निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~

नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै रहस्यमय कुरो जान्न चाहने चाहना, जिज्ञासा । जिज्ञासा सिक्ने मन । जिज्ञासा एक खेल मनको । त्यसैले भन्न मन लागिदिन्छ- मान्छे त खेलाडी रैछ । ऊ खेल खेल्छ । खेलिरहन्छ । खेल्नैपर्छ खेल उसलाई । ऊ भन्नु सब- थोक । ऊ अनेक गर्छ । खेल खेल्न ऊ तेल लाउँछ । अलिअलि आफैँमा, अलिअलि अरूमा । अनि भन्न मनलाग्न थाल्छ ऊ अलिअलि तेल रैछ । तेल मान्छे । मान्छे तेल । सायद यसरी नै तेलिया भइएछ कि मान्छे । जे होस्, उसलाई अलिकति तेल लाउनैपर्ने भैदिन्छ । ऊ एउटा कब्जा हो । तेल नलाए कब्जामा खियापर्छ । खियामा तेल नलाए खिइन्छ कब्जा । खिया परेको कब्जा सहज चल्दैन । बलजफ्ती न्याय बन्छ- अलिअलि उसमाथि । अलिअलि अरूमाथि । कनिकुथी तेल नलाई बलजफ्ती गरे कब्जा भाँचिन सक्छ । तत्काल नभाँचिए नि आवाज दिनथाल्छ । कुइँय्य कुइँय्य……। मानौँ कब्जाको कुइँय्य ……. कुइँय्य आवाज उसको विद्रोही स्वर हो । बुलन्द बिद्रोही नारा हो । कुइँय्य……. कुइँय्य । चाल हो यो एक । खेल हो यो एक । एक नै अनेक भइदिन्छ । अनेक ऊ एक । चलखेल उसको गति । कहिले के…..कहिले के……? बेठेगान जिन्दगी । मुखमा राम । छामछाम छुमछुम । कहिले जिउ छाम । कहिले मन छाम । कहिले खल्ती छाम । यस्तैयस्तै रहेछ उसको जीवनधाम । यस्तैमा ऊ ठान्दोरहेछ जीवनको पारिलो घाम । उसको रामनाम ।

युग नितान्त छद्मभेषी भइसकेछ । युग भन्नु मान्छे । मान्छे प्रवृत्ति । मान्छेकै प्रवृत्तिले युग बन्छ । निर्माण हुन्छ युग मान्छेकै मान्छेबाट । प्रवृत्ति असल, मान्छे असल । मान्छे असल, युग असल । मान्छेले युग बनाउँछ । युगैले मान्छे जन्माउँछ । यो युगले जन्माएको मान्छे र मान्छेले बनाएको युग जटिल छ । जटिल मान्छे । आफ्नै जटामा जेलिएको जटिल मान्छे, जटिल युग । छेउ न टुप्पोको मान्छे । टुप्पो न छेउको युग । यति जटिल छ कि भन्नै सकिन्न । जटिल भन्नु कुटिल रैछ । कुटिल मान्छे । कुटिल प्रवृत्ति । कुटिल प्रवृत्तिका मान्छे । मान्छेका कुटिलतामा बल्झिएको युग कुटिल बन्छ । मानौँ युग बल्छिएको छ मान्छेको कुटिलतामा । मानौं युग जटिलिएको छ मान्छेकै कुटिलतामा । मान्छे कुटिल भएछि युगको बाबुको के लाग्छ । अरूलाई छक्याउन चाहनेले आफू नछक्किई स्वाद चाख्छ नै कसरी ? घुमिफिरी रूम्जाटार…..। उखान चरितार्थ हुन्छ । अरूलाई घुमाउनेले आफैँ नघुमी पाउँछ सुख कहाँ ? नियतिको गति नियत अनुसार हुन्छ । अरूलाई घुमाउने प्रवृत्ति सुप्रवृत्ति कहाँ हुन सक्दो हो । दुस्प्रवृत्तिले प्रदूषण पैदा गर्छ । अरूलाई फनफनाउने प्रवृत्ति दुस्प्रवृत्ति । युग सदाउने प्रवृत्ति दुस्प्रवृत्ति । वर्तमानको इतिवृत्ति । यसको भागेदार हामी । अछूत को मात्र र ? हामी हौँ एक प्रवृत्ति……! युगलाई स्वणिर्म बिहान दिने प्रवृत्ति । युगैलाई रछान बनाउने नि प्रवृत्ति । प्रवृत्तिको मान्छे र मान्छेको प्रवृत्तिमा बल्छिएको….., बल्झिएको युग । कुत्सित प्रवृत्तिका कीटनाशक उपचारको चहारीमा रूमलिएको मेरो युग ।

लाग्न थालिरहेछ कि म नि कीटाणु । अनुवंशीय कीटाणु प्रदूषणको । श्वास-प्रश्वासमा पेटारिँदै हावामा, वातावरणमा मिसिन पुग्दो अदृश्य, अस्पृश्य, अनुभेद्ययन्त्र माइक्रोस्कोपिक जीवाणु हुँ झैँ भान पर्छ आफैँमा । एउटा भान भइदिन्छु मान्छेको प्रदूषित प्रवृत्तिसित । उसको दुस्प्रवृत्तिको प्रदूषणकारी कीटाणु छ्यापछ्याप्तिन्छ ममा । प्रदूषित भइन्छ । ‘सिंहको जगल्टो तान्ने भ्यागुतोलाई फाँसी’ चढाउने ऐतिहासिक, सांस्कृतिक, उत्तरआधुनिक निर्बन्ध निबन्धमा कृष्णचन्द्रसिंह प्रधानका जीवित निबन्धकारले भोग्नुपरेका भोगाइहरूझैँ । कुरोको चुरो यस्तै छ । भक्तपुरको स्वर्णद्वारभित्र तुलजाभवानीको मूलचोक । मूलचोकसित गाँसिएको अनेक चोकहरूमध्येको एक चोक-भैरवचोक । भैरवचोकको पूर्व मोहडाका झ्यालमा कुँदिएका काष्ठकारिगारी-सिंहको जगल्टो भ्यागुताले तानेको मूर्ति सादृश बन्छ । प्रधानका विम्बात्मक व्याख्याता निबन्ध रच्छन्-निर्बन्ध । काष्ठकारिगरी राजा भूपतिन्द्र मल्लका भोगाई सूचक-सिंहको जगल्टो भ्यागुतोले तानेको दृश्य विम्बचित्र । भनुँ चित्रमय कलाकृति विम्ब । अनाम, अज्ञात भूपतिन्द्र मल्लकालीन अभिलेख बन्छ बिना अक्षर!मात्र कलाकृतिमा । फस्न पुग्छ प्रधानको निर्बन्ध निबन्धकार । कत्रो हाहाकार…..। जनकपुरे दुर्गानन्दझा फाँसीको बलिबेदीमा चढाइनु तारतम्य उसैबेला । निर्बन्ध निबन्ध रचाई र प्रकाशन नि त्यहीबेला । समयको तकाजा । टकाशेर खाजा….! टकाशेर भाजा……! स्पष्टीकरण भागी बन्छ कृष्णचन्द्रको सिंह प्रधान । ऐतिहासिक-सांस्कृतिक कलाकृतिका विश्लेषणका एउटा कालिक, कालीन इतिवृत्ति ।

