~भरत खत्री~
सडकका पेटीहरुमा मेरा दिन गुज्रिदै छन्
फोहोरका मल्खादमा मेरो भोजन खोजिदै छ
बाच्ने आसा, तिम्रो जति छ मेरो पनि त्यति नै छ
कस्तो हो यो विडम्बना, कस्तो हो यो नियति
म रुदा पाखे रोयो रे, मेरो लास लास भयो रे
तिमी रुदा पिर पर्यो रे, तिम्रो लास पार्थी शरीर रे
मेरो हिडाइ पागलको रे, तिम्रो हिडाइ भलादमीको रे
किन यति धेरै भेदभाव, किन यति धेरै अन्तर
मैले जिउने हक छैन यहाँ
मेरो लागि संसार बनेको हैन
हाम्रो धरातल एउटै हैन
हामी एउटै हैनौ
म मान्छु तिमी भात खान्छौ
म खसेका भातका सीता खान्छु
म मान्छु तिमी चिसोमा हिटर बाल्छौ
म प्रिय धर्तीको छातीमा चिसो खपेर बस्छु
थोरै धेरै कुरामा फरक भए पनि
तिमी र म मा के फरक पाउछौ
पाउदैनौ किनकी तिमी पनि मान्छे हौं
मैले स्वास फेर्छु तिमिले पनि
मेरो शरीरमा रगत बग्छ तिम्रोमा पनि
त्यसो भए किन यति धेरै भेदभाव गर्छौं
किन यति धेरै स्वार्थी बन्छौ आखिर किन
मलाई सघाउ म तिमीलाई सघाउछु
तिमी अघि बढ, संगै मलाई अघि बढाउ
(नोट-अशक्त रोगि, प्यासी , एकल व्यक्ति प्रती सद्भावना देखाइ मानवीय गुण कायम राखौं।)
भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )