लघुकथा : ब्रम्हादेवलाई लखेट्ने कुर्सी

~यकिना अगाध~

नेपाल देशमा राजनीतिक परिवर्तनसँगै राजनैतिक शक्तिको आडमा संस्थागत रुपमा भ्रष्टाचार मौलायो । जनताहरु वेचैन हुन थाल्यो । चुनावैविच्छे सत्ताधारीहरु परिवर्तन भए, तर सबैको व्यवहार एउटै रह्यो । आफू वरिपरिकोलाई पोस, आफू मोटाउ, विपक्षीको जरा उखेल, बस्, अरु त तपशीलका विषय मात्र । यो देखेर ब्रम्हादेवलाई असह्यै भएछ । उसले त्यो कुर्सीमा विराजमान व्यक्ति आराम गर्न गएको मौका छोपेर आफूले एक घन्टाको लागि सत्ताको बागडोर आफ्नो हातमा लिएछ ।

ब्रम्हादेवले शक्ति हातमा लिने वित्तिकै न्यायालय, सेना, पुलिस, अख्तियार, कर्मचारी सबै सबै ठाउँमा आफूप्रति वफादार भक्तजनहरुको नियुक्ती गर्यो र भ्रष्टाचार निर्मूल गर्न एउटा सर्वशक्तिमान समिति गठन गरेर आदेश दियो, ‘भक्ते ! यो एक घन्टाको समयभित्र ती सारा भ्रष्चारीहरुको विवरण ल्याउ र कारबाहीको लागि तयार होऔ ।’

‘हस् मालिक !’ मालिकको शक्तिमान आदेश पाउने बित्तिकै भक्तेहरु ग्वारारा सलबलाए ।

विवरण आईहाल्यो । ब्राम्हादेवको अगाडि विवरणको पाठ सुरु भयो ः
‘मालिक !’
‘भन भक्ते ।’
‘मालिक ! विपक्षी नेतागणहरुको सम्पत्ति छानविन गर्नुपर्ने देखियो ।’
‘भक्ते ! अति उत्तम ।’
‘मालिक ! चुनाव बेलाका असहयोगी व्यापारीहरुको कालो धन हरण गर्नुपर्ने देखियो ।’
‘भक्ते ! अति उतम, अति उतम ।’
‘मालिक ! हामीलाई महिनावारी रासनपानी जुटाउन सरसहयोग नपुर्याउने र रिटायर भईसकेका कर्मचारीहरुमाथि शंका उव्जियो ।’
‘भक्ते ! अति उतम, अति उतम, अति उतम ।’

आफ्ना वफादार भक्तजनहरुले केही कुरा पनि नलुकाएर सत्यतथ्य रिपोर्ट ल्याएकोमा ब्रम्हादेवमा खुशीको उन्माद चढ्दै गईरहेको थियो । यतिकैमा सर्वशक्तिमान समितिका एक सदस्यले अर्को रिपोर्ट सुरु गर्यो ः
‘मालिक !’
‘भन भक्ते !’
‘मालिक ! तपाई, तपाईले गठन गरेको सेना प्रमुख, न्यायालय, प्रहरी प्रमखु र कर्मचारीको उच्चतहका मान्छेहरुको पनि सम्पति छानविन गर्नुपर्ने देखियो ।’

यो रिपोर्ट उसले आफूलाई सर्वशक्तिमान समितिको सदस्यको हैसियत सम्झेर सुनाएका थिए । उसले सम्झेको थियो कि यो रिपोर्टले ब्रम्हादेव अवश्य नै खुशीले गद्गद् भएर नाच्नेछ । यो रिपोर्ट सुन्ने वित्तिकै ब्रम्हादेवको लालीमामय मोहनी रुपमा मेघ गज्रियो ः
‘भक्ते ! घोर अन्याय, घोर अन्याय ।’

ब्रम्हादेव कुर्सी हल्लाई हल्लाई झन् कराउन थाल्यो ः
‘भक्ते ! घोर अन्याय, घोर अन्याय । पक्कै तेरो बुद्धिमा विपक्षीको किरा सल्बलाएको हुनुपर्छ ।’
ब्रम्हादेव रिसले जुरुक्क उठ्यो । उ उठ्दा एकघन्टा समय बित्ति सकेको थियो र कुर्सी खाली भयो । खाली हुनेबित्तिकै त्यहाँ कुर्सीमा सत्ता संचालक आएर बसिहाल्यो । त्यो मान्छे कुर्सीमा बस्ने बित्तिकै आदेश दिन थाल्यो ः
‘ए फलना !’
‘हजुर महाराज !’
‘यो कुर्सीमा मभन्दा अघि को थियो ?’
‘फलना महाराज !’
‘तुरुन्त उसको कामकारबाही माथि छानविन थाल त !’
‘हस् महारज !’

त्यो कुर्सीमा बस्ने वित्तिकै ब्रम्हादेव पनि पक्षपाती बन्यो । उसको निस्पक्षताको होस नै गुम भयो । जुन कुरीति हटाउन उ त्यस कुर्सीमा बसेको थियो, बस्ने वित्तिकै उल्टो परिणाम निस्कियो । त्यो कुर्सीमा बस्नुअघि भ्रष्टाचार, महङ्गी, अत्याचार, राजनीतिक पूर्वाग्रह, राजनैतिक अपराध सबैसबै कुरीति हटाउने प्रण लिएका ब्रम्हादेव एकघन्टा के बसेको थियो त्यसपछि त आफू पनि राजनैतिक अपराधमा पक्राउ पर्ने डरले लगलग काम्यो र आफू जोगिन त्यो कुर्सीवालालाई कसरी आफ्नो प्रभावमा पार्ने भनेर गम्न थाल्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.