कविता : सक्तिन म बुद्ध बन्न

~डा. संगीता स्वेच्छा~

म बुद्ध जन्मेको देशमा जन्मेको मान्छे
बुद्ध हुर्केको देशमा हुर्केको मान्छे
सबैले यही पढाए
सबैले यही सिकाए
शान्तिको पथमा हिंड्नुपर्छ भनेर
कि म बुद्ध झैं ज्ञानी बन्नुपर्छ भनेर ।

जब बामे सर्दै ताते ताते गर्न थाले
त्यही बेलादेखि सुन्दै आएँ
त्यहीबेला देखि घोक्दै आएँ
‘अहिंसा परमो धर्म
परमसुखम् अहो धर्म’ ।
तर विडम्बना !
राम्ररी हिंड्न र बोल्न जान्दादेखि नै
प्लास्टिकको रार्इफल र खेलौने बन्दुकसंग
मित्रता गाँस्दै आएँ,
अनि
बन्दुक मेरो साथी र खुशी भएर रहन थाल्यो
शान्तिको पथमा हिंड्न सिकाउनेहरूको माझमा
सानोतिनो गल्तीसंगै मुछिएर
गाली र लात्ती खान पुगें
विद्रोही मन रोयो, चिच्यायो
थुप्रै रगतपच्छे दाजुभार्इका लाशहरू छटपटार्इरहेको देखेर
तोते बोली बोल्नेले अब यथार्थ जानिसकेको छ
मुखमा रामराम र बगलीमा छुरा राख्नेको संगतले
यी हातहरूले प्लास्टिकका बन्दूक होइनन्
सक्कली गोली र बारूद खोज्दैछन्
त्यसैले
विषात्त छाइसकेको वातावरणमा
अन्यायको दोसल्ला ओढेर नबाँच्ने प्रणका साथ
म अब हतियार उठाउँदै छुँ
सक्दिन अब म बुद्ध बन्न ।

– डा. संगीता स्वेच्छा
‘ललिता’ – दित्तिय राष्ट्रिय कविता महोत्सवमा छानिएका कविताहरूको संगालोमा प्रकाशित

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.