कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~

भूत तर्साई रहेछ वर्तमान
मुखुण्डो ओढेर आज्ञात भविष्यको…
समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ ….

“म” मा खसेर बिलाउन नसकेको म
हामी बनेर फेरी फुटिरहेछु
“बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु …

भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको कथाको
आज एउटा साक्षी / पात्रसम्म भएको छु …

भगवानलाई मन पर्ने स्तुति र प्रशंसाको आँधीबेहरीले
बुख्याँचा को दिलमा खुशी र उमंगको दूबो पलाएन
अनास्थाको सुनामी बहुलाएको दिन मेरो दरबार गर्लम्म ढल्यो
उसको खुशीको सगरमाथाले आकाशै छेड्यो ….

के चाहियो भनेर भगवान मान्छेलाई केहि सोध्दैन
बुख्याचाको चाहिं दिन आउँदो रहेछ …
र जवाफमा बुख्याचा मौन छ
फेरि भगवान सोध्छ “के चाहिन्छ ?जे माग्छौ त्यहि पाउँछौ..

तर तिम्रो छिमेकीले भने त्यहि कुरो डब्बल पाउनेछ ..”
छिमेकीको सुर्ताले बुख्याँचा बहुलायो
उसले एक गोठ माग्दा छिमेकीको दुई हुने देख्यो
उसले एउटी गाई माग्दा छिमेकीको दुई हुने देख्यो….
छिमेकीको सुर्ताले बुख्याँचा बहुलायो
र एकएक बुख्याँचा को अक्कल फुर्यो’-
“एउटा आँखा फुटाई देऊ प्रभु !!”
उसको खुशीको आयाम उसको मनको ब्रह्माण्डमा अट्न सकेन

भेँडाखर्कमा सयवटा भेंडा चरिरहेका छन्
हर्ष र विस्मात नाप्ने हविमिटरको मापन “न्युट्रल” छ
एउटा भेंडा हराएको खबरले –
हविमिटरमा बुख्याँचा को विस्मात बढ्यो, हर्ष झर्यो
एकाएक भेंडा फेला परेको खबरले –
हविमिटरमा बुख्याँचा को हर्ष बढ्यो, विस्मात झर्यो
भेँडाखर्कमा अहिले पनि पहिला जस्तै सयवटा भेंडा चरिरहेका छन्
हविमिटरको मापन “न्युट्रल” छैन ….

बुख्याचाको खुशी –
अर्काको दरबार भत्केर चुलिएको छ
छिमेकीको दुवै आँखा फुटेर क्षितिज पारीसम्म फैलिएको छ
भेंडाको संख्याको पुनस्थापनामा मौलाएको छ …

“कस्ले विस्थापन गर्यो खुशीको ठेगाना मन बाहिर ?
कस्ले डिजाइन गर्यो खुशीको तास-महल ?
कस्ले गाड्यो सभ्यताको चिहानमा खुशीका भ्रुणहरु ?…”
भन्दै अक्षर-प्रदेशमा महासंग्राम ब्युँझिरहेछ
बुख्याँचा ले नबुझ्ने एउटा उद्घघोषण घंकिरहेछ –
यो संसार सर्जकहरुकोलागि मात्र हो …
संसार सर्जकहरुकोलागि मात्र हो …
सर्जकहरुकोलागि मात्र हो …
मात्र हो …
हो

जीवनको उकालो झर्दा-झर्दै
हिमालको चुचुरोले अँठ्याएर न्यानो म्वाई खाँदा
बग्दा बग्दै शर्माएर लामाबगरनिर हराएको तामाकोशी भएको छु
किनारामा उभिएको बुख्याँचा
देशीमलबिना हुर्केको विकासे घाँस झैँ सप्रेकोछ
अर्तीको “साइड-इफेक्ट” उस्कोलागी जहर हुने गरेकोछ
ऊ –
इन्द्रेणिले “ब्ल्याक एण्ड व्हाइट’ फोटोसँग
आफ्नो रंग मागेको बिलौना सुनिरहन्छ
न्याउलीको स्वरमा धरतीको प्रतिनिधि रोदन सुनिरहन्छ
मात्र सुनिरहन्छ बुख्याँचा !!
उता-
घडीको सुइ तोडेर समय कतै भागिरहेछ …

अज्ञानताको भ्याकुममा-
मान्छेको अस्तित्व
अन्धो रहर र बहिरो चाहनाको विस्फोटन रहेछ …
भगवान -मान्छे – “बुख्याँचा”
“बुख्याँचा” -मान्छे – भगवान …
ब्रह्माजीको प्रयोगशालामा
अभ्यस्त आत्म-रसायनिक प्रतिकृया चलि नै रहेछ …

“बुख्याँचा ” को संहारर्ता “बुख्याँचा ”
“बुख्याँचा ” को जन्मदाता अब “बुख्याँचा ”
“बुख्याँचा ” को गन्तव्य “बुख्याँचा ”
“बुख्याँचा ” – प्रदेश हो सिंगो भूगोल
जहाँ खुशीको चमक अश्रु-मोतीमा निर्लज्ज टल्किन्छ

र दृष्टि-दोषमा भ्रमको अट्टहास सुनिन्छ -:
सिंगो जीवन – “इरर”हरुको सिन्तेज हो ……

भूत तर्साई रहेछ वर्तमान
मुखुण्डो ओढेर आज्ञात भविष्यको…
समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ ….

मेरो
उपस्थिति
यथास्थितिवादविरुद्ध
सिर्फ
एउटा
एटम-बम
मात्र हो !!!

मस्को

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.