~यकिना अगाध~
आमा भन्नुहुन्थ्यो
आईमाई आकाश हुन्
बाबु !
आकाशलाई कहिल्यै थुक्नु हुन्न
आफ्नै मुखमा छिटिन्छ ।
आकाश
सबैभन्दा
स्वच्छ, निर्मल र सुन्दर हुन्छ ।
जब
तिनै आकाश रिसाउँछ
मडारिनेछ
कालो बादल
चम्किनेछ
चमचम बिजुली
गर्जिनेछ मेघ
र बजार्नेछ एकाएक चट्याङ ।
आमा भन्नुहुन्थ्यो
पृथ्वी आईमाईको पाठेघर हो
यो हिमाल
यो पहाड यो मधेश
तिमीले देख्यौं नि !
घुर्रघर्र नाचीरहेको परेवा
मुनाल र डाँफे
चखेवा जोडी
क्रुद्ध गिद्ध र बाघ
बिरही न्याउली
रौसे कोइली
त्यो लालीगुराँस
सयपत्री, मखमली
त्यो हरियाली जंगल बन बुट्यान
आईमाई रिसाएको दिन
अहँ
यी केही पनि बाँकी हुने छैनन्
छङछङ झर्ने झरना
सलल बग्ने नदी
या छलाङ मार्ने समुन्द्र
हो बाबु !
केही पनि बाँकी हुने छैनन्
आईमाई रिसाएको दिन
चट्याङ नै चट्याङ बर्सेको दिन
केवल
कालापत्थरमा परिणत हुनेछ पृथ्वी
जसरी मरुभूमी बनेका छन् अरु ग्रह ।
आमा भन्नुहुन्थ्यो
आईमाईलाई कहिल्यै हेप्नु हुन्न बाबु
तर यो समाज
खै किन हो कुन्नी ?
सधै आईमाईलाई हेपी रहन्छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )