कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~Raju Syangtan_1

उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु ।

गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययुगीन गुफा जस्तो कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरु, कार्पेटको टुक्राटुक्रि, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, खैनीका घिनलाग्दा थुकहरु, फ्याँकिएका कपिहरु । बस् यी नै थिए कोठाको सौन्दर्य । भारी मन लिएर सफा गर्न थाले । छेउमा एउटा पुरानो कापी, झ्यालबाट फुत्किएर आएको हावासँगै फरफराई रहेको थियो । अगाडि पछाडिको भाग जलेको थियो। मुस्किलले ‘काठमाण्डु’ भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो । जिज्ञाशा लाग्यो । सफा गर्न छोडेर पढ्न थालें ।

चिठीमा यस्तो लेखिएको थियोः

काठमाण्डु ! तिमीसँग मित्रता गाँसेको पनि आज १० वर्ष पुगिसकेछ । १० वटा उराठिला हिउँदहरु तिम्रो चौतारीमा विताएँ मैले । यो १ दशक तिमीसँग मैले कुनै ठूलो अपेक्षा राखिनँ । न त गरेँ कुनै कुकर्म नै । बस् तिमीले घचेँडी रह्यौ म हिडीँरहेँ । यस्तो लाग्थ्यो तिम्रो र मेरो सम्बन्ध नङ र मासुको जस्तो । माछा र पानीको जस्तो । एक अर्काको परिपुरक हामी । तिमी छौ र त म छु, म छु र त तिमी छौ । एक अर्का बिना अधुरो हामी ।

यस्तै सोंचेर १० वटा वर्षाहरु तिम्रो छहारीमा विताएँ मैले । जव तिमी फोहरको डङ्गुरले घिनाउँदै रुन्थ्यौ । म भोको पेट रातदिन तिमीलाई पसिनाले नुहाई दिन्थेँ । जब तिमी विजुली, ग्यास, पेट्रोलको हाहाकारले चिच्याउँथ्यौ । म एक मुठी सातु खाएर अध्यारो मै निदाउँथे र कामना गर्थें तिम्रो भागमा उन्ज्यालो परोस् । तिमी अव्यवस्था, अस्थिरता, कुशासनबाट क्षत विक्षत भएर सिमा पारी भाग्थ्यौ । म जनआन्दोलन, जनयुद्ध भएर सागर झैं उर्रिन्थेँ र तिमीलाई माथी माथी उकाल्थेँ ।

तिमीे स्वप्नको दुनियाँमा नयाँ-नयाँ अपाटमेन्ट र कोलनीहरु चाहार्दै हिड्थ्यौ । म पसिना बनेर तिम्रो पैतलामा पोखिन आईपुग्थेँ । तिम्रो पजेरो गुड्ने चौबाटाहरु भत्किएर खाडलहरुमा डलरको थैलीहरु तैरिन्थे । म हत्केला भरी स्वाभिमान बोकेर तिमी हिड्ने बाटोहरुमा नुनिलो आँशु बगाउँथे । तर खै त काठमाण्डु ? तिमी र म एकै भएको ?

दुई नदीको किनार जस्तो, तिमी सधैं ऐश्वर्यको ईन्द्र नगरमा सुनको थालीमा ज्यूनार गर्छौ र म सधैं अभावले चिथोरिएको एक जोडी नाङ्गो पैतला घिसार्दै हिडीरहेको छु । मैले बनाएको अग्लो-अग्लो टावरहरुमा गणतन्त्रको नाराहरु लेखिए । समानताका नाराहरु लेखिए । मेरो आँशु पोखिएर बनेको दियोमा शान्तिको पानसहरु जलायौ तिमीले । तर खै त काठमाण्डु ? फेरिएन मेरो निधारमा लेखिएको अभागीको मैलो दाग ।

अस्ति खुल्ला मञ्चमा एक जनाले भाषण गरेको सुनें भन्दै थियो ‘नेपाल गणतान्त्रिक मुलुक हो । यहाँ सबै बराबरी हुनुपर्छ । जसले पसिना बगाएर मेहनत गर्छ उसैको घरमा पहिला दुईछाक मिठो मसिनो पाक्नुपर्छ । अनि मात्र साँचो गणतन्त्र नेपाल हुन्छ । आउँनुस् गरिव दुःखी जनताहरु मेरो पार्टीको झण्डामूनि गोलबन्द हुनुस् । गाँस, बास, कपास ज्ञारेन्टी हुन्छ ।’

म भोली पल्ट बिहानै त्यही पार्टीको कार्यालय पुगेँ । गेटबाटै मान्छेहरु लाईन लागेका थिए । मैले सोधेँ। एउटाले उत्तर दियो, ‘कतार जाने भए लाईन बस्’ । क्षण भरमै गणतन्त्रको रंगिन सपना सिसा झैं फुट्यो ।
के यहि हो काठमाण्डु नयाँ नेपाल भनेको ?

सुन, अर्को पनि कथा भन्छु म । सात वर्ष अघि तिमीले मलाई एउटा मोटरसाइकल किस्तावन्दीमा दियौ । तर मैले अहिलेसम्म पनि त्यो किस्तावन्दी तिरीसकेको छैन । मोटरसाईकल परारसाल कवाडीमा बेचिसकेँ । आज मेरो प्रत्येक मिनेटको पसिना किस्तावन्दीमा विक्रि भईरहेको छ । पसिनासँगै मेरो सपना, मेरो भविष्य सबैसबै किस्तावन्दीमा परेको छ । भन काठमाण्डु के यही हो नयाँ नेपाल ?

अव, “म” के गरुँ भन काठमाण्डु ? तिनै फोहरी मान्छेहरुसँगै फिरौती माग्दै बालक अपहरण गर्न थालुँ ? या जन्म दिने देशलाई चटक्कै माया मारेर विदेश पलायन हुनु ? तर, मेरो त पासपोर्ट बन्दैन । मेरो नागरिकता छैन । यो कस्तो जिन्दगी दियौ मेरो देश ।

यो देश मेरो पनि हो । तर, खै देशले मलाई आफ्नो भनेको काठमाण्डु ? तिमीलाई फुर्सद छैन होला । तर तिमीले मेरो गन्थन सुन्नै पर्छ । आज तिमीलाई सिंगार्ने प्रत्येक गरिबहरु पलायन हुँदै गयो भने तिमीलाई कस्ले बनाउँछ काठमाण्डु ? तर, तिमी त राजनीति गर्दैमा ब्यस्त छौ । कस्ले सम्बोधन गर्छ “म” जस्ताको भत्किएको जीन्दगीलाई ?

काठमाण्डु आज “म” तिमीसँग पहिलो र अन्तिम पटक मेरो कथा भन्दैछु । फुर्सद छ भने सुन छैन भने नसुन । म गाउँमा विशिष्ट श्रेणीमा एसएलसी पास गरेर ठुलो मान्छे बन्ने सपना सजाएर काठमाण्डु आएँ । राजमार्ग छेउमा दाउरा बेचेर मेरी एक्ली आमाले यो भन्दा धेरै पढाउँन सक्ने अवस्था पनि थिएन । मैले जागिर खाएर आमाको अभावका दिनहरु कम गर्नु थियो । अचानक आमालाई बिमारले च्याप्यो ।

राजमार्ग छेउको सम्पूर्ण सम्पति बचेर आमाको उपचार गरेँ, तर आमाको रोग २० को १९ भएन । वीर अस्पतालको आइसियुमा आमा, जीवन मृत्युको दोसाँदमा छट्पटाउँदै हुनुहुन्थ्यो । तीन लाख खोज्दै म सडक सडक भौतारिएँ । नेता देखी मन्त्रीसम्म,व्यापारीदेखि उद्योगपतिसम्म आमाको प्राण बचाउन जीवनको भीख माग्दै हिँडे । तर, काठ्माण्डु मैले केहि पनि पाईन । सडकको किनारमा आमाको फोटो राखेर भीख माग्न थालेँ । दिन प्रतिदिन आमा सिकिस्त बन्दै जानुभयो । तर मैले तिन लाख पुर्रयाउन सकिन । अन्तमा सहरको नराम्रो मान्छेहरुसँग संगत भयो । चोरें, डकैती गरेँ । फिरौतीको काम गरेँ । तर पनि काठमाण्डु, म धेरै ढिला भईसकेको थिएँ ।

अन्ततः आमाले मलाई एक्लै छोडेर जानु भयो । मेरो कहानी आमासँगै सुरु भयो, आमासँगै सकियो । म को हुँ ? कसको छोरा हुँ ? अब कुनै चिनारी छैन मसँग । काठमाण्डु अरुपनि सुन्छौं ? अहँ भो तिमीसँग सुन्ने कान छैन । हेर्ने आँखा छैन । अनुभव गर्ने मानवता छैन । ममता, मानवता त उहिल्यै उहिल्यै जंगबहादुरको पालामा पोलेर खाईसक्यौ तिमीले ।

भोली बिहान कोठाभाडा दिईन भने घरबेटीले के गर्छ ? त्यो मलाई मात्र थाहा छ । मैनबत्ति सकिन लाग्यो । कुनै उपाए आएको छैन । यो मैनबत्तीसँगै सकिन पाए पनि हुन्थ्यो । काठमाण्डु , म तिमीसँग बस्दिन अव । भनि देउ यी सारा शहरका अग्ला–अग्ला घरहरुलाई, ‘तिमीलाई बनाउने मान्छे एक पेट खान नपाएर चोभार डाँडा काटेर गयो’ भनेर । तर उनिहरुले सुन्ने छैनन् । उनीहरु त…।

त्यस पछिका अक्षरहरु चुरोटको ठुटासँगै जलेको थियो । मन छट्पटिन थाल्यो । त्यो अपरिचित मान्छे को होला ? कहाँ गयो होला ? कोठाको कुना कुना उसको नाम, मोबाईल नम्बर, ठेगाना खोज्न थालेँ। घरबेटीलाई सोधें । ‘एक हप्ता अघि उ त्यो झ्याल फोरेर भाग्यो’ ।

म स्तब्ध भएँ । यस्तो पनि जिन्दगी हुन्छ ? काठमाण्डौंमा ठूलो मान्छे बनेर यो देशको नाम उँचो राख्ने सपना बोकेको एउटा गरिब कहाँ गयो होला ? संक्रमणकालको जाँतोमा भविष्य पिसेर यो काठमाण्डौंदेखि हारेको एउटा टुहुरो कहाँ गयो होला ? संघर्षको विभिन्न ढोकाहरु ढक्ढक्याउने प्रयत्न गर्न बिर्सिएर त्यो अपरिचित अन्जान मान्छे कहाँ गयो होला ?
म थाकेर भुँईमा बसें । आफ्नै समस्याका चाँङहरु वरिपरि घुम्न थाल्यो । कागजको टुक्राहरुमा मेरा आफ्नै समस्याका अनगिन्ती प्रश्नहरु देख्न थालेँ । त्यो अन्जानको प्रतिबिम्ब चुरोटको ठुटाहरुमा देख्न थालेँ । एकाएक त्यो अपरिचित मान्छे कोठाको कुनामा बसेर मलाई जिस्क्याईरहे झैं लाग्यो । उ भन्दै थियो ‘म काचँको सिसा फोरेर भागेँ। तर तिमी आयौ ? सुन, यो काठमाण्डु धुर्त, जाली, फटाहा धनीहरुका लागि मात्रै हो’ यहाँ मानवता कौडीको भाउमा बिक्री हुन्छ । यहाँ स्वाभिमान टुंडिखेलमा झुन्डिएर मरिरेहेको छ । यहाँ स्वार्थ पाखण्ड, ढोङीहरु मात्र बाँच्न सक्छन् । न्याय, स्वतन्त्रता, समानता, प्रेम, स्नेह, सबै सबै उहिल्यै जंग बहादुरको पालामा मरिसक्यो ।’

उ मेरो अगाडी ठिङ्ग उभिएर बोलीरह्यो । उ हेर्दा हेर्दै म जस्तै देखिन थाल्यो । म आत्तिएँ । जिउ सिरिङग भयो ।

मोबाईलको घण्टी बज्यो । म त एकोहोरो टोलाएर बसेछु । फोनले झस्कायो । फोन उठाएर फेरि कोठा सफा गर्न थालेँ ।
आज म जहाँ जहाँ पुग्छु, जुन जुन भिड र गल्लिहरुमा पुग्छु, तिनै अपरिचित मान्छेलाई खोजीरहेको हुन्छु ।

(स्रोत : नबसाहित्य डट ओआरजी)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.