कविता : आकाशको गीत

~पुरुषोत्तम ढुङ्गेल~

सालनाल सहित को घाम
जब
समुद्र मा डुबुल्की मारेर
चोखिन्छ
जब
ढलपल् ढलपल् गर्दै
सुस्त सुस्त बामे सर्दै
मेरो
एक छेउ उक्लिन्छ ,
जिन्दगीमा
पहिलो पल्ट
सिउदो भरी
सिन्दुर लगाएर
ऐना हेरिरहेकी
कलिली बेहुलिको जस्तै
मेरो पनि
अनुहारमा
खुशीको एउटा
सिन्दुरी रंग पोखिन्छ
जस्लाई
हेरेर धर्तिका मान्छेहरु
भन्छन्
लौ बिहान भयो !
विश यु अ भेरी गूड् मर्निङ !!

मेरो पछ्यौरि को
फेर समाउदै
म सँग पिरतिको
भांडा कुटी खेल्दै
हिंडेको फुच्छे घाम
मेरै आँखा
तिर्मिराउने गरी
जवान भैदिन्छ ।।।
उसको
जवानीको रापले

धप्प धप्प सल्किन्छु जस्तो लाग्छ !
उसको
शरीर को तापले
म तप्प तप्प पग्लिन्छु जस्तो लाग्छ !!
मेरो कुमारी देहलाइ
अलिकती छोएर
अलिकती चलाएर
अलिकती जलाएर
कतार हिंडेको साइँलो जस्तै
ऊ हतार हतार
पश्चिम तिर लागि हाल्छ !

हेरिरहन्छु
ऊ गएको ,

फिक्का हुँदै हुँदै गैरहेको छ …
शायद रुदै रुदै गैरहेको छ …

एयरपोर्ट मा
कतार उड्न लागेको
साइँलो ले
साइंली लाई झै ,
मलाई अंकमाल गर्दै
भन्छ घाम
“तिमीलाई मैले छोडेर आएपनी
तिमीलाई नि भेटिरहेछु
अब
म फेरी समुद्र मा डुब्नेछु
अनी टिप्ने छु अलिकती मोती ,
बेचेर त्यो मोती
किन्नेछु एक बट्टा सिन्दुर
र रंगाइदिनेछु फेरी तिम्रो सिउदो !”


गैसकेपछी
म बसिदिन्छु
धुम्धुम्ती ,
कालो पश्मिनाको सल ओढेर !
जस्लाई धर्तिका मानिसहरु
रात परेको भन्दछन्

भन्छन्
विश यु अ भेरी गुड नाइट !!

लोग्ने बिदेश हिंडेकी
तरुनी स्वास्निलाइ जस्तै
मलाई
पनि
जिस्क्याउन /ललाउन /फकाउन
अाउछन्
हातमा ब्याट्रि सकिन लागेको टर्चलाइट बोकेर
नकचरा ताराहरु ,
खुब उज्यालो अनुहार पारेर
आउछ झिल्के जुन ,
बिचरा
जत्तिसुकै नक्कल पारे पनि
अनुहारको डन्डिफोर
लुकाउन सक्दैन
र रुन्छ लुकिलुकी
जस्लाई धर्तिका मानिसहरु
शित पर्‍यो भन्छन्

म लाई
यि कसैको वास्ता छैन ,
किनकी
मलाई विश्वास छ
भोली फेरी आउनेछ
समुद्र मा सर्लक्क नुहाएर
म सँग
भांडाकुटी खेल्न
मेरो फुच्चे घाम ,
जसको
हातमा हुनेछ
एउटा स्यानो सिन्दुरको बट्टा !!
२०७५ श्रावण
@jayapur Jhapa

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.