~सदानन्द अभागी~
कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन्
ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन्
काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले गर्दा काकाकुल भएका जनता, वागमती र विष्णुमतिमा मिसिएको गन्दगीले गर्दा पवित्र स्थल र पवित्र जलको उपभोगमा कमी, देशमा रोजगारी नपाउँदा उत्पादनशील जनशक्तिको पलायन, आजको विकासको गतिले निम्त्याएको विविध क्षेत्रमा ह्रास आदिले गर्दा काठमाडौ यो देशको राजधानी भएर पनि स्वच्छ गास बास कपास दिन सकेको छैन सहरवासीलाई, तापनि थलचर, जलचर, नभचर सबै प्रकारका जीवजन्तुहरूले आफ्नो निरन्तरतालाई अगाडि बढाइरहेका छन् । यसै सहरको गोकर्णको सुन्दर वनमा एउठा ठूलो अनि खानदानी रुख, त्यसका हाँगाविङ्गामा एक जोडी जुरेलो र जुरेलीको बसोबास गर्दथे र रमण गर्दथे । तिनकी एउटी सुन्दर पुत्री थिइन् । उनी कहिले कुन डालीमा कहिले कुनडालीमा उफ्रदै नाच्र्दै गाउँदै, स्वतन्त्ररूपमा विचरण गर्दथिन् ।
सानी जुरेलीको नाम राखिएको थियो रजनी । रजनी नाम भए पनि रूपमा उनी अति सुन्दरी, रूपवती, बाहिरी रूपमा शीलवती, गोपनीयता नभएकी, अनुशासनमा नरहेकी हुँदा तिनको बारेमा वनमा निकै चर्चा उपचर्चा हुन्थ्यो । वनमा भएका युवाजुरेलाहरूले तिनको रूपमा अति मोहित भए पनि विवाह गर्न चाहँदैनथे । रजनीका बाबा आमाको नाम पनि वनभरि फैलिएको थियो । धन दौलतमा कमी थिएन । यिनले अरू जुरेलाभन्दा आफूलाई खानदानीया सम्झिन्थे । यिनको पुख्र्र्याैलीलाई केलाउँदा खानदानी नै भएको प्रमाणित हुन्थ्यो । संसारमा रहेका तथा भएका सबै प्राणीहरू आचारणभन्दा बाहिरिए भने निश्चय नै आफ्नो कर्मको फल एक दिन भोग्नै पर्दछ । यहाँ रजनीको क्रियाकलापले गर्दा वनभरीका चराहरूले उनका बुबामुमालाई देख्दा मुखामुख गर्दथे तर रजनीको आचरणको बारेमा मुख खोल्न भने सक्दैनथे ।
दिन वित्तै गए रजनीमा, यौवनताले छायो, जवानीका चिन्हहरू पलाए । भाले जुरेलातिर उनको आकर्षण बढ्न थाल्यो । रजनीका आमाबाबाले उनको लागि एउटा सुयोग्य बरको् खोजी गरे तर उनलाई सुहाउने वर प्राप्त गर्न सकेनन् । योग्य वरले उनको चरित्रमा शंका गरी उनीसँग विवाह गर्न नकारेकोे हुँदा उनलाई, चितवनको जयमङ्गला–पार्कमा पठाइयो ।
जयमङ्गलाको पार्क सानो भए पनि अति सुन्दर थियो । यो पार्कमा यस देशकामात्र नभएर विदेशका चराहरू पनि वनभोज खान आउँदा रहेछन् । रजनीले आफ्नो स्वतन्त्र इच्छ्यामा बग्ने रहर त अब झनै फराकिलो बन्यो । जता घुमे पनि जे गरे पनि कसैको रोकटोक रहेन । उसले यहाँ अमेरिका लण्डन, फ्रान्स, जापान, साइवेरिया आदि देशका चरासँग भेटगर्न र आफ्नो चाहना पोख्न पाई । एक जना टिकौलीको वनमा रमण गर्ने उसकै उमेरको यौवन मस्त जुरेलोले पनि स्वदेशी तथा विदेशी जुरेलीलाई भेटी आफ्नो मनोइच्छ्या पुरागर्न जयमङ्गला जाने आउने गथ्र्र्यो । मौकाको घडीले साइत जुरायो । छोटो समयमा यी दुवैको सम्पर्क बढ्यो । क्षणिक आवेशमा एकले अर्कोलाई मन पराए र वैवाहिक सूत्रमा वाँधिए ।
भनिन्छ आत्तिएर विवाह गर्नु पछि पछुताउनु हो । यहाँ पनि विवाहको हतार अति थियो । भन्नत भनिन्छ दुई दिनको जिन्दगी हो । जीवनको यात्रा छोटो ठाने छोटो होला, लामो ठाने लामो होला जे जसरी यसलाई मूल्याङकन गरे पनि बास्तवमा जीवनको घडीको सुई घुम्न त समय लाग्छ नै । कहाँ कि त्यो सहरमा हुर्केकी, ठूलो रुखमा जन्मेकी, मोजमस्तिमा पल्केकी, रहन सहनमा भिन्नता भएकी जुरेली, अनि चारकोसे झाडीमा उफ्रेको जुरेलो दुबैको जीवन जोडीको रसिलो जीवन केही दिन नबित्तै निबुवा निचोरेजस्तो निराशिलो हुन थाल्यो । गाउँका बूढा पाकाले भन्ने गर्थे सबै चिजमा हल मिल्नु पर्छ । पानी खान मन लागे मूल खोज्नु पर्छ । विवाह नै गर्नु छ भने कुल खोज्नु पर्छ । अन्धकारमा जून खोज्नु पर्छ । यहाँ त सबै चिज खोज्नु को अलवा दुवैले अआफ्ना बाबु आमाको खोजी पनि गरेनन् । जुरेलीमा अहम्तआ थियो, जुरेलोमा सहनशीलता थियो, उनीमा नारी चरित्रको अंश पनि थिएन । जुरेलोमा सहनशीलता थियो ।
भनिन्छ घरमा शान्ति छाउन त परिवारमा एक आगो हुँदा अर्को पानी बन्नु पर्छ । यहाँ त यो सिद्धान्त पनि फेल खायो तव पनि जे होस् यिनीहरूको चिसिदो सम्बन्धमा पनि जैविक आवश्यक्ताको आपूर्तिमा भने कुनै कमि आएन । रजनीले एकै ओथारोमा दुई सन्तानको जन्म दिइन् । अवत खाने मुख बढे । चारा खोज्दा चारा पाउन कठिन हुन थाल्यो । स्वदेशमा चारा पाउन नसकिने भए पछि विदेशको मुख ताक्न वाध्य हुनु प¥र्यो । दुवैले जन्मेका दुवै दूधे बच्चालाई आमाको साथमा छाडेर साइवेरिया जानेमा सहमति भयो । अब भने रजनीले आफ्नो जीवनसाथीलाई साइवेरीयामा लिएर जान विदेश यात्राको व्यवस्था मिलाउन थाली ।
नेपाल गए कपाल सँगै ब्रह्म गए कर्म सँगै भने जस्तै साइवेरीया जाँदैमा पसिना नवगाइकन त केही पाउन सक्ने होइन । भनिन्छ पसिना पोख्न सके यसै देशमा चरीको दूध दुहुन सकिन्छ । जुरेलो निकै मेहेनती थियो । उसको मेहनतले एनकेन दुवै जनालाई चारा जम्मा गर्न ऊ सक्षम भयो । दिन बित्तै गए जुरेलीले पुनः एक छोराको जन्म दिने काम भयो । नेपालका दुवै छोराले खाने चाराको अभावले गर्दा सुके जीवन बिताइरहेको अवस्थामा जुरेलीले त्यो बच्चालाई पुनः नेपाल ल्याएर आफू साइवेरियातिर लागिन् ।
यता तीन बचरालाई बृद्ध जुरेलो र जुरेलीलाई चाराको व्यवस्था मिलाउन नसकेर भोकले सबै तड्पिरहेका छन् । उता जुरेलीले अर्र्काे विवाह गरी अरे जुरेलो कता पुग्यो ? आजसम्म थाहा हुन सकेको छैन । बृद्ध जुरेलो र जुरेली आज छोराको लागि तड्पिरहेका छन् । बचराले आमा बाबालाई खोजिरहेका छन् । वनभरी ‘धन कमाउने चुत्थो, साँवा पनि फुत्क्यो’ को आजवाज गुञ्जिरहेको छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )