~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । राजकुमारीहरू त धेरै भेटिए । तर तिनीहरू सक्कली राजकुमारी हुन् कि होइनन् भन्ने थाहा पाउनु गाह्रो थियो । सबैमा केही न केही खोँट देखिन्थ्यो । सक्कली राजकुमारी नभेट्टिएको हुँदा राजकुमार निराश भएर घर फर्के ।
एक दिन साँझ ठूलो हुरी चल्यो । आकाश गज्र्यो । चिर्को पर्यो । घनघोर पानी पर्यो । त्यसै बेला अचानक कसैले ढोका ढक्ढकायो । वृद्ध राजा आफैले ढोका खोले । ढोकामा एउटी राजकुमारी उभिएकी थिइन् । तर झरीले न्रि्रुक्क भिजाएर उनको रूपै बिग्रेको थियो । कपालबाट बगेको पानीले लुगा भिजाएर कुर्कुच्चासम्म लुछुप्पै पारेको थियो । त्यस्तो अवस्थामा भएर पनि उनले आफूलाई सक्कली राजकुमारी हुँ भन्दै थिइन् ।
“ठिकै छ, उनी साँच्चिकै राजकुमारी हुन् कि होइनन भन्ने कुरा हामीले चाँडै नै पत्ता लगाइहाल्ने छौँ ।” वृद्धा रानीले मनमनै भनिन्, तर मुखले केही भनिनन् । उनी सुत्ने कोठामा गइन् । पलङमा भएका सबै ओछयान झिकिन् । त्यसपछि पलङमा एक गेडा केराउ राखेर त्यसमाथि बीस थान डसना र डसनामाथि चराको भुवाले बनेका बीस वटा गद्दा खप्टयाएर राखिन् ।
राती राजकुमारीलाई त्यो ओछयानमा सुत्न लगाइयो । भोलिपल्ट उनीसँग राती राम्ररी निँद लाग्यो कि लागेन – आरामसँग रात बित्यो कि कस्तो भयो भनेर सोधियो ।
“ओहो, रात काट्न कस्तो गाह्रो भयो ! रातभरि मैले आँखा झपक्क गर्न पाएकी छैन । हे भगवान्, ओछयानमुनि कस्तो साह्रो कुरा थियो कुन्नी ! त्यसले बिझाएर मेरा जीउभरि नीला डाम परेका छन् । कस्तो गाह्रो भयो !”
बीस बीस वटा डसना र बीस थान गद्दाको मुनि भएको केराउको गेडाले बिझाउने भएपछि उनी राजकुमारी नै हुन् भन्ने कुरामा शङ्का रहेन । सक्कली राजकुमारी बाहेक अरूको जीउ यति कमलो हुनै सक्तैन ।
राजकुमारले पनि सक्कली राजकुमारी भेट्टाएकोमा दङ्ग परेर उनीसँग बिहे गरे । सक्कली राजकुमारी पत्ता लगाउन सघाउने त्यो केराउको गेडा संग्रहालयमा राखियो । कसैले नचोरेको भए त्यो केराउको गेडा अझै पनि त्यहाँ होला । यो साँच्चिकैको कथा हो ।
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)