~बसन्त चौधरी~
नारी,
तिम्रो कथा हो कस्तो ?
फूल-पातमा
शीत बनेर
व्यथा अल्झे जस्तो
तिमी एउटी,
शाश्वत आमा हौ,
मानव-जीवनभित्र
तिमी शक्ति, तिमी विद्या,
तिमी हौ जननी पवित्र
तिमीलाई नै बन्धनमा राख्छ
मानिस कति विचित्र
कर्म-क्षेत्रमा तिम्रो प्रेरणा
सधैँ सधैँ छ अविछिन्न
तर तिमीलाई हेर्ने यी आँखा भने
किन यति छ धेरै भिन्न
आमालाई बन्धनमा राख्छ
आँसु क्रन्दनमा राख्छ
क्रुरता जीवनमा पाल्छ
नारीप्रति यो पुरुष अहम्
जति सक्यो बर्बरता माग्छ
फूल झैँ कोमल छ जो
त्यसलाई काँडाले विघ्र गर्यो
मान्छेले आफ्नो प्रगति पथ
आफैले अवघ्र गर्यो
सहनु सह्यौ तिमीले नारी अब
गहन निन्द्राबाट जाग्नु छ
आफ्नो सारा मुक्ति आफैले
खोस्ने शैलीमा माग्नु छ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)