~होमर श्रेष्ठ~
ए नयनलाई नदेख भन्नेहरु
ए कलमलाई नलेख भन्नेहरु
खै म हजुरहरुलाई
कुन भाषामा सम्बोधन गरुँ !
हिउँदको बर्फिलो मौसम
जमेको खयरमसी
वासन्ती उत्सवसँगै पग्लिएको छ
तरङ्गित भइरहेछ श्वेत कागजमा
लाखौँ सशक्त वर्ण बनेर
तिनलाई म कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
भर्खरैको शल्यक्रियापछि
अनगिन्ति अन्धनयन
स्वस्थ दृष्ट बनेका छन्
घामका रङ देखेका छन्
फराक आकाश हेरेका छन्
कति चम्किलो प्रकाश !
कति चाचल बतास !
टुसाउँदै छन् नयाँ पालुवा
कोपिलाउँदै छन् फूलका थुँगा
कसरी म तिनलाई
देखे पनि नदेखेभैष गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
यो सुन्दर धर्तीभरी
चिन्ताग्रस्त शोकग्रस्त
अनुहारहरु बग्रेल्ती रहेछन्
हेरिरहेछन् तिनले मलाई
म कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
एकपल्ट देखिएको दृश्य
फेरि कसरी नदेख्न सकिन्छ र
आजभोलि कता-कता
म अँध्यारोमा हिंड्ने गरेको छु
हिंडदा हिंडदै दिगमिगाउँदो
खाल्डोमा झरेको छु
जहाँ मान्छे मान्छे जस्ता छैनन्
कीरा फट्याङ्ग्रझैँ
घस्रँदै र उफ्रदै छन्
म तिनलाई कसरी नदेखेझैँ गरुँ !
ए नयनलाई नदेख भन्नेहरु !
म ओहोरो दोहोरो गर्ने गरेको छु
नागेश्वरीको लौरी टेकेर
अन्धकारसित खेल्ने गरेको छु
टोलटोल गल्ली-गल्ली
म भौँतारिइरहेको हुन्छु
जहाँ कुकुरहरु भुकिरहेका हुन्छन्
दाहिने खुट्टो उचालेर
बिजुलीको पोलमा तुर्क्याउँदै
आकाशका जूनतारालाई भुकिरहेका हुन्छन्
गीत गाउने कण्ठ छैनन् तिनका
भुकिरहून् विचराहरु !
ए पृथ्वी नघुमोस् भन्नेहरु
ए कलम नलेखियोस् ठान्नेहरु
अक्षरको नशाले मातेर
म अन्धकारमा फर्कँदा
अनेकपल्ट भुकिएको छु
बिजुलीको पोलमा ठोकिएको छु
बायाँ खुट्टोमा टोकिएको छु !
त्यो निस्पट्ट रात
ब्रेख्त र चेखभ
संवाद गरिरहँदा
परेड खेल्दै थिए साँगुरो सडकमा
मेरा जुत्ता र पाइतलाहरु
अट्टहास गर्दै थिए उल्लूहरु
जीर्ण घरको छानुमा
तिनका ठूला हिँस्रक आँखा
एम्बुलेन्सका बत्तीझैँ
२७०० डिग्रीमा घुमिरहेका थिए
म तिनलाई कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
एकपल्ट देखिएको दृश्य
फेरि कसरी नदेख्न सकिन्छ र !
यो मनमा छापिएको परिदृश्य
कसरी नलेख्न सकिन्छ र !