कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~Dayakrishna Rai

थेम्स नदीको तीरै तीर
छाती भरि पीरै पीर
बोकेर हिडिरहेका हामी गोर्खालीहरु
खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको
बागमती नदीको यादमा आँसु बगाई रहेका छौं ।

नेपाल आमा !
बरु यो आँसु र पसिना उतै बगाउन पाएको भए
बागमतीको मुहान फेरी फुटथ्योकी ?

नेपाल आमा !
तिम्रो काखमा बगेको बागमती

बेलायती सानीआमाको काखमा बगेको थेम्स
हामीले उस्तै–उस्तै सोच्यौं
जवानीको जोस र जागर सँगै
बेलायती सानीआमाकै रक्षाको लागि बन्दुक बोक्यौं
जोस र जागर बलिष्ठ पाखुराका पौरख
विलीन हुदै गएपछि हामी खेदियौं ।

नेपाल आमा !
तिम्रै काखमा फर्किएर ढेडो रोटो खाएर
संतोषकै सास फेरी रहेकै थियौं
बेलायती सानीआमाले फेरी
सुकिसकेको लाम्टा चुसाउछु भनिन

हामी बुर्कुसी मार्दै लाम्टा चुस्न
यहाँ सम्म आयौं
अहिले हामीले सुकेको लाम्टाको त के कुरा
घुँडा चुस्न सम्म पाएका छैनौं
आमा जस्तो कहाँ हुन्थ्यो र सानीमा
भन्नेकुरा बल्ल चाल पायौं ।

नेपाल आमा !
हाम्री सानीआमा त
कति मापाकी बाठी रैछिन वा……!
श्याम÷स्वेत÷पीत, वर्ण
सवैलाई समान अवसर भन्ने
नरामा मात्रै सीमीत रहेछ
रातो रहदानीले त हाम्रो पीतवर्ण
स्वेतवर्णमा अवश्य परिवर्तन हुन सक्दैन ।

तर पनि नेपाल आमा !
जिरो डिग्रीको जाडोमा
आई एल आरको खास्टो ओडेर
आप्mनो भाषा संस्कृति–
परम्पराको दोचा र मोजा लगाएर
आफनै अस्तित्व कुल्चीएर,
बाघ मार्ने महत्वकाङ्क्षाहरु सँगै
मरेको बिरालो काखीमा च्यापेर
दोबाटोमा उभिएर,
फलानो गाउँ जाने बाटो
सोधिरहेका छौ हामी गोर्खालीहरु ।

बेलायत वेल्स कार्डिफ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.