लघुकथा : योजना

~रवीन्द्र तिमसेना~

सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका छोराले पनि गैरसरकारी संस्थामा काम गरेर राम्रै दाम कमाएका थिए । ‘कार्यालयको कामले पूर्वी नेपालतिर’, ‘कार्यालयको कामले पश्चिम नेपालतिर’, ‘कार्यालयको कामले हिमाली जिल्लातिर’, ‘कार्यालयको कामले तराईका जिल्लामा’ भनेर उनले एकैनासका स्टाटस पोस्ट गरिरहन्थे ।

सानैदेखि अल्छी भएकाले ऊ आफू भने बेरोजगार थियो । त्यसो त उसले आफूले गर्न चाहेको सम्भावित व्यापारको व्यवसायिक योजना बनाउनेदेखि लोकसेवाको तयारीका लागि पुस्तक किनेर घरमा नलगेको पनि होइन । विदेश जाने भनेर भाषाको तयारी गरे पनि जाँच भने नदिई बसेको थियो । यसरी कुनै पनि प्रयासलाई निरन्तरता नदिनु उसको ठुलो कमजोरी थियो ।

आफन्तको प्रगति र चटक देखेर उसलाई भित्रभित्र औडाहा भयो र आफूले पनि केही नगरी नहुने निष्कर्ष निकाल्यो । विगतमा विभिन्न प्रयास गर्दा बेहोर्नुपरेका असफलताहरू उसको स्मृतिपटलमा आएर नाच्न थाले । उसलाई निकै नरमाइलो लाग्यो र साँच्चिकै इमानदार भएर चिन्तन गर्न लाग्यो । पैसा कमाउन र भविष्य उज्ज्वल गराउन अरूले जस्तै आफूले के गर्ने भनेर विभिन्न योजना बुन्न थाल्यो । सरकारी जागिर खाने कि प्राइभेटमै गर्ने, व्यापार गर्ने कि विदेश जाने भनेर ऊ निकै घोत्लियो । निकै बेर चलेको मानसिक अन्तद्र्वन्द्वपछि उसको मनले एक्कासि भन्यो, “भो, मैले अस्ति भर्खर स्वास्नी र छोरोसहित डी.भी. भरेको छु, पर्‍यो भने अमेरिका गइहालिन्छ, बित्थैमा यहाँ काम थालेर के गर्नु ?” उसले पुनः तत्काल केही नगर्ने निधो गर्‍यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.