~राजेन्द्र तारकिणी~
समयले एउटा पात खसाल्यो !
(कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?)
पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले
र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो
अर्को नयाँ तेजिलो रङ्गको अनुहार
उसले लामो हात तानेर टिप्यो क्षितिजबाट
र, च्यातिएको ठाउँमा मिलाएर सजाइदियो !
अखण्डित समयलाई खण्डखण्डमा गिन्ती गरेर
मान्छेले अनगिन्ती क्यालेण्डर नर्कमा मिल्काएको छ
क्राइस्टलाई क्रुसमा टाँगेजसरी
उसले भर्खरै नयाँ क्यालेण्डर भित्तामा टाँगेको छ,
नयाँ सङ्कल्प छातीको भित्रपट्टि टाँगेको छ,
एक फरक रङ्गको सपना ममजत्रो गिदीभित्र खाँदेर
पृथ्वीजस्तै स्टीम–डेक्चीभित्र राखिदिएको छ ।
रातरातभरि स्खलित भइरहने
सूर्यको तात्तातो वीर्य बोकेर
समय सधैँ गर्भवती भइरहन्छ
भूगोलजस्तो न खगोलजस्तो पाठेघरभित्रबाट
जबरजस्ती धकेलिरहन्छ एकएक नयाँ बिहान !
(मान्छे लीला हेरेर उत्सव मनाउने प्राणीभित्र पर्दछ)
लीला खेल्दाखेल्दै समय
कहिलेकाहिँ सहभागी भइदिन्छ मान्छेको उत्सवमा
रगतकै रङ्गका प्याला पिएर ऊ नाच्न थाल्छ, झुम्न थाल्छ
महामहिम राष्ट्रपतिहरूको रात्रीभोजजस्तो उत्सवबाट
समय फकिर्कहँदा
सभ्यता सधैँ ट्राफिक जाममा फसिसकेको हुन्छ ।
कैयौँ क्यालेण्डरहरूको मृत्यु भइसकेको छ
कैयौँ सभ्यताहरू जाममा फसिसकेका छन्
तर, पृथ्वीबाट रित्तिएका छैनन्– वीर्यहरू,
धकेलिसकिएका छैनन्– बिहानहरू,
झरिसकेका छैनन्– पातहरू समयको रूखबाट ।
फित्कौली डट कम मा प्रकाशित
– न्वादेउ- ६, बैतडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )