ,म तिम्रो छिमेकी
तिम्रो र मेरो सहयात्रा निरन्तर रहनेछ ।
तिम्रो मेरो सहमति सदैव आवश्यक पर्नेछ ।
तिम्रा ऋषि मुनिले मेरो आकाशलाई छानो बनाएर तपस्या गरे ।
मेरा आस्थाका देवता तिम्रा पवित्र तिर्थस्थलमा आसन जमाए ।
तिम्रो र मेरो सम्बन्ध यतिमा मात्र सीमित छैन ,
तिम्रा हजारौँ सन्तान मेरा करेशाबारीमा सुस्ताउँछन् ।
मेरा हजारौँ सन्तान तिम्रा बगँैचामा मुस्कुराउँछन् ।
तिम्रा राम र मेरी सीता बीचको लगनगाँठोले कुटुम्बेरी साइनो छ ।
कहिले मेरी सीता र तिम्रो राम ,कहिले तिम्री सीता र मेरा राम ,
अग्निको सात फेरा लगाएर कहिल्यै नछुट्टिने वाचा गर्छन् ।
यस अर्थमा हामी सम्धी सम्धी पनि , साथीसाथी पनि ।
एउटा सम्धीले अर्काे सम्धीको चित्त दुखाएर सम्बन्ध सुदृढ हुँदैन
एउटा साथीले अर्काे साथीको मन कुँडाएर मित्रता मजबुत बन्दैन ।
त्यसैले तिमी पनि बाँच ,म पनि बाँच्छु ,
तिमी पनि हाँस म पनि हाँस्छु ।
युगौयुगदेखिको तिम्रो र मेरो सिमाना तिमी पनि नछोऊ ,म पनि छुन्न ।
म दशगजापारि लोभ गर्दिन ,
तिमी पनि दशगजा वारि नजर नलगाऊ ।
तिमी कालापानी र लिपुलेक नचलाउ ,
म पनि कुमाउ गडवाल दाबी गर्दिन ।
तिमी सुस्तामा नछिर ,
म पनि सुस्तापारि मेरो हो भन्दिन ।
आऊ , आजैदेखि प्रतिबद्धता व्यक्त गरौँ ।
एकले अर्काको सम्मान गरौँ ।
रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )