~प्रणेश पाखरिन~
अँ म देख्दैछु अहिले
तप-तप रगतको आँशु चुहाइरहेको आकाश
अनि त्यही रगत
भुईँभरी आहाल भइ
निलीरहेको भुईँको उरवरता।
दश नङ्ग्रा खियाइ
रोप्छन् किसान
भुईँको उरभरी धान
अनि फल्छ बालाभरी भुकमरी र अनिकाल।
हरेक रुखको पातहरूबाट
ह्वारह्वार्ती निस्कन्छ
ताण्डव नाँचीरहेको बतास
अनि त्यही बतासमा
बेगले उड्दा उड्दै डाँफे मुनाल
फ्यात्त झर्छ अनि पस्छ
क्यानीबल मान्छेको अजङ्ग मुखभित्र।
कुनै बगैचा जानुहोस्
भेट्नुहुन्छ फुलहरू
धारिलो हतियार लिएर उभिएको
छर्दै विषाक्त दुर्गन्ध।
उठाउनुहोस् पिउनलाई
एक अञ्जुली पानी
सलल बग्दै गरेको अँधेरी खोलाको
सत्ते त्यसले तपाईँको घाँटी चिर्नेछ।
फुस फुस झर्दै गरेको
सेतो हिउँको एक डल्ला
जब उठाउनुहुन्छ हातमा
पोल्नेछ तपाईँको हात भतभती।
फ्ल्यासब्याक
असारको एकनासे झरीमा रुझेर
गाउँदै लैबरीको भाका
रोप्थे किसान हरियो सुन
आशिरबाद बनेर बालाभरी फल्थे मेहोनत।
माथि डाँडाको बुडो रुखको सिँयालमा
शितल हावाको स्पर्शमा
झुत्तिएर गाउँथे प्रगतीको गीत
विकास,विवेक अनि आशाहरू
त्यो गीतमा भाका मिलाउँदै
सुसेल्थिन् मैना मनखाने गीत।
कतै टाडा पखेरामा फुलेको सुनखरिको सुगन्ध
मगमगाइ बस्थ्यो गाउँभरी
हरेकको मगजभरी त्राण भर्दै।
त्यही अँधेरीको पानी न हो पिउँदा
मेटिन्थ्यो जीवनको प्यास।
सेत्तामे हिमाल
सुनको जलपमा टलल टल्कँदा
रमाइ रमाइ नाँच्थे डम्फुको तालमा
ल्हापदोर्जे म्हेमे।
अहिले ल्हापदोर्जे म्हेमे हुनुहुन्न
उनको डम्फुको किलाहरूसँगै
मकिन्दै मकिन्दै
चुम्किन्दैछ धर्तीको छाला।
होसियार गर्नुहोस् ए मानव
यही छालामा बेह्रीएर
निस्सासिएर मर्ने
देख्दैछु सम्भावना तपाईँको।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )