~देवेन्द्र खेरेस~
समय: हावा हो, संधै उडिरहन्छ
समयः पानि हो, सधै बगिरहन्छ
समयः जीवन हो, सधै बितिरहन्छ
समयः कि के हो ?
समयः कि सप्पै हो ?
समयको फेद र टुप्पा नभेटेपछि
एकदिन बित्यो, भन्थे
दुइदिन बित्यो, सोच्थे
तर, युग बितेछ
आज मात्र चाल पाइरहेछु
भोगेका ती झुत्रो जीन्दगी
र, बितेका ती सप्पै समयहरू
पहिलो पहर
दोश्रो पहर
समयको इकाई गन्नु बाहेक
जीवनको मुल्य खोज्नै बिर्सिएछु ।
संसार देख्ने अँखाहरू
ब्रमाण्ड टेक्ने खुट्टाहरू
मानिसः न मूर्ति हो
मानिसः न यन्त्र हो
मानिसभएर जिउँनका लागि
युग-युग
पर्खिरहनुको पीडा
युरोपको चिसो पहाडहरूमा
म “लाभा” उम्लिरहेछु
पड्कनलाई ज्वालामुखी….-
र, ओकल्न बिगतका तितो यर्थाथहरू
जसलेः आफ्नै घर आँगनबाट टाढा बनायो
जसलेः आफ्नै भाषा र सँस्कृतिबाट टाढा बनायो
जसलेः आफ्नै समाज र देशबाट टाढा बनायो
र, राज्यको प्रतेक कुर्सिमा
उपस्थित सून्य बनायो ।
लाग्न सक्छः
कि म होइन, त्यो माटोको भूमीपुत्र ?
कि म होइन, त्यो समाजको गन्यमान्य ?
कि म होइन, त्यो राज्यको नागरिक ?
अक्सर्फोड प्रेसमा
छापिन नसकेका
मेरा जीवन कथाहरू
सेक्सपियरको वियोगान्त नाटकझैं
समयको घुम्टो ओढेर
आज एम ट्वान्टि राजमार्गहरूमा
चक्कर लगाइरहेछ
थेम्स नदिभएर
बगिरहेछ
र, इंग्लिस च्यानलका छालहरूसँगै
अनगिन्ति प्रश्नहरूको उत्तर खोज्दै
दौडिरहेछ-दौडिरहेछ
निरन्तर दौडिरहेछ…।