कविता : सलामः नयाँ वर्षलाई !

~शिवप्रसाद गौतम~

सदावहार पुलकित भएर
आफ्नैपन र शानमा
आफ्नै कर्मपथमा
निरन्तर यात्रा गरिरहने
समय सृष्टि हो
र कर्मवीरहरूको कृति हो
समयलाई ढाँटछल गर्नेहरू
कति उठे, कति लडे !
आखिर समय सत्य छ
र समान छ सबको
जालझेल र छलकपट गर्दैन
कसैको चम्चे र झोले बन्दैन
कसैको हनुमान बनेर बस्दैन
यसैले उसलाई
कसैले रोक्न र छेक्न सक्तैन
समय सत्य र महान् छ
असत्य र पथभ्रष्ट त
मान्छे पो रहेछ
यसैले मान्छेबाट
मान्छे दुःखीरहेको छ
छेपारोको आवरणमा मान्छे
झूठको खेती गरिरहेछ
विधिको शासनमा
टिक्न नसक्नेहरू
निहित स्वार्थको लागि
दण्डहीनता र अराजकताको
वषर्ा गराइरहेछ
यसैले त हो
सहकार्य सहमति र एकताका
आलीहरू आपसमा भत्किरहेछ
सबैको अपरिहार्य ‘शान्ति र आस्थाहरू’
अलपत्र र निरीह बनिरहेछ
तसर्थ नयाँवर्ष, तिमी आउँदा
लुटिएका, खोसिएका र च्यातिएका
आस्था, विश्वास र खुसीहरूलाई
मूर्तरूपदिन पोल्टाभरि
स्वाधिनता, स्वाभिमान
र इमानदारिता बोकेर
कर्मवादीहरूको
सुखद जिजीविषा बनेर आउन
अनि आउनु तिमी
मानवतामाथि धावा बोल्ने
असत्तीहरूलाई तह लगाउनु
अक्ष्म्यताका साथ आउँनु
सलाम नयाँ वर्षलाई !

(स्रोत : मधुपर्क २०६७ वैशाख)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.