कथा : अभिनय

~जीतबहादुर कटुवाल~

संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । कला त्यसमा पनि अभिनय कला उसको रुचि क्षेत्र र रमाउने क्षेत्र हो । कुनै पहुँच र प्रभाव नभएका राजदेवलाई अलिकति नाम र बिहानबेलुकाको अलिकति छाक टार्न मुस्किलले भए पनि नुनतेलका लागि दाम दिएको छ, यही क्षेत्रले । कलामा उनी आफूलाई यसरी समर्पित गरेका छन् जसरी मृगशावकले अरण्यको तृणभूमिलाई हृदयदेखिनै आत्मीय ठान्छ ।

उनको सपनामा अभिनय छ ,विपनामा अभिनय छ । खाना खाँदा होसकी चियाको चुसकी पिउँदा ऊ आफूले बोल्ने संवादमा डुबुल्की मारिरहेका हुन्छन् । आज उनकै जीवनको एउटा महत्वपूर्ण अवसर छ । प्रसिद्ध नाटककारको चर्चित नाटकमा उसले अभिनय गर्नेछन् । उनी मीठो कल्पना गर्छन् आज उनको अभिनयको नाटक हेर्न शहरमा खचाखच मानिस आउनेछन् । उनको जीवन्त अभिनयले दर्शकको मन जित्नेछ । सबैले उसको मुक्तकण्ठले प्रशंसा गर्नेछन् ।

त्यसपछि राजदेव लोकप्रिय अभिनेतामा परिणत हुनेछन् । रङमञ्चमा उनको भाउ बढनेछ । उसले चलचित्रमा पनि अवसर पाउनेछ । अनि त गरिवीले गाँजेको उनको परिवारको मझेरीमा उमङ्गको झलमल्ल घाम लाग्नेछ । उफ यो सुखद क्षणको कल्पनाले ऊ भावविभोर बन्छ । वास्तवमा उनले कला र अभिनयको क्षेत्रमा आउन निकै कठिन सङ्घर्ष गर्न परेको कुरा झलभली सम्झन्छन् । जसरी अँध्यारो र कष्टप्रद रात पछि उज्वल दिन आँउछ ,त्यसैगरी उनी आफ्नो जीवनमा पनि उज्यालो दिनको थालनी भएको अनुभूति गर्दछन् ।

उनी आफनो बाल्यकाल सम्झन्छन् । बिहानबेलुकाको छाक टार्न मुस्किल उनका बुवाले उनलाई कति रहरले विद्यालयमा भर्ना गरिदिएका थिए । भुक्लुक्क परेको भोटे कुकुरको छाउरो जस्तै देख्दैमा सबैले माया गरुँगरुँ लाग्ने थिए उनी । पढाइलेखाइमा मझौला थिए । विद्यालयको जन्मजयन्तिका दिन विद्याको महत्व शीर्षकको लघु नाटिकामा उनले सानो अभिनय गरेका थिए । यो अभिनय उनले कला र अभिनयको मर्म जानेर गरेको थिएन । केवल शिक्षकले यसको आकर्षक बाल चेहरा देखेर उसलाई कलाकारमा छनोट गरेका थिए । त्यसपछि सबैले उनको त्यो अभिनय मनपराएका थिए । राजदेवलाई शिक्षकले त भविश्यमा असल र सफल कलाकार बन्न भविश्यवाणी समेत गरेका थिए । त्यो कुरा आज सत्य साबित हुन लागेको देखेर आफैमा उनी मख्ख थिए । खुसीले उनको मन माछापुच्छ्रेको चुचुरो भन्दा उचाइमा रमाइरहेको थियो ।

