~प्रमोद धिताल~
हरेक दिन
लेखकहरु/कविहरु
पत्रकार/प्राध्यापक
चिया गफ होस् या पार्टी
आकस्मिक भलाकुसारी होस् या
सञ्चो–बिसन्चोको समय
हरेक समयमा
सोध्छन् मलाई गम्भीर भएर
‘भन्नुस् मित्र अब के हुन्छ यो देशमा ?’
मलाई जवाफ दिन मन लाग्छ
उनीहरुकै शैलीमा
के हुन बाँकी छ अब यो देशमा ?
देशघातीहरु
हरेक दिन सुनाउँछन् देशभक्तिका गीतहरु
र पुरस्कृत हुन्छन्् उच्च प्रशंसाका साथ
धर्म छाडाहरु
दिनदिनै अग्लो आसनबाट दिन्छन् त्यागका प्रवचनहरु
र पुजिन्छन् दक्षिणा, भेटी र प्रसादले
नाफाका व्यापारीहरु
सेवाको पसल थापेर कारोबार गर्छन् आँसु र संवेदनाको
र विभूषित हुन्छन् राष्ट्रिय पदकबाट ।
जनप्रतिनिधिहरु
जो जनअभिमतको लाइसेन्स बोकेर
उक्लिन्छन् शासनको कुर्सी
र जनमतलाई पिउँछन् सिनित्तै
रेड लेवलका चुस्कीहरुसँग
मित्र एउटै जवाफ छ तपाईंको सवालको
के हुन बाँकी छ यो देशमा ?
स्वाभिमानले आत्महत्या नगरेको कुनै बिहान छैन
अस्मिताहरु ज्यूँदै नगाडिएको कुनै चिहान छैन
सगरमाथाभन्दा पनि अग्ला
दुःखका पर्खालहरु साँक्षी छन्
नाइल नदीभन्दा पनि लामा
जीवनकथाहरु साँक्षी छन्
अब के हुन बाँकी छ यो देशमा ?
व्यापारको नाउँमा
मान्छेको व्यापार फलिफाप छ
देश हरेक झुल्केघामसँगै पठाउँछ लाहूर जवान सन्तानहरुलाई
नोकरीको नाउँमा चुसाउँछ मरुभूमिलाई जवानी
बदलामा भित्र्याउँछ कोशेलीस्वरुप
हरेक साँझ सन्तानका लाशहरु
आफ्नै तन्नेरी सन्तानहरुको असामयिक मृत्युको शोकमा
जुठो बार्न भुलिसकेको यो देश साँक्षी छ
के हुन बाँकी छ अब यो देशमा ?
मैले टेक्ने कुनै जमिन सुरक्षित छैन
न त सुरक्षित छ दरबारहरु उभिएको जमिन
सबभन्दा असुरक्षित छन् सपनाहरु
सबैभन्दा खतरनाक पनि सपनाहरु नै छन्
जुन दिन सपनाहरु बौलाउँछन्
थाहा छैन के हुन्छ त्यतिखेर यो देशमा ?
अब के हुन बाँकी छ यो देशमा ?
अर्थात् बिरालोलाई कोठामा थुनेर कुट्दा के हुन्छ ?
पानीलाई थुनिराख्दा के हुन्छ ?
आगोको ज्वालाजस्तै भोकसँग जिस्किदा के हुन्छ ?
के हुन बाँकी छ यो देशमा ?
०००
(स्रोत : शब्दशिखा डट कम)