कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~

रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर
बिगन राम बिहानै पुलमाथि सरेको छ
कठ्यांग्रिएका औंला ठोक्किएर
मादलको खरी रुन्चे भएको छ !
(मानौं, मादलभित्र छ भोकैभोकको ताल
खस्रा हातको चड्कनसँगै
घिन्ताङ-ताङ… रोइरहन्छ)

जान्दैन ऊ-
साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस
ऊ त जान्दछ- भोक
भोक दर्शाउन भोको मादल पिट्छ
उसको कण्ठबाट देश आर्तनाद बनेर घन्कन्छ…
सपनाका चल्ला कोरल्ने भनिएको उसको दाह्रीमा
तुषारो ओइरिन थालेदेखि
देशभित्र सपनाहरू मरिरहेछन्
उसका चिथरा फाट्दै गएर निरन्तर
देश नांगो भइरहेछ ।

उसका नयनभरि मडारिएको अँध्यारोमा
देश घुलेको छ
उसको जिन्दगीजस्तै
मैलिएर बिस्तारै रंगहीन भइरहेछ देश ।
घामका हातहरूको न्यानो स्पर्शसँगै
ऊ आकाशे पुलमाथि बेपत्तासँग मादल ठोक्छ
घिन्ताङ-ताङ… उसको अस्तित्व रन्किन्छ
युगयुगको व्यथा छल्किन्छ ।

(नजिकै छ सिंहदरबार
तर त्यसको कानमा बज्दैन मादल)

उसलाई सुनेर नसुनेझैं/देखेर नदेखेझैं
हिँडिरहेका ओ मनुष्यगण !
नठान्नू-
देश चन्द्रशमशेरको सिंहदरबारमा मस्ताराम छ
ठान्नू-
देश त कर्णालीको नुनमा घुलिरहेछ
देश त बिगन रामको मादलमा दुखिरहेछ
सुस्तादेखि कालापानी खुनमा दुखिरहेछ…
हेर यही आकाशे पुल
जहाँ,
विगन रामको देश छ
उसको प्रतिविम्ब देश छ !

जिन्दगीको भाँडो बज्न छोड्यो जब
र, मानवहृदयबाट सिक्काहरू तप्किन छोडे भने
ऊ विलुप्त हुनेछ एकाएक
छाया हराउनेछ पुलको सुन्तले भित्तोबाट…
उसको छाया हराएको दिन
नठान्नू-
गरिबी हरायो देशबाट
ठान्नू-
एउटा देश कठ्यांग्रिएर मर्‍यो !

उसको छाया/देशको छाया
उसको कथाव्यथा/देशको कथाव्यथा
जो आदिम कालदेखि छचल्किरहेछ रानीपोखरीमा
पारिपट्टिबाट
घन्टाघरले देखिरहेछ यो सब
र, बेलाबेला अलर्ट गरिरहेछ
किनभने उसको हालत झन् खराब भइरहेछ !

(सधैं रत्नपार्कछेउको आकाशे पुलमा मादल बजाइरहेका भेटिने दृष्टिविहीन बिगन राम(हरू)प्रति समर्पित)

(स्रोत : अन्नपूर्ण पाेष्ट ‘फुर्सद’ मा मिति २०७३ पुष २३ गते शनिबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.