त्यसपछि गाऊँघरमा दशैतिहार तिजमा आयोजना हुने प्रहसन र नाटक तथा विद्यालयका वार्षिक उत्सवका कार्यक्रममामा उनी बरोबर उभिनयमा देखा पर्न थाले । उनलाई आफनो पढाइमा भन्दा ज्यादा शोख अभिनयमा राख्दथ्यो । छोराले पढाइलाई कम महत्व दिएको देखेर राजदेवका बाबुले कति पटक त गाली समेत गरेका थिए । राजदेवले एसएलसी परीक्षा उतीर्ण गरे । तर उनलाई पढाइ भन्दा बढी चिन्ता कला र अभिनयकै थियो । ऊ कलामै डुबेको थियो । कलामै रमाएको थियो र अभिनयकै सपना देख्दथ्यो । सहरमा कलेज पढन गएको राजदेवले पढाइभन्दा ज्यादा अभिनय खोजे । निकै सङ्घर्ष गरे । आखिर सामान्य कलाकारका रूपमा स्थापित भयो । बाबुले किताब किन्न पठाएका पैसाले अभिनय सम्बन्धी पुस्तक किने । खाजा खाने पैसा बचाएर नाटक र सिनेमा हेर्थे । उनको सिनेमा हेराइ अरूकोभन्दा फरक हुन्थ्यो । उनी विभिन्न पात्रका अभिनय कलामा ध्यान दिन्थ्यो र कमजोरी र सबल पक्ष पहिचान गर्थे । अनि आफनो अभिनयमा सुधार गर्न कोसिस गर्थे ।

सहरको कुनामा एउटा साँघुरो कोठामा उनको डेरा थियो । त्यहीँ कोठामा भान्सा र सुत्ने पलङ थियो । सामान कम थिए । झट्ट हेर्दा प्लास्टिक डालीमा केही दाना आलु र दुईचार खुर्सानी प्राय टुट्दैनथे । छेवैको ससानो टेबुलमा केही किताव र कापी असरलल छरिरहेका हुन्थे । भित्तामा ठोकिएका काँटीमा केही जोर लुगा झुण्डिएका हुन्थे । उसको यही सानो घरसंसारले उसको बारेमा निकै कुरा बताउँथे । कोठामा आउँदा जाँदा बाटोमा एक युवतीसँग आँखा जुधेको थाहा पाए । उनले आफ्ना आँखालाई संयमित बनायो । तर युवतीका आँखामा देखिएको प्रणयको निशानाबाट बच्न सकेनन् । उनको मन उनको नियन्त्रणमा थिएन । उनीहरूबीच केही समय प्रेमको लुकामारी चलिरह्यो । अन्ततः उनकै अभिनयलाई हेरेर उनीसँग प्रेम गर्ने त्यो केटीसितको विवाह बन्धनमा बाँधिन पुग्यो ।

समयक्रमसँगै राजदेव दुई सन्तानको बावु समेत भैसकेको थियो । पहिलेको जस्तो उनी उक्लै थिएनन् । जिम्मेवारकिो बोझले थिचेको थिए । दायित्वको थुन्सेले छोपेको थियो । उनका आवश्यकता पनि बढे । कलामा आफनो जीवन समर्पण गरे पनि उसको आर्थिक अवस्था भने उति राम्रो थिएन । तैपनि माया गर्ने फरासिली पत्नी र माया लाग्दा छोराछोरीका बीचमा उनी खुसी थियो । धनभन्दा ठूलो मन हो भन्ने मन्त्रमा विश्वास गरेर सन्तुष्ट थिए ।

बिहान कोठाबाट हिडने बेलामा उनलाई पत्नीले भनेकी थिइन् । “सानो छोरोलाई ज्वरो आइरेहको छ । हिजोदेखि पानी पट्टी गर्दा पनि बिसेक भएन । बेलुका चाँडै फर्कनुस है । ”

उनले सम्झिए , “ अलिकति भएको पैसा हिजै चामल र तेल किन्दा सकियो । छोरालाई औषधी गर्न कोसित सापट लिनेहोला ? ”

अहिलेको समयमा दायाँबायाँ मन दौडाएर उसलाई भएकै छैन । उनको एक सूत्रीय लक्ष्य नै आजको नाटक हो । जसले उसको जीवनमा ठूलो अवसरको ढोका खोलिदिन्छ । उनी आफूले बोल्नु पर्ने संवादलाई सम्झिदै साइकलको पाउदानी छिटोछिटो चलाउँदै नाट्यशालामा पुगे । निर्धारित समयमा नाटक प्रदर्शन सुरु भयो । दर्शक दीर्घा भरि थियो दर्शकले । राजदेवले त्यस नाटकमा धनाढ्य तर सबैलाई सहयोग र्ने उदार हृदयको पात्रको अभिनय गरे । उनको चरित्र गुरुप्रसाद मैनालीको कर्तव्य कथाका गङ्गाधर जस्तै दीन दुखी अशक्तको सेवा गर्ने सहयोग गर्ने थियो । उनलाई सम्पत्तिको पर्वाह छैन । अर्कालाई उपकार गर्ने ध्याउन्न छ । तीनतले बिल्डिङको माथिल्लो तलामा बसेर आफ्ना कारिन्दालाई बताइरहेको हुन्छ “ मेरा गाउँघरमा कसैको छोरीको विवाह नरोकियोस् , कसैको काज क्रिया नरोकियोस् ,कसैको छोराछोरीको औषधि उपचारको अभावमा अकालमा ज्यान नजाओस् । ” एक्काइसौं सताब्दीमा पनि कति उदार दिल , सबैतिर स्वार्थ र लोभले घेरेको संसारमा पनि यस्ता मान्छे त मान्छे होइनन, देवता हुन साक्षात देवता ।

नाटक समाप्त भयो । सबैले राजदेवको अभिनय र धारावाहिक संवादको तारिफ गर्न लागे । मानवतावादी भावना प्रस्तुत गर्ने यो नाटकका यिनी मुखपात्र समेत थिए । अहा ! यो नाटकले अहिलेको समाजमा कति धेरेै सकारात्मक सन्देश दिन्छ । उनलाई आफैं पनि राम्रो गरेको अनुभव भयो ।

उनी नाटकको अभिनयको समीक्षा सहकर्मी साथीसँग गरिरहेका थिए । त्यतिकैमा मोवाइलमा घन्टी बज्न थाल्यो । किप्याड वाला नोकियो सेट गोजीबाट झिकेर रिसिभ बटन थिचे । पत्नीको आवाज उनको कानमा पर्यो, छिट्टैघर आउनु छोराको ज्वरो अधिक बढ्यो । अस्पताल लैजानु पर्छ । राजदेवलाई माघको चिसोचिसो मौसममा पनि चिट्चिट पसिना आयो । गोजीमा छामे । केवल पचास रुपैयाको एउटा नोटमात्र थियो । बिहान हिडने बेलामा भनेका पत्नीका नरम तर करुण वाक्य सम्झिन्ए । त्यसपछि उनी उनको साथी राजु नजिकै पुगेर निन्याउरो मुख लगाएर भने् “मेरो छोरो सिकिस्त बिरामी भयो रे मलाई अलिकति पैसा सापटी दिनुस् न औषधी उपचार गर्न । ” अघि नाटकमा अभिनय गर्दा छोरीको विवाहमा पैसा नभएर विवाह रोकिन लाग्दा राजदेवसित सापटी लिने राजु मुसुक्क हाँस्दै आफूसित पैसा नभएको जवाफ दिए । राजदेवलाई समस्त ब्रह्माण्ड फन्फनी घुमेझै लाग्यो । के गर्ने होला ,कोसँग माग्ने होला ? दिमागले ठम्याउन सकेन । त्यसपछि अभिनय र वास्तविक जीवन बीचमा हुने भिन्नता महसुस गर्‍यो । यहीँ विरोधाभाषलाई मनका पत्रमा केलाउँदा उनलाई आफनो अभिनय कलाप्रति वितृष्णा लागेर आयो । राजदेव छिटाछिटो साइकल चलाउदै घरतिर लागे ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.