~तिर्थराज जोशी~
राक्षस जस्ता आफन्तले
उसलाई देउता लागेको भनेपनी
वा देउता मानिने मान्छेले
उसलाई भुत लागेको भनेपनी
यसो भनेपनी
उसो भनेपनी
जे भनुन् तिनिहरु
ऊ बौलाहा नै हो।
ऊ जब त्यस्सै
आस्मान् थर्किने गरि चिच्याउँछे नि
ऊ त्यही आङ जिरिङ्ग पार्ने
वेदना सम्झिँदी हो
जो उसले तिनिहरुबाट
भोगिरही।
ऊ जब त्यस्सै
डरलाग्ने गरि अट्टाहस हाँस्छे नि
ऊ त्यहि तिनिहरुका
रुवाउने हाँसो सम्झिँदी हो
जो उसलाई हाँसोको पात्र मात्र मानेर
हाँस्दाहुन्।
ऊ जब कराउँछे नि
ऊ त्यही बर्खाहरु सम्झिदी हो
जब खल्ला भरी
हल्ला गरि
रात रात भरी
मात मातमा परि
टर्टर टर्टर्याउने भ्यागुताहरु
जसरी तिनिहरु च्याँठिन्थे।
ऊ जब गाउँछे नि
ऊ त्यही मन्दिर भित्रका
ईश्वरका स्तुति गाउँदी हो
जो बौलाहाहरुलाई जन्माउँदछन्।
ऊ जब कसैका पाश मात्र जान्छे
मानौँ ऊ भयङ्कर महाविनाश हो
सब ऊ देखि डराएर भाग्छन्।
ऊ जब बाटामा
माटामा केही
केलाई राखेकी हुन्छे
नानीहरु उसलाई ढुङ्गा हान्छन्
तर यो सब हैन
उसको पुजा गर
उसलाई ढोग
उसको मुर्ती बनाउँदा पनि हुन्छ
उसको क्रियाकलाप लेख
एउटा दर्शन बन्छ
किनकी बौलाउन त्यति सजिलो छैन मान्छे
ऊ बुद्ध महिला हो
ऊ हाम्रो संसारमा बाँच्दै बाँच्दिने
उसले नर्ककाभन्दा बत्तर पत्थरहरु खाएकी छे
उसले नर्कलाई जितेकी छे
उसले स्वर्गको कहिल्यै कल्पना सम्म गरिन
उसलाई स्वर्गको मोह कहिल्यै रहेन
ऊ स्वयं मुक्ती हो र
उसलाई यो मुकाम सम्म पुर्याउने गुरुहरुलाई
झन् स्तुतीका फुलमा चढाउ
भेटि भेँटी चढाउ
सातौँ आस्मानमा पुर्याउ
तिनै हुन् जस्ले उसलाई
त्यति पवित्र गरे
जस्ले उसमा देउता भरे
देउता पस्न
देउता बस्न
कहाँ सजिलो छ र?
खै हामीमा कहाँ हुन्छ त्यस्तो?
त्यसैले यो सब बुझ
उसलाई पुज
उसलाई जे मान मान
देवि मान
बुद्ध मान
र जे मानेर उसलाई माने पनि हुन्छ
तर ऊ बौलाहा नै हो।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )