कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~devendra-basyal

कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी वनमा कल्चौंडाले गीत गउँदैछ । शिशिरयामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे । म बुवा सुत्ने कोठाको ढोकामै पुग्छु । बुवालाई प्रणाम गर्छु । बुवाले आर्शिवाद दिनुहुन्छ “ठूलो नेता भएस दीनदुखीको सेवा गरेस ।”

बुवा उठेर खाटको डिलमा बसेर मलाई अराउनु हुन्छ । जा त्यो खन्युको बुटो काट, ढलाईदे । त्यो बुटो अब काम लागेन, न घाँस न दाउरा हुने भो, आधा हरियै छ आधा कमिला र धमिराले खाईसके । त्यो बुटाको जुन महत्व थियो अब छैन त्यसलाई काट । मैले बुवासँग गुनासो पोख्छु, बुवा कसरी ढलाउने त्यो बुटो ? तलपट्टी लाँकुरीको सुरीलो बुटो छ, यता उता छिमेकीका घर, बाली छ अरुको घरबाली नासीयो भने भनाई आउछ, डण्ड तिर्नु पर्छ, तल तिर हुर्कदो सुरीलो लाँकुरीको बोट मास्न पनि भएन, कसरी ढाल्ने त्यो बुढो बुटो बुवा ? कति अप्ठेरोमा छ बुटो हजुरलाई थाहैछ ।

मैले प्रश्न गर्छु, मेरो प्रश्नले बुवा सोच्न बाध्य हुनुहुन्छ । बुवाले निधार खुम्च्याउनु भयो, कतै डोरी लगाएर तानेर ढल्काउन पनि नसकीने, राखेर पनि त्यो अर्धसुकेको उजाड बुढो बुटाको कुनै काम छैन, गएको फागुनको हुरीवतासमा पनि ढलेन । ढलीहाल्यो भने पनि बिचरी पल्लाघरे साईलीको घर भत्काउला भन्ने पिर, वालीनाली बिग्रने डर बढो घाँडो भयो त यो खन्युको बुटो । अब दाउरा सिवाय यस बुटाको कुनै काम छैन । ढाल्न पाए दुई विहा उम्काउने दाउरा त हुन्थे होला, धमीरा र कमीलाले खाइसके कान्छ जा कुनै उपाए निकालेर ढला । बुवाले बुटो ढलाउने जिम्मा मलाई दिनु भयो । दुईसाल पहिला यो बुटो कति हरियो थियो कस्तो झ्वाम्म परेर घाँस र सितल दिन्थ्यो । बुवा त्यही खन्युको बुटा मुनी दिन विताउनु हुन्थ्यो । त्यही पाकेको खन्यु गाउँभरीका मानिसलाई बाड्नु हुन्थ्यो ।

गाउँका बुढापाका केटाकेटी यही खन्युका बुटावरीपरी झुम्मीन्थे । बाङ्गे खन्यु भनेपछि गाउँमा निकैचर्चा थियो । कति मिठो थियो भने केटाकेटीले त नधोइकन कपडामा पुछेर खन्यु खान्थे, बिहान उज्यालो हुन नपाउदै खन्युको बुटो वरीपरी केटाकेटी भरिन्थे । हिउँदभरी भैंसीलाई घाँस हुन्थ्यो । सुनसान रातमा त्यही खन्युको बुटामा बसेर नयाँ वसन्तको गीतगाउने कोइलीचरी पनि आजभोली उ लाँकुरीको बुटामा बसेर कराउँछ गाउँछ । भ्mयाउँ भ्mयाउँती झुम्मीने चराचुरुङगीहरु आजकल कहाँ गएहोलान ? आजभोली केवल लाटोकोसेरो धुम्धुम्ती त्यो उजाड खन्युको रुखमा बसेर सिकार खेलिरहन्छ । बारीका कान्लाहरुमा खेलिरहेका मुसा, किराकिरी टपक्कै टिपेर त्यही बुटामा बसेर खान्छ । टुहुराको एकपटक पालो आउछ, काली पनि बैंसमा राम्री हुन्छे भने जस्तै त्यो बुटाको कुनै बेला निकै चर्चा थियो, बाङ्गे खन्युको गुण गान नगाउने कोही थिएनन् टोलभरी तर अहिले बुटो टाटपल्टेको छ, न घाँस, न खन्यु न दाउरा केवल धमिरा र कमिला लागेको बुटो अब नढाली सुखै छैन । त्यो बुटो काट्दा लाँकुरीको बोट हरलक्कै हुर्किन्छ भने, बुटाका दाउराले दुई विहा उम्काउछ भने कमिला र धमिराले नसक्दै बुटो काट काट भन्नु हुन्छ बुवा, म निकै घोरीन्छु, टक्क अडिन्छु जुक्ती र बुद्धी प्रयोग गर्ने चेष्टा गर्छु । बुटामा चढेर निर्धक्क हाँगा काटुभने पनि कमिला र धमीराले बस्न दिंदैनन्, कतै ठाडै बुटाबाट झार्ने हुन कि भन्ने पिर, फेदबाट काटुँ भने अरुहरुलाई असर गर्ला कि भन्ने डर, त्यसै छाडौं भने बुटो त हाम्रै हो तर प्रयोग विहिन हुने भयो भन्ने मत्रै पिर । सबै डर त्रास पिरबाट जोगिएर मैले बुटो काट्नु छ । मैले मनभरी कुरा खेलाउछु यो संसारको रित नै बढो अनौठो छ ।

कुनै पनि वस्तुको जन्मसँग सँगै मृत्यु आएको हुन्छ । एउट विरुवा पनि कति सानोबाट हुर्कंदै जान्छ र एक पटक लोर्के बन्छ, फुल्छ फल्छ कैयैं पटक यो प्रकृया दोहोरिन्छ र अन्तमा मर्छ । एउट विरुवाले आफ्नो जीवनकालमा के दिन सक्यो ? त्यो कुरा निकै महत्वपूर्ण हुन्छ त्यसैगरी मानिसले पनि जीवनमा जन्मेर नमरुन्जेलसम्म मानव समुदायलाई केही दिन सक्नु पर्छ । यो खन्युको बुटाले घाँस दियो, कति मिठा मिठा फल दियो, छहारी दियो, अक्सीजन दियो र कार्बन लियो । तर हामीले एउटा रुखले जत्तीपनि काम गर्न सकेकाछैनौं । हामीले दिने होइन कि लिनेमात्र काम गरेकाछौं । हामीले सेवा गर्ने होइन कि दुःख दिने मात्र काम गरिरहेकाछौं । कुनै दिन हामीलाई पनि काट्नु पर्ने हुनसक्छ । ढलाउनु पर्ने हुन सक्छ । हामीले महिला मुक्ती, दलित मुक्ती, जनजाती मुक्ती, दुखि गरिब सबैको मुक्तीकोलागि थुप्रै थुप्रै पैसा उठाएर दोसल्ला ओडाएर फुलमाला पैह्राएर उधुम गरेका छौैं तर मुक्ती कहाँ कति भयो ? बुवाले पुनः बोलाउनु हुन्छ, कान्छ । बुवा म आँए, म पुनः बुवाको सामु पुग्छु । बुवा भन्नु हुन्छ हिड गाउँमा गएर एकदुईजना सहयोगी लिएर बुटो त ढाल्नै पर्छ । हामीले बुटो ढालेनौं भने बुटोमा लागेको रोग उ त्यो लाँकुरीमा पनि सर्ने छ । ति कमिला धमिराहरु हाम्रा घरहरुमा पनि पस्नेछन र हाम्रो सारा गाउँनै कमिला र धमिरामय हुने छ । हामीले बुनेका समाजवाद र साम्यवादका सपना केवल सपना मात्रै हुनेछन । त्यसैले पनि कान्छा बुटो ढाल्नै पर्छ ।

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.