~त्रिभुवनचन्द्र वाग्ले~
–––तिहार सन्दर्भ–––
बैनीलाई फौजीकी चिठ्ठी
फौजीकी बैनी !
तिमी खेल्ने आँगनबीच
तिहारको झिलिमिलीमा
मलाई नखोज
म खेल्ने छाउनीमा
तिमीलाई पाउन्न
हारजीतमा पर्व मनाउन यहाँ
बन्दुकको कुन्दालाई
तिहारको ठड्यौरो बनाउनु पर्छ ।
हामी नीला सेना हौं
हामी लड्दैनौं
र पनि, हामीले भिरेको
गोलीको मालामा
तिमीले लगाइदिने मखमली देख्नुपर्छ ।
पूmल, फौजीलाई मनपर्छ
फुली, फौजीलाई मनपर्छ
फौजीकी बैनी
हामीले काँध फुलीले सजाउँदा
बिर्सनु हुँदैन फूलले रङ्गिनु पर्ने समवेदना !
हामी भिडन्त टुुङ्ग्याउने
समरका सेता सेना हौ
र पनि, बारुदको टीकामा,
बमको बढाइँमा,
तिहारको पटका बिर्सनु पर्छ
मायालुका माया, म्याग्जिनले अघाउनु पर्छ
छाउनी हो, परेडमा द्यौसी बोल्नुपर्छ,
परेडमा भैलेनी नाच्नुपर्छ
तिमीले छेक्ने तेलको रेखी छाउनी हो
हामीले बिर्सन हुँदैन
रेक्कीका रेखाहरू,
हामीले, शान्तिको सेल पकाउन
द्वन्द्वको पीठोमा फौजी–दाउन राख्नुपर्छ ।
फौजी होे ज्यान सुम्पेकै छौं
बैनीले बरको पातमा बनाउने थुङ्गा
कानमा सिउरिनु पूर्व
बिर्सनु हुँदैन, हामीले
हाम्रा टाउको ओखर हुन सक्छन्
र पनि, फौजीकी बैनी
तिमीले, पालाको बत्ती निभ्न दिनुहुँदैन
हामीले शान्तिका लागि
युद्धमा, बुद्ध खोज्नु पर्छ ।
तिमीले निधारमा लगाइदिने
सप्त रङलाई
हामीले फौजी रङ बनाएर
अनुहार रङाउनु पर्छ
हो, हामीले जित, हारलाई
छाउनीमा तिहार बनाउनु पर्छ ।
त्रिभुवनचन्द्र वाग्ले
तनहुँ
स्रोतः कविको कविता सङ्ग्रह ‘दोभानमा उभिएर’ बाट उदृत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )