कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~

एक दिन
कमरेड अशोक सुवेदीकी श्रीमतीले
पतिको मोबाइलबाट फोन गरिन्–
‘बेखा दाइ,
छतमा दुईवटा कोठा थप्नुप¥यो
खर्चको इस्टिमेट दिनुस् न !’
उताबाट
जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो
‘लौ ! कस्लाई गर्नुभा’को ?
म पूर्णविराम हुँ, कवि पूर्णविराम !’
उनी जिल्ल परिन्
‘हरे यो दूरसञ्चार !’

सम्झिन्,
अर्को नम्बर छ कतै पुरानो डायरीमा
खोजिन्
खोजेपछि भेटिन् पनि
सानो स्वर उताबाट आयो,
‘म मिटिङमा छु, केही थियो कि ?’
‘ठिकै छ, ठिकै छ’ तिनी मुस्कुराइन्
‘इँटाको भाउ सोध्नुथियो, त्यसैले….’
‘मसँग इँटाको भाउ ?’
फोनको स्वर चम्कियो
‘म त अनिल शर्मा हुँ,
इँटासिमेन्टको पसले ठान्नुभयो कि क्या हो ?’
तिनले हत्तपत्त रातो बटन थिचिन्
तुरुन्तै फोन आयो
उठाऊँ कि नउठाऊँ गर्दै उठाइन्
प्रश्न पोखियो
डा. ऋषिराज बरालको
पुरानो कथाको किताब खोजिदिनू भनेको थिएँ
भेट्टाउनुभयो ?’
झसङ्ग झस्किन्
अलिकति सम्हालिएर भनिन्
‘…उहाँ त होइसिन्न,
कहिलेकाहीँ मोबाइल
घरमै चार्ज गर्न छाड्नुहुन्छ ।’

छोरालाई बोलाइन्
भनिन्,
‘बाबु ! यो नम्बर हेर्–हेर्
खाली रङ नम्बरमा डायल हुन्छ’
बाक्लो चश्मा अलि तल सारेर
उसले हे¥यो,
‘ठिकै त छ
नाइन एट फोर वान
अकडम बकडम अकडम बकडम’
डायल गर्न भनिन्
बल्लबल्ल लाग्यो फोन
‘कता हुनुहुन्छ ?’
‘यतै छु’
‘माथि दुइटा कोठा थप्नु थियो
सिमेन्ट र रडको हिसाब
गरिदिनुहुन्छ कि !’
बुलन्द स्वरमा फोन गर्जियो,
‘ओ कमरेड !
प्रतापराज वन्तसँग
अब आइन्दा
नारीस्वरमा कुरा नगर्नुस् त !’

कमरेड अशोक सुवेदीकी श्रीमतीलाई भाउन्न भयो
‘उहाँ पनि
कस्तो फोन बोक्नुहुन्छ
एउटै नम्बर सही ठाउँमा जाँदैन ।’

पन्ध्रौँ म्यारिज एनिवर्सरीसम्म पनि
उनले थाहा पाइनन्
किन जाँदैन कमरेड अशोक सुवेदीको मोबाइलबाट
कुनै कन्स्ट्रक्सन कम्पनीमा फोन ?
किन उनको सही नम्बरमा सधैँ रङनम्बरमात्र डायल हुन्छ ?
र तिनले
सम्भवतः कहिल्यै थाहा पाउने पनि छैनन्
सुनचाँदी राख्नुपर्ने त्यो दराजमा
किन विवाहपूर्वकै थोत्रा पुस्तकहरू छन् ?
००

(स्रोत : “झन्डालाई डिभी पर्यो भने के हुन्छ?” कवितासंग्रहबाट सभार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.