कविता : प्रश्न

~गोपालप्रसाद रिमाल~

नेपाली तिमी यहाँ किन आयौ?
गो-रखाली हौ,
गो-रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ? नेपाली…

तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप-
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा? नेपाली…

आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै-
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ? नेपाली…

या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आर्ह्लँदा कर्म-जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा?
नेपाली…

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.