~टंक वनेम~
आम्बेपोंजोमा
बैँस ढालेर
हेँवा खोला बग्दा ओरालै ओरालो
शिबालिक पहाडको टाकुरा पारी
वानायुज घोडाले पर्बत नाँघे झैं
आम्बेपोजोंमाको राजकुमारी संग
जून थियो मन भरी
घाम थियो आङ्भरी ।
तर
त्यो घाम
सधैको घाम भएन
त्यो जून
सधै को जून भएन
हेर्दा हेर्दै उर्लदो बैँस
गर्ल्याम्म ढल्यो
निस्सीम आकास लजायो
झ्याम्टा ठोकेर शायद
साम्बाहरु नाँचे
बतासले हल्लाएको फूल झैं
वैजयन्ती बैँस ढल्यो
पाखुरा सुर्काएर इ…हु भन्दै
खबरदारी गर्यो राजकुमारीले ।
तर बैँस
पहाड भएर उभिएन
न क्षितिजले बार हाल्यो बैँसको
जून घाम बिरानो भए
बैँसको पहाड माथि
तुसारोले रंग पोत्यो
बिचारा !
आम्बेपोंजोमाको राजकुमारी
नजुरेको साइत कुरेर
बेपर्बाह बैँसको चौतारीमा
सुसाइ रहयो एक्लै एक्लै
जोरसालको सालघारी झैं ।
त्यति खेर म
इतिहासले रङ्खाएको
रातो पहाड माथि उभिरहेको थिएँ
भन्न मन लागेको थियो
तिम्रो बैँस फर्काएर
उहिलेको युबा मेलामा
धान नाँचौं धाक फुकाएर
तिम्रो हाम्रो बूढो बैँसमा
छरौं बर्तमानका बीउहरु
गोडौ आम्बेपोजोमाको इतिहास
तिम्रो बैँस बूढो हुदैमा
इतिहासको बैँस कहाँ बूढो हुन्छ र ?
गोलो पृथ्बी घुमी रहयो
जून घाम लुकामारी गरी रहे
म त्यहि रातो पहाड माथि
ठिंग उभि रहेछु
राजकुमारीको बैँस झैं
इतिहासको बैँस पनि ढलि रहे
हेँवा खोला झैं बगी रहे
आम्बेपोंजोमा
कहिले जन्माउछौ हँ ?
नयाँ युगको भबिश्य ?
तिवाजो ओढ्ने अर्को
एउटा अजम्मरी बैँस ।
– ताप्लेजुङ् ।
Oct 29. 2007
नोट – आम्बेपोंजोमा – देबस्थल -ठाउँको नाउँ