ऐतिहासिक-सांस्कृतिक भन्न पुगेँछु । किन ऐतिहासिक ? यस निमित्त कि त्यसले एक युगको इतिहास बोक्छ!बक्छ । बिना अक्षरको अभिलेख । मौन भाका हाल्छ । भाका सुन्ने कान हुन्न । भाका बोल्ने स्वर हुन्न । मात्र हेर्ने आँखा हुन्छन् । देख्ने आँखा भइदिन्नन् । निर्बन्ध आँखा चाहिँदारैछन् अन्तरध्यान रहेका विम्बात्मक कारिगरीका मर्म देख्न, बुझ्न । उनका आँखा टाँसिन पुगे । रचे निर्बन्ध निबन्ध । तर बँचे कहाँ र ? निर्बन्ध निबन्धका सुझबुझहरू । भूपतिन्द्र सौतेनी आमा अनि सौतेनी लालीमैजू-महारानीका फन्दामा फाँसिन पठाई । नाबालक घनाजङ्गलका परिवेशमा शिल्पकारको माया र ममतामा अनुप्राणित, अनुपोषित भई बाँच्छ । बालक मल्ल जयजितामित्र सुपुत्र गद्दी आषिण हुन्छ । सम्भवतः त्यो ऐतिहासिक काष्ठकारिगरी भूपतिन्द्रका आफ्नै कलाकारिता थिए । नियाल्नु छ त्यसमा कुँदिएका लिपिबद्ध अक्षरहरू । अक्षरहरू अक्षुष्ण, अक्षय दस्तावेज बोल्छन्, बक्छन्, मौन भाकामा । मात्र अक्षरलाई वाणी दिनुपर्छ वाणीका मुखरन हामी नै ।

कला, साहित्य, इतिहासले बक्न नसकेको बक फुटाउँछ । इतिहास कोरा तिथिमिति, नाम र घटनाक्रमको प्रमाण उतार्छ । कला-साहित्य भावनात्मक संवेगका संवेदनालाई कला, कारिगरी, सीप, सञ्चेतनाका खोप र कुँदाइद्वारा मूर्तमान आकृति बनाउँछ । साहित्यिक सिर्जना मनका सञ्चेतना सञ्जाललाई अक्षर, चिहृन र कलमका माध्यमबाट कागजमा मूर्तरूप दिन्छ । आखिर कलाकार मान्छे नै हुन् । आखिर साहित्य पनि त मानिस नै हुन् । कलाकार मानिस कलाका माध्यमबाट आफ्ना मनोगत संवेग र सञ्चेतना कलामा उतार्छन् । संवेदना बोकेका सञ्चेतनाहरू कलामा जीवन्तता जिउँछन् । जीवन्तता बोकेका जीवनकला कालजयी बन्छन् रहन्छन् । भूपतिन्द्र मल्लको त्यो कारिगरी अझै पनि जीवन्त स्वास-प्रश्वास फुक्छ । तिनै कलाकृतिलाई कृष्णचन्द्रसिंह प्रधानको ‘सिंहको जगल्टो तान्ने भ्यागुतोलाई फाँसी’ निबन्ध-निर्बन्ध रचना बन्नपुग्छ । तब त लाग्न थाल्छ मनमा-स्रष्टा सञ्चेतनामय सीपमा सधैँ सधैँ निर्बन्ध निर्बन्धै रहन्छ । मलाई निर्बन्ध निबन्धकारिता मनपर्छ । निर्बन्ध निबन्धकारितामा बाँचूबाँचू लागेको लाग्यै छ । निर्बन्ध निबन्धले इतिहासलाई ऐतिहासिकतामा चुल्याउँछ । इतिहासले बक्न चुकेका तथ्यलाई सत्यसावित्याइदिन्छ । इतिहासले चुकेका तथ्यलाई साहित्यले सीपवान संरचनाद्वारा मूर्तमान पारिदिन्छ । कलाले आकृतिमा रूपान्तरण गरेर इतिहासमा दबेका रूपहरूलाई स्वरूपमा उतारिदिन्छ । कला इतिहासले दबाइएका दवनहरूलाई कारिगरिताद्वारा श्रवण गराउँछ । कारिगरीका श्रवण सुन्नसक्ने कानहरू चाहिएकै छन् मलाई ।

निर्बन्ध निबन्ध अवलोकन गर्दै त हुनुहुन्छ । होइन र ? पक्कै हुनुहुन्छ । भन्नुस् आफैँ कि इतिहास निर्बन्ध कि सञ्चेतना निर्बन्ध । इतिहास सञ्चेतनालाई थिचिरहेका हुन्छन्, रहन्छन् । सञ्चेतना इतिहासलाई भन्दा निर्बन्धतालाई प्रश्रय दिन्छ, दिइरहन्छ । सञ्चेतना निर्बन्धता रूचाउँछ । सञ्चेतनाका प्वाँख हुन्छ । प्वाँख र पखेटा उडान भर्छ । सञ्चेतना, त्यसैले, उन्मुक्त उडान भर्छ । उन्मुक्ति चेतनाको प्राण बन्छ । आत्मा बन्छ । विवेक ब्रहृम बन्छ । सञ्चेतना पिछलग्गु रहन्न, रहनै सक्दैन । विवेक दबेको घडीमा मात्र हो, दबावका अङ्कुश अङ्कुसिन सक्छ । दबावको अङ्कुश अङ्कुस्याउनेहरू विवेकको खेती गर्न चाहन्नन् । विवेकका विरोधी मात्र ब्रहृमत्यागी फकीर हुन्छन्, बन्छन् । फकीर फकीर नै बन्छन्, रहन्छन् र हुन् त्यस्तै पनि । फकीर दिगम्बर बन्न सक्लान् तर दिग चहारिरहेका नहुन नि सक्छन् । दिगचहार्नुको पर्याय आफ्नो गोरुको बाह्रैटक्का कुल्र्याइ छुन सक्छ नै कहाँ ? आफैँसित प्रश्न तेर्साउँछु । समाधान खोज्छु । निर्बन्ध लम्किरहेकै हुन्छु । निर्बन्धताका लम्काई आफैँसित हुन्छन् । अन्तरचेतलाई सञ्चेतना मानेर निर्बन्ध अस्तित्वलाई चुक्क चुम्बन लाऊँ, निर्बन्धताको मोह यस्तै ठान्छु । नठानूँ नै किन र ? आफैँसित साउति गर्छु । आफ्नै जिज्ञाशा र आफ्नै प्रश्न । आफ्नै समाधान । सबै आफ्नै । आफ्नै वरपर । आफ्नै भित्र । आफ्नै सेरोफेरो । निर्बन्धता आफ्नैआफ्नो । सेरोफेरो आफ्नैआफ्नो । जीवन निर्बन्धता । निर्बन्ध जीवन आफ्नो । जीवन निर्बन्ध मीठो । राम्रो निर्बन्ध सबै सबैको ।

असांस्कृतिक केही नि रहन्न । सबै सांस्कृतिक । जीवन नै संस्कृति । रूप संस्कृति । सोच संस्कृति । सोचअनुसारको गराई संस्कृति । गराई त व्यवहार नै । व्यवहार बोलाई । व्यवहार लवाई, खवाई । गहना, लहना, धारणा सबैसबै गराई । संस्कृति लोकाचार । लोकाचार संस्कृति । कृषि संस्कृति । बन्द संस्कृति । व्यापार संस्कृति । विज्ञान कहाँ अछूत छ र संस्कृतिबाट ? अब त झन् विज्ञान संस्कृति । संस्कृति विज्ञान । वैज्ञानिक संस्कृति । सबै मूर्त संस्कृति । पारदर्शिता मूर्त संस्कृति । दर्शन अझै अमूर्त रहन सक्छ । बिना विश्लेषणको दर्शन अमूर्त रहन्छ । बिना प्रयोगको विज्ञान नि अमूर्त रहन सक्छ । यो संसार मूर्तमा अमूर्त र अमूर्तता मूर्त पनि । जान्यो, बुझ्यो सबै अमूर्त मूर्त । जानेन, बुझेन सबै मूर्त पनि अमूर्त । भूपतिन्द्र मल्लका जीवनकथा बुझ्यो, सिंहको जगल्टा तान्ने भ्यागुतोको काठको मूर्ति बुझ्यो । कुनै नि कला फोकटिया हुन्न । इतिहारकार जहाँ सत्यलाई तथ्यगत अक्षर र शब्दहरूमा विश्लेषण गर्न चुक्छ!त्यहाँ कलाकार आफ्नो कारिगरितामा इतिहासलाई विम्बबोधक बनाउन सक्षम बन्छ । विम्ब विश्लेषण मेरो कलालेखनको मर्म बन्छ । बनाई रहँरहँु लाग्छ नि । विम्ब विश्लेषण युग विश्लेषण बन्छ । युग विम्बहरूमा प्रतिविम्बित रहन्छ । युग विम्बहरूमा अवतरण गर्छ । विम्बहरूमा युग अवतरित हुन्छ । युग र विम्बहरू अन्तरसापेक्ष रहन्छ । विम्ब बोधबाट युगबोधिज्ञान फुल्छ । युगबोध गर्न विम्बबोध वाञ्छनीय हुन्छ । मात्र वाञ्छनीय होइन, बरू आधारभूत तìवज्ञान नै साबितिन्छ । हामी जे छौँ युग ज्ञानी छौँ हामी जे रहौँ! युग ज्ञानमा रहौँ । हामी जे बाचौँ युगबोधि ज्ञान बाँचौँ । जीवन युगबोधि ज्ञानपुञ्ज बनून्, रहून् ! साहित्य, सङ्गीत, नृत्य, कला, संस्कृति सबै युग हुन् । युगकै समकालीन भाषा, साहित्य, सङ्गीत, कला, नृत्य, संस्कृति सिर्जिन्छ । समकालीन संरचनामा साहित्य मात्र होइन, यावत संस्कृतिका यावत परिसन्दर्भहरू युग सापेक्ष रहन्छन् ।

युग सापेक्ष नबनी समकालीन संरचना सम्भव हुन सक्दैन । समकालीन साहित्य भन्नु युगसापेक्ष संचेतनाको थुङ्गो हो । आज पछिको थुङ्गो भोलिको सुवासको महक बन्छ । उत्तरआधुनिक चाहनाको चासो बन्छ । आधुनिकको उत्तरवर्ती चासो, सरोकार, सन्दर्भ सबैसबै नै उत्तरआधुनिक मर्म बन्छ, बन्नसक्छ । त्यहाँ हामीलाई हाम्रै हामीले फड्को मार्न सघाएको हुन्छ । आफूसित आफ्नै आफूले चित्त बुझाइरहेको हुन्न त्यहाँ । चित्त बुझाउन नसक्नु एक असन्तोष मात्र बन्नेछैन । एक अत्तरगामी चासो रहनेछ । हामी चासो नै चासोको फड्को मारेर यहाँ आइपुगेका छौँ । यस्तो चासोदारी सरोकारले युग जन्माउँदोरहेछ । युगको उत्तरवर्ती सीमाका सीमा यसरी नै चिचिलिएर चुलिनेरहेछ । लाग्छ कठै, चिचिला हुँ म । आजका प्रवर्तनमा नौलोपनले च्याउन थाल्दा नव दुलहीले आँचले बर्को लुसुक्क खोलेझैँ, उघारेझैँ, उत्ताउलिएझैँ लाग्नु परम्परा अनुरूपको सोचाई कसरी नबनून् ? तर युग बदलिएको छ । प्रभाव सर्वव्यापी छ । नयाँ सूचना सञ्जालका संरचनाले छोइछिटो नलाइको कुनाकाप्चा भेटिन्न । देवकोटालाई बोझिलो मान्ने उनका समकालीन पाठकचेत बढी बुझून् उनलाई । अर्थ्याउँछन् नि युगसापेक्षित बुझाईमा । देवकोटा चेतहरू युगसितै तन्नेरिन्छन्, तन्नेरिरहन्छन् पनि । देवकोटाको चेलो मैले, उनलाई दुर्बोध मान्नेहरूका सोचाईहरूले नेटो काटिसके । देवकोटालाई पाठन गर्ने नवयुगका तन्नेरी पाठक विद्यालय, महाविद्यालय, विश्वविद्यालय, अनि पुस्तकालयहरूले नयाँपुस्तालाई म्वाइलाउन खोज्दा देवकोटालाई बु्झ्नेका जमात चाक्लिएर बाक्लिरहेको ठम्याइँ उपहार गर्न नचाहुँ नै किन र ? सिंहको जगल्टो तान्ने भ्यागुतोलाई फाँसी चढाउने कृष्णचन्द्रसिंह प्रधानका मुखरनहरूका वाणी युगयुगौँ मुखरित रहन्छन् ।

निकाछेँ, सूर्यविनायक मार्ग
सिपाडोल-१, भक्तपुर

(स्रोत : मधुपर्क २०६८ पुस)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.