~बिपिन शर्मा~
मेरा स्वर्णीम सपनाहरु,
मेरा रंगिन कल्पनाहरु,
भत्किएर, टुटेर, फुटेर
मेरो बाटो भरि छरिएका छन्।
म कसरी भनुँ कि तिमीले
मेरो जीवनको गोरेटोमा
काँचका टुक्राहरु छरिदियौ
र, किन भनौं कि तिमी
मेरो ह्रदयमा काँडा बनि बिझिदियौ।
यो त वश,
नियतिको परिणति थियो,
तक्दिरले खेलेको दुराशय युक्त खेल थियो,
मेरो भाग्य बगाइ लग्ने बेमौषमको एक भेल थियो।
आफ्ना रक्तिम पाइलाका छापहरु
पछाडि फर्कि हेर्ने मृत सहास बोकि
म निरन्तर पछ्याउँदै
एउटा मिठो भ्रम लाई,
निराशामा निसास्सिएकि निशालाई
उल्लासपूर्ण उषाको झुठो आशाले थुम्थुम्याई,
म पर्खदै छु रातको अन्तिम प्रहरलाई,
म पर्खदैछु अँध्यारोको चरम सीमालाई,
म पर्खदैछु एउटा स्वाभाविक अन्त्यलाई ।।
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)