~दीपक सिञ्जाली~
एकदिन
उसले मूर्ति बनायो
सग्लो मूर्तिले उसैलाई
औंला ठड्याइरहेको थियो
त्यो खबरदारी उसलाई चित्त परेन
छिनो लिएर मूर्ति सच्याउन थाल्यो ।
अग्लो कद काटेर केही होँचो बनायो
लाम्चो अनुहार ताछेर गोलो बनायो
आँखाका परेलाहरु छोपिदिएर चिम्सा बनायो
लामो नाक काटेर थेप्चो बनायो
पातला ओँठहरुलाई बाक्लो बनायो
दुब्लो जीउलाई केही जोरजाम गरेर
मोटो घाटो बनायो
पाखुरा पुष्ट र छोटा बनायो
छाती चौडा र उच्च बनायो
तीघ्रा डोलो बनायो
पैताला केही फुकाएर
फराकिलो बनायो
अर्कोदिन
उसले मूर्ति सच्याएर सकायो ।
अझै उसलाई केही नपुगेझैं भयो
उसले एउटा नाल बनायो
दाप बनायो, ट्रिगर बनायो
र मूर्तिको काँधमा राखिदियो ।
त्यो मूर्तिलाई उसले
भान्सामा राख्यो
ओछ्यानमा राख्यो
पुजाकोठामा राख्यो
लिस्नोमा राख्यो
आँगनमा राख्यो
अँह काही सुहाउँदैन ।
अन्त्यमा संघारमा राखेर
ढोका लगायो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)