~कृष्ण बाउसे~
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा
र अर्कातिर
सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो कानमा पर्छ
एकातिर
मनै रमाउने चराको चिरबिर
र अर्कातिर
अनुरागीलाई पनि
वैरागी बनाउने
घरघरमा घन्काइएको
क्रन्दनको गीत ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
भर्खरै चरनतिर लागेका
वस्तुले छाडेको तातो श्वास
र अर्कातिर
आत्मघातको बारुद बोकेर हिँडिरहेको
आफ्नै चिसो लाश ।
तब म यो सोच्दै अवाक् बन्छु-
कसरी गर्ने मैले
अब मान्छेको रूपमा आफ्नो परिभाषा !
पानी, पतङ्ग र चेतना नभएका प्राणीका ढकहरूमा
तौलँदै
मान्छेको रूपमा
आफ्नै
विक्षिप्तता !
(स्रोत : मधुपर्क २०६६ मंसिर)