~बसन्त चौधरी~
नयाँ वर्ष आएको छ
लट्पट्याउँदै पुराना सम्झनालाई
के गरूँ म
आफ्नो शुभकामनालाई
जुन तिम्रोलागि साँची राखेको छु
तिमीलाई शुभकामना छ
तिम्रालागि जीवन,
एउटा बैंसालु सपना बनोस्
कल-कल बग्ने एउटा,
खोला बनोस्
तिमीलाई मात्रै हैन,
शुभकामना ती आँखालाई,
जुन अब
कुनै अरू दृश्य हेरेर रमाउँछन्
शुभकामना,
तिम्रा ती स्नेहिल पाखुरालाई,
जुन अब अँगालो बनेर
अरू नै कुनै
खुसीयालीलाई सजाउँछन्
ओठहरूलाई पनि छ शुभकामना,
जहाँ मैले छापेको माया
अब पुछिएझैँ लाग्छ
जसरी मलाई मेरो हरेक सपना
चारैतिर लुछिएझैं लाग्छ
म देवता होइन,
लाख गल्ती गर्न सक्छु
तर किन हो,
चाहेर पनि यो मनले
तिमीलाई बिर्सिने गल्ती
कहिल्यै गर्न सकेन
आफूलाई गहिरो चोट दिएर पनि हेरेँ मैले,
तर कुनै पनि चोटले
मेरो मुटु भित्र बसेको तिम्रो मूर्तीलाई
फोर्न सकेन
तिमीलाई शुभकामना दिँदा
यही फरक देख्छु म
नयाँ वर्षले छोएर
अरूलाई त प्यास दिन्छ, तृप्त दिन्छ,
मुटुमा हरियाली उमार्छ,
तर,
मलाई भने नछोएरै
केवल तिम्रो तिर्सनाको पोखरीमा,
कहिले डुबाउँछ, कहिले उतार्छ
अनि,
वसन्तको जिन्दगीलाई
पीडैपिडाले रेटिदिन्छ
मैले आफ्नो मुटुभित्र कोरेको,
तिम्रो चित्र,
अदृश्य हातले मेटिदिन्छ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)