~यकिना अगाध~
युद्धको समय थियो
कमरेड
युद्धको परेडमा लामबद्ध थियो ।
मेरै गाउँ भएर
विजयको यात्रा उँभो लागेको थियो ।
मेरा बाबाको
चिरापरेको नाङगो पैताला देखेर
आफ्नो खुट्टामा रहेको मनपरेको एकजोर चप्पल
कमरेडले उपहार दियो ।
मेरी आमाको
कोरले ठुटिएको खुट्टाको पिल्सिएको घाउदेखेर
अप्ठ्यारा बाटामा पहिरिनको लागि लुकाएर बोकेको
एकजोर गोल्डस्टार जुत्ता
कमरेडले कन्ज्युस्याँइ नगरी आमालाई लगाई दियो ।
स्कूलको झोला भिर्नु पर्ने
मेरो काँधमा नाम्लो भिरेको देखेर
भविष्यको रातो तारा भन्दै मलाई बन्दुक थमाई दियो ।
हामी कम्युनिष्ट भयौं
हामीले खोजेका सपना पनि त्यही थियो
त्यहीदिन देखि त हो
पशुबाट
गाउँघरका सामन्तहरुको अगाडि हामी मान्छे बनेको ।
युद्ध सत्तासम्झौतामा टुङ्गियो
कमरेड
कमरेडबाट बादशाहमा परिणत भयो
हिजो हाम्रै पोशाकमा
हाम्रै घरदैलोमा
हाम्रै पदचापमा पैदैलै हिडेर आएको उ
आज बादशाहको पोशाकमा
बाहशाहकै शानशौकातमा
बादाहकै पदचापमा घोडा चढेर आयो
मेरा बाबाको विश्वासलाई
मेरी आमाको समर्पणलाई
मेरो त्याग र बलिदानलाई
आफू दौड जित्ने राजमार्ग बनाएर गयो ।
सामन्तहरुले जस्तै हामीलाई
कमरेडले
साम्यवादको सपना बोक्ने दास बनायो
गधालाई जस्तै उसको ईच्छाको भारी लादेर
पिठ्युमा कम्युनिष्ट लाठीको कोर्रा बर्सायो
र उसको बहुमतको थुप्रो पुर्याउन
भोटको लादी छेर्न लगायो ।
यसरी चुकाइरहेका छन्
गाउँघरले
युद्धको बेलाको कमरेडको
पुरानो जुत्ता चप्पल जगेर्नाको मूल्य ।
पुस्तौंनी विश्वासी देवीदेउतालाई छाडेर
माक्र्सलाई पूज्ने मेरी बा आमा
भन्दैछन् हामीलाई आजभोली
भो नानी हो
यी कमरेडको भर नपरौं
हिडौं बरु खोजेर नयाँ बाटो
जहाँबाट हिंड्दा पुग्नेछ माक्र्सले देखाएको सही बाटो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )