समीक्षा : लोकतान्त्रिक आन्दोलनमा पोखरेली श्रष्टा

~रुपिन्द्र प्रभावी ‘कटु’~

जनतालाई मुसा नसम्झ जनता त बाघ हो
जनशक्तिको अगाडि शाहीशक्ति मुलाको साग हो
पटक –पटक अब हामी सधैं आन्दोलन चाहँदैनौं
हाम्रो आन्दोलन सीधै गणतन्त्रको माग हो । (दीपक समीप)

विश्वका हरेक परिवर्तनका पछाडि त्यहाँको साहित्य,संगीत,सस्कृतिको अह्म भूमिका रहन्छ । नेपाली धरतीमा पटक–पटक आन्दोलनका ज्वालामुखीहरू फुटे । तिनले नेपाली जनताका लागि तात्कालीन अवस्थामा केही दिएको आभास भएकै हो । परिवर्तनशील समयसँगै ती प्राप्तीहरूले जनइच्छालाई सम्बोधन गर्न सक्दैनन् र फेरि आन्दोलन उर्लन थाल्छ । जबसम्म जनता जागरूक हुँदैनन् तबसम्म कुनै परिवर्तन वा प्रगति सम्भव हुँदैन । जनतामा जागरण ल्याउने सशक्त माध्यम हो साहित्य,संगीत । नेपाली धरतीमा भएका विभिन्न परिवर्तहरूका पछाडि पनि वाङ्मय साधकहरूको भूमिकालाई कमैले बिर्सन सक्छन् । नेपालका राजा ज्ञानेन्द्रले २०५८ जेठ १९ पछि पटक–पटक ‘कू’ गर्दै गए । असोजतन्त्र, माघतन्त्र जस्ता दुर्घटनाहरूका रचनाकार ज्ञानेन्द्रको अतिवादले उत्कर्ष नाघेपछि नेपाली जनता निर्णायक मोडका लागि तत्पर भए । त्यसो त त्यस अघि पनि विकासका नाममा गरिएका विभिन्न देखावटी काम र मन्दविषहरूका विरूद्ध आवाज नउठाईएको हैन तर तात्कालिन आवाज सर्प पनि मरोस् लौरो पनि नभाचियोस भन्ने हेतुले प्रेरित थियो । जब २०६२ चैत्र २४ गते आयो जनता लौरी भाँचिनसँग सरोकार नराखी एकोहोरो सर्पको विनाशका लागि एकजुट भए; नेपालका प्रमुख ७ राजनीतिक दल र एक अर्को सशक्त राजनीतिक शक्ति माओवादीको संयुुक्त पहलमा ज्ञानेन्द्रको प्रतिगमनका विरूद्धमात्रै हैन सिङ्गो राजतन्त्रका विरूद्ध जनसागर उर्लियो ।

राजनीतिभन्दा पनि स्रष्टाहरू एक कदम अगाडि हुन्छन् भने देशको दुखाईको अनुभूति सबभन्दा पहिले स्रष्टाले गर्छ । देशका विभिन्न स्थानहरूमा राजतन्त्रविरूद्ध लोकतन्त्रका लागि आन्दोलनहरूमा मच्चिईरहँदा त्यहाँ आकर्षणको केन्द्रविन्दु स्रष्टाहरूको गीत, कविताहरू बनीरहेको समाचार सुन्नमा आईरह्यो । यस्तो बखत पोखरेली वाङमय साधकहरू पनि स्वतः स्फूर्त रूपमा मैनवत्ती जुलुसबाट आन्दोलनमा होमिए । राजा ज्ञानेन्द्रका सिपाहीहरू गोली पड्काउन थालिसकेको त्यो अवस्थामा मैनबत्तीको उज्यालोले कति कालो हटायो, त्यो चर्चाको विषय होइृन तर त्यो मैनबत्ती जुलुसमा भएको वाङमयिक जमघटले अर्को एउटा सस्थागत वाङमयिक आन्दोलन जन्मायो । राजनीतिकदल र तिनका भातृसंगठन त आमहड्तालको आव्हानसहित जारी आन्दोलनमा ४÷५ दिन विताइसकेका थिए । पोखराका श्रष्टाहरू पनि कोही राजनीतिक दल, भातृसंगठन, कोही पेसागत संघ–संस्थाको सहयोगमा आन्दोलनमा सरिक भएकै थिए । यस अघि पनि प्रतिगमनका विरूद्ध साहित्यिक आन्दोलनमा सक्रिय रहेका विष्णु अल्पविराम र कृष्ण उदासीलाई वाङमयिक ऐक्यवद्धता जनाउने कर्तव्यबोध भएछ क्यारे !

पोखराको विभिन्न स्रष्टाहरूको जमघट आयोजना गर्न जुटे । सिद्धार्थ क्लबको प्रेक्षालयमा आयोजित जमघटमा एक आन्दोलनकारी वाङमयिक संस्थाको न्वारन गरी त्यही संस्थामार्फत लोकतन्त्रका लागि वाङ्मयिक आन्दोलन गर्ने कार्यक्रम तय भयो । त्यहाँ पोखराका अधिकांश श्रष्टाहरू उपस्थित भए । सोही भेलाबाट लोकतान्त्रिक वाङ्मय समाज, पोखरा नामक संस्था स्थापना भयो । साहित्यकार कृष्ण उदासीको संयोजकत्वमा गठित समाजको कार्यासमिति र सल्लाकारहरुमा वाङ्मयका विविध क्षैत्रमा कार्यरत पोखरेली संस्थाका प्रतिनिधिहरू समाविष्ट भए र हरेक दिन बिहान लोकतन्त्रका पक्षमा आ–आफ्ना सिर्जनाहरू चोक–चोकमा गएर सुनाउने निधो भयो । पोखराकै व्यस्त चोकहरू मध््ये चिप्लेढुङ्गा चोकबाट लोकतन्त्रका लागि वाङ्मयिक आन्दोलन सुरूआत भयो । जहाँ नवप्रतिभादेखि अग्रज पोखरेली स्रष्टाहरूले आ–आफ्नो सिर्जनाहरू सुनाए । उपस्थित जनसमुदायको भीड आरम्भमा कमी भए पनि क्रमश श्रष्टाहरूको सिर्जनाले तान्दै थियो । श्रष्टाहरू कहिले ज्ञानेन्द्रलाई तथानाम गाली गर्थे, कहिले मीठो भाषामा जनअधिकार फिर्ता गर्ने सल्लाह दिन्थे भने जनतालाई राजतन्त्रका बिरूद्ध एकताद्ध संघर्षका लागि आव्हान गरिरहेका हुन्थे ।

चुडाए सुचना सुत्र–भाँचे सञ्चारको हर
लागे मनपरी गर्न बने शासक
बर्बर भएन रमिता हेरी बस्नु बर्बाद भैसक्यो
पुर्खाले आर्जिएथे सर्वस्व गैसक्यो ।

अग्रज कवि तेजनाथ घिमिरेलाई यसरी तानाशाहका विरूद्धमा कविता सुनाई रहँदा आफ्नो वृद्ध शरीरको ख्यालै हुँदैनथ्यो । उनी मीठो अर्ती व्यङ्गयात्मक पारामा ज्ञानेन्द्रप्रति समर्पित गरिरहन्थे भने अब अधिकार खोज्न ढिलाई भैसकेको आभास पनि जनसाधारणलाई दिलाउँथे । अर्कोतिर उनी नवस्रष्टाको हैंसेमा होस्टे मिलाईरहेका देखिन्थे । अर्का कवि ÷सँस्कृतिकर्मी तीर्थ श्रेष्ठ –

“पृथ्वी नारायण !
तिमीले ठड्याएको औंला
एकताको हो कि एकलौटीको ?”

भनेर सिङ्गै राजतन्त्रको खिल्ली उडाउँदै सामन्ती र स्वार्थी राजतन्त्रका विरूद्ध जुट्न आव्हान गर्दै थिए भने लोकतान्त्रिक वाङमय समाजका उपाध्यक्ष जनगायक पद्मराज ढकालले आफ्नो सुरिलो स्वरमा आन्दोलनकारीलाई स्वागत गर्दै, “सामन्तको नाइके दरबार, जनताको थिएन सरकार” भनेर राजतन्त्रको सामन्ती इतिहास खोतल्दै २०४७ को संविधान त्रुटिपूर्ण भएकाले राजतन्त्र नै मास्न संविधानसभाको चुनावमा जानुपर्ने आव्हानका साथ गीत सुनाउँदा दर्शकहरू कहिले मुट्ठी कसेर उफ्रन्थे, कहिले ताली पिटेर होस्टेमा हैंसे थप्थे । जनआन्देलनकै पहिलो सहिद भीमसेन दाहालको हत्या भएको महेन्द्रपुल चोकमा पनि स्रष्टाहरू जमे । नेपाल टेलिकमको छतमा रहेका सिपहीलाई इंगित गर्दै त्यहाँ धेरैले भीमसेनलाई संझेर ती गोली हान्नेहरू लाई सचेत पनि गराए ।

जनता विद्रोह गर्न तयार छन्
सेनाको बङ्करमा पर्न तयार छन्
एउटा भीमसेन मा¥यौ त के जित्यौ
यहाँ हजार भीमसेन फेरि मर्न तयार छन् ।

यसरी जीवन सागर भण्डारीले पत्रकारिताको व्यस्त समयलाई पनि भीमसेनप्रतिको सम्मानमा खर्चिन भ्याए । वाङमय साधकहरूले गीत, कविता मात्र सुनाएनन्, कथित कफ्र्यु समेत तोड्दै लोकतान्त्रिक गणतन्त्रका पक्षमा तारा घन्काए । प्रहरी र सेनाहरू बन्दुक सोझ्याउँथे, श्रष्टाहरु अझ चर्को नारा लगाउँथे, केही नलागेर प्रहरीहरू अगाडि आएर नम्र स्वरमै कफ्र्यु नतोड्न आग्रह गर्दा साहित्यकार मदन भण्डारीले मीठो शैलीमा फकाएर कफ्र्यु तोड्न सफल बनाए स्रष्टाहरूलाई । उनी राजतन्त्रको औचित्य अन्त भैसकेको रहस्योद्घाटन मुक्तक मार्फत यसरी गर्दै थिए –

जुवाडेले हातमा कौडी लिएर हेरेको एउटा छुक जस्तो
एकान्त डाँडामा एक्लै–एक्लै उभिएको शिशिरको सिख्रो रूख जस्तो
यस्तो लाग्छ नेपालमा राजतन्त्र
यत्तिखेर अन्तिम पाना पनि च्यातिएको खल्तीको रित्तो चेकबुक जस्तो ।

देश पूरै आन्दोलनमय थियो । सवारी साधन, व्यापार, व्यवसाय, कार्यालय, विद्यालय सम्पूर्ण ठप्प थिए तैपनि नेपाली जनतामा कुनै पनि अधीरता देखिएन । उनीहरू न भोकसँग डराए, न कमाउनु पर्ने बाध्यताले चिढिए, न त कार्यालय वा विद्यालय जानुपर्ने÷पढाउनु पर्ने हतारोले आत्तिए । मानौं, उनीहरू लक्ष्य प्राप्तीका लागि लीन थिए । के वृद्ध, के बालक, के शिक्षक, के विद्यार्थी, के गरी, के धनी, के सराकारी कर्मचारी, के गैरसरकारी कर्मचारी, के गृहिणी, के कलाकार, के साहित्यकार सबै–सबै सडकमै थिए । सबैको एउटै आवाज थियो–“लोकतान्त्रिक, गणतन्त्र–जिन्दावाद” पोखराका ५० भन्दा बढी साहित्य, संगीत, कला, संस्कृति वा समग्र वाङमय सम्बन्धी संस्थाहरूको छाता संगठनका रूपमा स्थापित लोकतान्त्रिक वाङमय समाज हरेक विहान, ७ बज्दा नबज्दै पोखराका विभिन्न गल्ली र चोकहरूमा ‘लोकतन्त्रका लागि वाङमयिक आन्दोलन’ लेखिएको व्यानर टाँग्न पुगीसक्थ्यो अनि सुरू हुन्थ्यो राजतन्त्रको अत्याचार पर्दाफास गनर्, सामन्ती राजतन्त्रले उब्जाएका जर्जर जनजिन्दगीको दुरूस्त शब्द चित्र अभिव्यक्त गर्न । उनीहरू २२८ वर्षे राजतन्त्रको विरोधमात्रै गदैनथे, राजनीतिक नेताहरूलाई खबरदारी समेत गर्थे–राजतन्त्र बचाउने दुष्प्रयास नगर भनेर । स्रष्टाहरू गोलीका बदलामा गुलाबको फूलसमेत दिन तयार हुन्छन् । उनीहरू बुद्धिले काम गर्छन्, बलले होईन । त्यसैले त जनतालई गोली हान्ने सेनालाई समेत मीठो भाषामा साहित्यकार लक्ष्मण थापा यसरी सल्लाह दिन्छन् –

जनताको तलब खाने सेना हो ! तिमी दुश्मनलाई थर्काइदेऊ
गरिबको हैन सामन्तको हात, गोडा, ढाड मर्काइदेऊ
धेरै हान्यौ जनताको छाती र टाउकोमा ताकेर बन्दुक
अब बेला भयो तिमी बन्दुृक दरबार तिरै फर्काइदेऊ ।

यस्तो उपदेश सुन्दा आन्दोलन दबाउने आदेश पाएका जनताका छोरा तर दरबारका वाध्य कमारा सेनाहरू मुसुमुसु हाँस्थे । त्यसो त लक्ष्मण थापा आफ्ना अधिकांश रचानाहरू सामाजिक विकृति, विसंगति, भ्रष्टाचारको विरूद्धमा लेख्छन् । कवि ईश्वरमणि अधिकारी कहिले नेताहरूलाई “जनतालाई झ’क्याएर सम्झौतामा चुक्यौ भने तिम्रै पनि ‘शवयात्रा’ गर्लान् जनताले” भन्दै होसियार रहन भन्थे, कहिले ‘सोझा सीधालाई विभिन्न लोभ देखाएर दरबारी भजन गाउन लगाउन पाईन्न’ भन्दै विद्रोहको स्वर उराल्थे । गायिका सविना सुनाम “देशमा नयाँ बिहानी आउने कहिले हो, चुहिएको घरको छानो छाउने कहिले हो” भन्दै सुरिलो स्वरमा सबैलाई सोच्न बाध्य बनाउँथिन् । रामचन्द्र अधिकारी त ज्ञानेन्द्रको टाउको काटेर फुटबल खेल्ने चेतावनी दिनसम्म पनि पछि परेनन् भने सीता हुमागाइँ पुरूष सरह महिलाहरूलाई पनि आन्दोलनमा लाग्न गीत मार्फत आग्रह गर्थिन् । आन्दोलन निरन्तर थियो । २०६३ वैशाख ८ गते राजाको सम्बोधन आयो तर आन्दोलनले खोजेको फल अझ नआएको निष्कर्षसहित आन्दोलन जारी रह्यो । दीपक समीपले त राजाको सम्बोधनको कुनै अर्थ नभएको निष्कर्ष निकाल्थे । नेताहरूलाई मख्ख पारेर शरण नपर्न चेतावनी समेत दिए । राजाको सम्बोधन औचित्य छैन फेरि कुनै दिन अधिकार खोस्न सक्छ

सत्ताकै लागि जनताको छोरालाई चिसो छिंडीमा कोच्न सक्छ
खबरदार नेताहरू ! जनभावना विरूद्ध जान नखोज्नु
नत्र जनताले तपाईको मुखमा आगो झोस्न सक्छ ।

२०६३ वैशाख ११ को सम्बोधनमा संसद पुनःस्थापनाको घोषणा भएपछि नेताहरूले समर्थन गरेर आन्दोलन स्थगित भएको घोषणा गरेपनि स्रष्टाहरू भने आफ्नो आन्दोलनले खोजेको लोकतन्त्र प्राप्त नभएको भन्दै अझ आन्दोलन जारी छ भन्दै १२ गते विहानै अमरसिंह चोकमा भेला भएर रचनावाचन गर्न थाले । दिलिप दोषी संसद पुनःस्थापनामात्रै भएको हो, हामीले आन्दोलन गर्नुको उद्देश्य गणतन्त्र ल्याउनु हो, त्यसैले नेताहरूलाई खुट्टा नकमाउन आग्रह गर्दै थिए–

जनासागर आन्दोलनमा उत्रे पछि राजा दुईकदम हटिसक्यो
नेपालमा राजतन्त्रको महत्व दिन प्रतिदिन घटिसक्यो
ए नेताहरू ! खुट्टा नकमाऊ, नगर कुनै सम्झौताहरू
गणतन्त्र प्राप्तीका लागि सारा नेपाली खटिसक्यो ।

त्यस दिन पनि धेरै स्रष्टाहरूले आन्दोलन गणतन्त्र प्राप्त नभएसम्म जारी रहन्छ भन्दै आ–आफ्ना सिर्जनाहरू सुनाए । १९ दिने जनआन्दोलन –२ का आधाभन्दा बढी समय पोखरेली स्रष्टाहरू वाङ्मयिक आन्दोलन लिएर भीमसेन चोक, वी.पी. चोक, आन्दोलन चोक,विरौटा चोक, टयाक्सी चोक, अमरसिंह चोक जस्ता विभिन्न चोकहरूमा गएर गीत, कविता, मुक्तक, गजल, हाईकुहरू सुनाउँदै सुतेका जनतालाई ब्यूँझाउन र बिउँझेकालाई अझ सक्रिय रहन उत्प्रेरणा थपिरहेका थिए । त्यसक्रममा सञ्जीव पौडेल, गणेश शर्मा, सफल घिमिरे, सुर्य खड्का ‘विखर्ची’ शुष्मा पौडेल, ताराप्रसाद पोखरेल, विश्वराज रसाइली, दुरा बाबु, रूपिन्द्र प्रभावी ‘कटु’, लक्ष्मण गौतम, रूद्रबहादुर थापा, भीम रानाभाट, विष्णु अल्पविराम, कमलनाथ सापकोटा, कल्याण पन्तहरूले निकै ताली खाए । सविता पौडेल, विजया सुवेदी ‘उदासी’, सन्तोष अधिकारी, पदम भुर्तेल, कृष्ण भण्डारी ‘मुमुक्षु’, गोविन्द गिरि, माधव सुवेदी, हृदयराज खनाल, चिरञ्जीवी आचार्य, नारदमणि काफ्ले, ताराप्रसाद तिमिल्सिना, प्रकाश गिरि, क्षेत्रबहादुर थापा, घनश्याम ढकाल,सन्तोष अधिकारी, रेशम अधिकारी, परशुराम कोइराला, लम्साल रामजी, डी.डी. ‘निर्दोष’,नारायण मरासिनी लगायतका श्रष्टाहरूको भुमिका पनि लोकतन्त्रका लागि वाङ्मयिक आन्दोलनमा अविस्मरणीय रह्यो । आरम्भमा वाङ्मयका सबै विधागत प्रस्तुती रहने भनिए पनि कलाप्रदर्शनी हुन सकेन । यद्यपि कलाकारहरूको ऐक्यबद्धता भने प्रेरणादायी थियो । लोकतान्त्रिक वाङ्मय समाजको अगुवाइमा भएकोे अधिकांश पोखरेली वाङ्मय साधकहरूको सहभागिता रहे पनि केही लेखनमा प्रगतिशीलता देखाउने श्रष्टाहरू के–कारण हो सहभागी नहुँदा केही नपुगेजस्तो अनुभूति वाङ्मय साधकहरूले गरेका थिए । वाचित रचनाहरुमा ज्ञानेन्द्रलाई कसैले राजदरबार हत्याकाण्डका नायक, कसैले मुर्तिचोर भने । सेरेमोनियल किङ्गको पनि विरोध गर्दै धेरैले राजा राख्न हुन्न भने । वाङमय समाजले आफ्नो अभियान गणतन्त्र प्राप्तिपछि पनि शासकहरूको कमजोरी विरूद्ध आवाज उठाउने कार्यक्रम जारी राख्ने बताएको छ । आन्दोलन टुङ्गिएपछि पनि “लोकतान्त्रिक गणतन्त्रको लागि विशेष कवि गोष्ठी” यसले सम्पन्न गरिसकेको छ । अझ निरन्तरता दिन सकेमा यसले नेपाली वाङृमयका क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सक्ने देखिन्छ । अन्तमा यो पंक्तिकारको तत्अवस्थामा वाचित एक रचना ः–

धन्दा नमान राजन् ! दरबार छोडेपनि देशमै बसौला
अबीर त त्यस्तै हो खरानी र कालो मोसो घसौला
हुक्कुमको एक्का झरेर के भो त नि
जनताको गुलाम बनेर फ्यात्त भुईँमा खसौला ।

– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा

(स्रोत :पोखरा पाक्षिक – FEBRUARY 18, 2010)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.