निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~

कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । बुझी नसक्नु । रूपान्तरण-परिवर्तन । रूपान्तरणकै क्रममा परिवर्तन भेटिन्छ । कहिले खुट्टामा म, मेरोमा खुट्टा कहिले । खुट्टामा हिँड्ने उसित ऊ हिँडिरहन्छ खुट्टासितै । उसको खुट्टा हो या ऊ खुट्टाको । खुट्टासित हिँड्दा ऊ खुट्टाकै भइन्छ । खुट्टालाई हिँडाउँदा खुट्टा उसको भइदिन्छ । खुट्टाको अस्तित्वमा ऊ? या उसको अस्तित्वमा खुट्टा ? यत्ति सरल सन्दर्भ तरलतरल बगिदिन्छ । ठाउँअनुसारको हिँडाइ उसको । हुन्छ हिँडाइअनुसारकै गोरेटो निर्माण तर खै मेरो गोरेटो ? हिँड्दै पाइला मेटिन्छ, जहाँ जसको गोरेटो बन्छ नै कसरी उसको ? नमेटिने पाइलाका हिँडाइ हिँडेकाहरू गोरेटोका निर्माता बने । ईश्वर ब्रहृम, इशा, बुद्ध, महम्मद, नानक अनि महावीरले धर्म हिँडाइका रेखा कोरे । व्यास अरस्तु, शुकरात, गान्धीले दर्शनका हिँडाइ हिँडे । हिँडाइका व्यास हजारौँहजार वर्षहरूका प्यास मेटाउँछन् । बुद्धका हिँडाइहरू बुद्धत्वका विवेक ब्रहृम फुलाउँछन् । बराहमिहिर, कपरनिकस र ग्यालिलियोहरू अन्तरीक्ष ज्ञानका हिँडाइ हिँड्छन् । आइन्सटाइनहरू भौतिक विज्ञानका विश्लेषण भर्छन् हिँडाइहरूमा । नमेटिने पाइलाका हिँडाइहरू उनको विरोध र अन्तरद्वन्द्वका हिँडाइले कहाँ, कता नमेटिने हिँडाइ हिँड्न सके ? नाम निशाना जसको मेटिएका मेटियै छन् । खाली हिँड्नुकै मात्र हिँडाइ हिँडिए जहाँ, कसरी सम्भव त्यहाँ निर्माण गोरेटोको ?

हिँड्नु त पर्छ नै । नहिँडी हिँडाइ कहाँ हुन्छ ? हिँडाइ जीवन र पर्यन्तको । हिँडाइ हिँड्नु नै मात्रको के हिँड्नु । हिँड्नु पर्यन्तताको । जीवनभरिको हिँडाइको । शेषपछि पनि निशेष नबन्नुको । हिँडाइ अनिशेष बन्नुको समानान्तर बन्छ- अवशेष बन्नुको । अवशेषका हिँडाइहरू हिँड्ने चाहना साझा । चाहना तर कामनाका रूपक बनोइनन् । चाहना र कामना एकसाथ घोल्न कर्मठताका रासायनिक प्रक्रिया जुट्नुपर्ने हुन्छ कर्मठताका एक खुट्टा बेठेकानका । अर्को खुट्टा साहसिला निरन्तरताका निरन्तरता दृढसङ्कल्पका गति । सङ्कल्पित गति प्रयोगशील जीवन । प्रयोगशील जीवन विज्ञानको प्रयोगशाला । दर्शनसहितको ज्ञान विज्ञानमा फुल्छ । ज्ञानले प्रयोगमा प्रयुक्त हुन पाउँदा विज्ञान पलाउँछ । विज्ञान प्रयोगमा टुसाएर पलाएको मूर्तरूप बनेको छ । दर्शन अमूर्तताकै उदाहरण बने विज्ञान दर्शनकै मूर्त व्यवहार बन्नेछन् । दर्शन विज्ञानका अमूर्त आत्मा रहे विज्ञान दर्शनको मूर्त रूप । विज्ञानका सिद्धान्त सूत्र सबै वेदवाक्य बनेका छन् । वेदवाक्यहरू सूत्रबद्ध छन् । सूत्रबद्धता सिद्धान्तका मन्त्र बन्छन् । ऋचाहरू उच्चारण गरौँ सूत्रबद्ध पढिन्छ । तपाईं, हामी वैज्ञानिक सिद्धान्तभित्र वेदवाक्य पढ्छौँ । मानौँ सिद्धान्तमा वेदतन्त्र मुखरित भइदिन्छ । मानौँ वैज्ञानिक सूत्रहरू सिद्धान्तकौमुदी हुन् । सोच्दासोच्दै भन्न मन लागिदिन्छ । भन्दाभन्दै आफैँसित आफूलाई यस्तैयस्तो लिपिबद्ध गर्ने प्रेरणा भर्छु । आत्मप्रेरणामा आत्मविभोर भइन्दा, लेखकीय प्रवृत्तिले आस्थावान् बन्न सुमसुम्याइरहन्छ । खुट्टामा उभिएर खुट्टा भइदिँदाका मनका हिँडाइ यस्तै पाइला भइदिन्छन् ।

युग रूपान्तरणका खुट्टामा उभिन्छन् । खुट्टाहरू युगबोधी हिँडाइ हिँड्छन् । सबै खुट्टाहरू युगबोधका हिँडाइ हिँड्ने मन्तव्य राख्लान । परन्तु, सबै हिँडाइका मन्तव्य भएझैँ गन्तव्य कहाँ निर्धारित बन्लान् ? इतिहास साक्षी बन्छ । इतिहासलाई परिहासमा फट्फटाउन नदिए अध्ययनको आधारशिला बन्छ । हिँड्ने खुट्टाका काम इतिहास कुल्चिनुमा भन्दा इतिहास निर्माणका पाइलामा उन्मुख बन्नु पर्दो हो । इतिहास प्रवर्तनकारी र मुखी रहन्छ, कुल्चाइमुखी हुन्न । निर्माणका पाइला प्रवर्तनकारी खुट्टामा मात्र चालिन्छन्, हिँडिन्छन् । तैपनि हिँडाइका लागि पाइला चाहिएकै हुन्छन् । चालिने पाइलाहरूका लागि हिँड्ने खुट्टाहरू चाहिएकै हुन्छन् । हिँड्ने खुट्टाका पाइलाहरू नयाँ गोरेटा निर्माणमुखी बन्छन् । निर्माणको गर्भमा प्रवर्तनका भ्रूण सलबलाइरहन्छ । निर्माणले प्रवर्तनको प्रारूप खिच्न सिके इतिहास प्रवर्तनकारी बन्छ । प्रवर्तनकारी खुट्टाका चाल सिर्जनामुखी रहन्छन् । युगले सिर्जना जपेको जप्यै छ । जप विनिर्माणको । विनिर्माण युगको । युग मनुष्यìवको । मनुष्य प्राणी मात्रको । प्राणी मात्र पृथ्वीको, पृथ्वी ब्रहृमको । ब्रहृम विवेकको । विवेक ब्रहृमाण्डको । ब्रहृमाण्ड विचरणको । विचरण विज्ञानको विज्ञान प्रयोजनशील ज्ञानको प्रयोगमुखी परीक्षणको । प्रयोगमुखी परीक्षण प्राणी मात्रको कल्याणको । प्राणी मात्र पृथ्वीका मह बताउँछन् वेद । उही वेदमध्येका यजुर्वेद पृथ्वीलाई नै प्राणी मात्रका महका चाका मान्छन् । मलाई यसो खुट्टाको हिँडाइ मनपर्छ कि म दिग्भ्रमित नहोऊँ । चाहना छ- जीवन हिँड्ने गोरेटोको दोबाटो नरहोस् ।

खुट्टा हुन् हिँडिरहुन् । हिँडिरहनुमा खुट्टा बाँच्छ । खुट्टाको यौवनमा हिँडाइ बाँच्छ । मलाई यौवनको खट्टाभन्दा खुट्टाको यौवन चाहिन्छ । यौवनको खुट्टाले मादकता भनर्ेे चेष्टा जगाउला । खुट्टाका यौवनले सार्थकता । जीवन मादकता मात्र सीमित नरहुन् । जीवन सार्थकतामा तरङ्गी रहुन् । तरङ्ग गुणात्मक प्रभाव उत्पन्नकारी रहुन् । गुणात्मक प्रभाव उत्पन्नकारी तरङ्ग हामी सबै सबैका हिँडाइहरूमा हिँडिरहुन् । बाँच्नुको ज्यान जाग्ने छ । जीवनको जगत् जगमगाउने छन् । आखिर हिँडाइहरूका खुट्टा र खुट्टाभरिका हिँडाइहरूले जीवन हिँडाइ दिनुपर्छ । खुट्टाले जीवन हिँडाइ दिनुपर्छ । खुट्टाका हिँडाइरूले हामीलाई हिँडाइ दिनुपर्छ । हाम्रा खुट्टाका हिँडाइहरूले नेपाली माटोलाई उठाई दिनुपर्छ । खुट्टा त हिँडाइ पो रहेछ । हिँडाइ त गति पो रहेछ । गति जीवन्त जिन्दगानीको यात्रा पो रहेछ । म यात्राभरिको जीवन बाँच्न चाहन्छु । म यात्राभरिको खुट्टा हिँड्न चाहन्छु । न खुट्टाभरिको यात्रामा जिन्दगी जोड्ने रहर लहराउन चाहन्छु । भन्न मन लागेको पनि त्यसैले हो म कहिले खुट्टामा हुन्छु र भइदिन्छु खुट्टाहरू । भइदिन्छु कहिले उसै खुट्टाका हिँडाइहरू । हिँडाइहरू खुट्टाका । खुट्टाहरू हिँडाइका । खुट्टाहरू अनि हिँडाइहरू जीवन बोक्ने गतिहरू म हुनुका सार्थकताहरू जियाउने बाँच्नुको रहर!

भइदिन्छ त्यसैले खुट्टामा कहिले । हिँडाइमा हिँडिदिन्छु म कहिले । कहिले खुट्टा म । कहिलेको पाइला म । मै फेरि हिँडाइहरूका गति बाँचिदिन्छु । किन्तु बाँचिदिनु जीवन्त जीवन । बाँच्ने रहर सामान्य जीवन । सामान्य जीवन सार्वजनिक जीवन । सार्वजनिक जीवन सबैसबैका जीवन । सबैसबैका जीवन सरल जीवन । सरल जीवन तरल जीवन तरल जीवन बग्ने जीवन । बग्न हामीलाई अलिकति भए नि छाङ्गएिको जमिन चाहिन्छ । छाङ्गएिको जमिन सलक्क बन्छ । तरल जीवन झाङ्गएिको हुन्न । नझाङ्गनिु तरलताको स्वरूप अनि स्वनिर्मित स्वभाव । मलाई स्वनिर्मित स्वभावले अँगालेको मनपर्छ । स्वनिर्मित स्वभावको अँगालोको पर्खाइमा बाँचिरहन्छु म । मेरै खुट्टाहरूले हिँडाएको हिँडाइभरि पढेका पाठहरू बनेका छन् यी । पढिएका पाठहरू यी हिँडाइभरिका हुन् । कुरो एउटै । फरक बनाइन्छ र परिवर्तित अवस्थामा झुल्किन्छन् । पढिएका पाठहरू जे आफूभित्रबाट आफैँमा झुल्किन्छन्, अनुभूतिका चहक बन्छन् । अनुभूति अचेलका अभिव्यक्ति । अभिव्यक्तिमै आधुनिकता । अभिव्यक्तिमै उत्तरआधुनिकता । अभिव्यक्तिमै पस्काई । पस्काई नै अभिव्यक्ति । उत्तराधुनिकता पस्किरहन सक्नुको कर्मठता बन्छ । युगलाई छिचोल्दै छलाङ मार्न सकेरै आधुनिकताबाट उत्तर आधुनिक छलाङका छचल्काईहरू तरङ्गएि । आधुनिकताकै गर्भबाट वैज्ञानिक अभियन्ताहरूले ब्रहृमाण्डका सिर्जनाका रहस्य असङ्ख्य प्रोटोनहरूलाई अनन्त र दिगन्तकारी सञ्चालन प्रक्रियाका प्रविधि पछ्याउँदै हामीसामु ल्याए । असङ्ख्य, अनन्त र दिगन्तता उत्तरआधुनिकताका सङ्घार बन्छन् वा बनेका छन् । खुट्टाका हिँडाइभरिका चेत-आलोक यी मेरा । हिँडाइभरिका खुट्टाहरू र खुट्टाभरिका हिँडाइबोध मेरा तर उपहार तपाईंमा ।

खुट्टैखुट्टाका हिँडाइमा सिकिरहेँछु । असङ्ख्य असङ्ख्यले अनन्तता पाउँदारहेछन् । अनन्त अनन्तताहरूले अनन्त खुट्टाहरू पाएपछि दिगन्त चहार्छन् । दिगन्तताका खुट्टाहरू युग चहार्छन्, युग जन्माउँछन् । चाहर्दाचाहार्दै खुट्टाहरू र हिँडाइभरिका खुट्टाहरू उत्तरआधुनिकताका सङ्घारहरू सम्भवतः पराउत्तर आधुनिक युगको छैठी मनाउँदा हुन् । भविष्यवाणीहरू सङ्केत चिहृन बन्छन् । सङ्केत सम्भाव्य सम्भावनाका पूर्वानुमान मात्र हुन् । पूर्वानुमान निश्चितताका छाप बनोइनन् तर अनिश्चित निश्चितताका रेखागणित नभए पनि रेखासम्म त भइदेलान् पूर्वानुमानका पनि पूर्वानुमानहरू । कहिले खुट्टा र कहिले हिँडाइभरिका दिन गुजरान भर्दाभर्दै उत्तानिएर जब भर्न थाल्छु, यात्रा आफूभित्रको अन्तरयात्रा यी तरङ्गका अन्तरङ्गहरू तिरिङमिरिङन पुग्छु । भन्ठान्नुस् कि सबै शब्दभरिका विचार विन्यासहरू यी खुट्टाभरिका खुट्टाहरूलाई थप अरू खुट्टाका उपहार बनुन् । बनुन् उस्तै उपहार अनि हिँडाइहरूका हिँडाइलाई अरू थप हिँडाइ नै सौगात । उभिएर खुट्टामा आफैँ, हिँडिएर आफैँ हिँडाइका हिँडाइ अझै यहाँलाई अर्पन्छु । यो सौगात तपाईंलाई । मान्छेभरिका मान्छेभित्रका मानवीय संचेतना पुञ्जहरूलाई । खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टालाई !!!!

निकाछेँ, सूर्यविनायक मार्ग
सिपाडोल-१, भक्तपुर

(स्रोत : मधुपर्क २०६६ जेठ)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.